Comments Add Comment

जसपा : देउवालाई एकमुष्ट विश्वास, पार्टीभित्र चरम अविश्वास 

४ साउन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहसमा विभाजित जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो ।

आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा महन्थ ठाकुर पक्षका १२ सांसद प्रतिपक्षी तथा पाँच दलीय गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षका २० सांसद सत्तापक्षीय बेञ्चमा बसेको थियो । तर दुबै पक्षको मत देउवाको पोल्टामा गयो ।

देउवालाई एकमुष्ट विश्वासको मत दिएको जसपाभित्र एकआपसमा भने चरम अविश्वास छ । विभाजनको लागि निर्वाचन आयोगको तारेख धानिरहेका केही नेताहरू भने पुनः एकताको लागि प्रयासमा जुट्न थालेका छन् ।

ठाकुर पक्षका नेताहरुले देउवालाई विश्वासको मत दिएसँगै पार्टी फुटबाट जोगिन्छ कि भन्ने आशा पलाएको बताएका छन् । यादव पक्षका नेताहरुले भने ओलीलाई  साथ दिनु गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने र आत्मालोचना गरेर आए मात्र एकता हुनसक्ने बताएको छ ।

पार्टी फुटबाट जोगिन्छ कि ?

आइतबार प्रतिनिधिसभामा देखिएको दृश्यले पार्टी फुटबाट जोगिन्छ कि भन्ने आशा पलाएको प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमन बताउँछन् ।

‘ठाकुर-महतो पक्षबाट एकता गर्नुपर्‍यो भनेर अत्याधिक दबाव दिइरहेका छन्,’ यादव निकट एक नेता भन्छन्, ‘उनीहरु जस्ताको तस्तै फर्कन चाहन्छन् । आफ्नो पक्षका सांसद र नेता कसैलाई पनि कारबाही नहोस् भन्ने उनीहरुको चाहना छ । त्यो त्यति सजिलो देखिँदैन ।’

‘हिजोका दिनमा ओली ठीक कि बेठीक भन्ने बहसमा हामी दुईतिर बाँडियौं । अहिले दुबैले देउवा ठीक भनेका छौं’ उनी भन्छन्, ‘हिजो प्रतिनिधिसभा विघटनमा ओलीलाई समर्थन गर्नुभएका उहाँहरुले (ठाकुर पक्षले) त्यसलाई सच्याउनु भएको छ ।’

ठाकुर पक्षले उदारता देखाएर पार्टीका सबै सांसद एक ठाउँमा उभिएको भन्दै उनले एकताका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार देउवा सरकारमा ठाकुर पक्षका सांसदहरूले मन्त्रीमा दाबी गर्नु हुन्न ।

किनकी यसअघि केपी शर्मा ओलीलाई समर्थन गर्दा ठाकुरको पक्षमा रहेका २० सांसद मध्ये ११ जना मन्त्री नै भएका थिए । यद्यपि सर्वोच्च अदालतको आदेशमा १९ दिनमै हट्नु परेको थियो ।

आत्मालोचना गर्नुपर्छ

उपेन्द्र यादवको पक्षमा रहेका नेताहरु भने देउवालाई भोट दिँदैमा पार्टीमा एकता भइनहाल्ने बताउँछन् । हिजोका दिनमा आफैंले सरकारको नेतृत्व गरेर माग मुद्दा सम्बोधन गर्ने अवसरलाई लत्याएर प्रतिगमनलाई साथ दिन पुगेकाले गल्ती स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने सांसद मोहम्मद इस्तियाक राई बताउँछन् ।

विचार नमिलेसम्म एकता हुन नसक्ने भन्दै उनले अगाडि थपे, ‘गलतलाई गलत भन्न नसक्नेहरुसँग कसरी एकता हुन्नसक्छ ? हिजोका दिनमा गलत बाटो हिँडेकोमा आत्मालोचना गरेर आउनुभयो भने मात्र पार्टीमा एकता हुनसक्छ ।’

के होला नतिजा ?

जसपाको विवाद निर्वाचन आयोगमा पुगिसकेको छ । आइतबार मात्र आयोगको इजलासमा वैधानिकता विवादबारे सुनुवाइ सुरू भएको थियो । आयोगका एक अधिकारीका अनुसार केही दिनमा एउटा पक्षले आधिकारिकता पाउनेछ ।

केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर यो समूहको प्रष्ट बहुमत भएकाले आयोगले आफू अनुकूल निर्णय गर्ने यादव पक्षको बुझाइ छ । दुबैतिर अल्पमतमा परेको ठाकुर पक्ष भने एकताका लागि लचक भएको छ । सोमबार बबरमहलमा बसेको बैठकमा यादव पक्षलाई निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिन आग्रह गर्नेबारे छलफल गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तर पार्टी फुटाउन चाहिने न्यूनतम संख्या दुवैतिर गुमाएपछि ठाकुर पक्ष एकताका लागि तयार भएको यादव पक्षको बुझाइ छ । ‘ठाकुर-महतो पक्षबाट एकता गर्नुपर्‍यो भनेर अत्याधिक दबाव दिइरहेका छन्,’ यादव निकट एक नेता भन्छन्, ‘उनीहरु जस्ताको तस्तै फर्कन चाहन्छन् । आफ्नो पक्षका सांसद र नेता कसैलाई पनि कारबाही नहोस् भन्ने उनीहरुको चाहना छ । त्यो त्यति सजिलो देखिँदैन ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबाहेकलाई पार्टीमा ल्याउने पक्षमा रहेको ती नेताले जिकिर गरे । उनका अनुसार आयोगले आफ्नो पक्षमा फैसला गरेपछि केन्द्रीय कार्यकारिणी समितिका पनि धेरै नेताहरु आफ्नो समूहमा आउने उनको अपेक्षा छ ।

ठाकुर पक्षका केही नेताहरुले यादवसँग नेता राजेन्द्र महतोको व्यक्तिगत टकरावका कारण पार्टी एकतावद्ध गरेर लैजान संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहयोग र समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment