६ साउन, वीरगञ्ज । कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दा नारायणी अस्पतालमा संक्रमितको अत्याधिक चाप थियो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्या थियो । संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । तर त्यसबेला ‘टर्सरी अस्पताल’ घोषित नारायणीमा अक्सिजन प्लान्ट त परको कुरा, अक्सिजन पाइपलाइन समेत थिएन ।
तर अहिले नारायणी अस्पतालको स्थितिमा सुधार आइसकेको छ । अस्पतालमा तीन ठाउँमा अक्सिजन सप्लाई गर्ने स्टेसन बनाइएको छ । अक्सिजन स्टेसनमा सिलिण्डरमार्फत अक्सिजन सप्लाई हुँदै आएको छ ।
अस्पतालमा उपचाररत कोरोना संक्रमित मात्रै नभएर श्वासप्रश्वासका अन्य बिरामीका लागि पनि अक्सिजन पाइपलाइनबाट अक्सिजन दिन सकिन्छ । इमरजेन्सी, आईसीयू, एचडीयू र सर्जिकल वार्डमा अक्सिजन पाइपलाइन जडान भइसकेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सहयोगमा तयार पारिएको ३० बेडको बाल सघन चिकित्सा कक्ष पनि अक्सिजन पाइपलाइन सहितको छ ।

इमरजेन्सीमा सूर्य नेपालले अक्सिजन पाइपलाइन जडानमा सहयोग गरेको थियो भने नेपाल फर्मास्युटिकल्स, सत्यनारायण क्याल लगायतले पनि विभिन्न वार्डमा अक्सिजन पाइपलाइन विस्तारमा सहयोग गरेका छन् । अस्पतालले २५ लाख रुपैयाँ खर्च गरेर एचडीयू वार्डमा अक्सिजन पाइपलाइन जडान गरेको अस्पतालको जिन्सी शाखा प्रमुख सुशील यादवले बताए ।
अक्सिजन पाइपलाइन जडान भएपछि कोराना संक्रमित सहित अक्सिजन चाहिने बिरामीको उपचारमा सहज भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । नर्स अहेमा थापा अब अस्पतालमा संक्रमितका लागि अक्सिजन सिलिण्डर ओसार्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउँछिन् । ‘अब कसैले पनि अक्सिजन सिलिण्डर ओसार्नुपर्दैन,’ उनले भनिन्, ‘बिरामीको अक्सिजन सकिएपछि समयमै अर्को जडान गर्न नसकिने हो कि ? भन्ने चिन्ता पनि छैन ।’
नारायणी अस्पतालका डाक्टर सरोजरोशन दास अक्सिजन पाइपलाइन जडान भएपछि काम गर्न निकै सहज भएको बताउँछन् । ‘सिलिण्डरबाट अक्सिजन दिंदा सकिने बित्तिकै संक्रमित हाईपोक्सियामा जान्थे । फेरि नर्मल अवस्थामा ल्याउन समय लाग्थ्यो । रातको समयमा कम जनशक्ति हुने हुँदा झनै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘थप जनशक्ति राख्नुपर्दा बढी खर्च भइरहेको थियो । अब जनशक्ति कम भए पुग्छ ।’
तीनवटा अक्सिजन प्लान्ट जडान हुँदै
नारायणी अस्पतालमा तीनवटा अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधान बताउँछन् । उनका अनुसार एउटा नारायणी अस्पतालले २ करोड ४० लाखमा खरिद गरेको अक्सिजन प्लान्ट छ । जसको १ सय वटा सिलिण्डर भर्न सक्ने क्षमता छ ।
अर्को स्वास्थ्य सेवा विभागले २० टनको लिक्विड अक्सिजन प्लान्ट पठाएको छ । प्लान्ट राख्ने ठाउँको व्यवस्थापन भइरहेको छ । उक्त प्लान्टको १५ सय लिक्विड अक्सिजन सिलिण्डर भर्न सक्ने क्षमता यसको छ ।
यस्तै पर्सा क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री विमल श्रीवास्तवको संसदीय कोष अन्र्तगतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट महानगरपालिकाले खरिद गरेको अक्सिजन प्लान्ट पनि आइसकेको छ । वीरगञ्ज महानगरपालिकाले १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा वयोधा मेडिकल टेक्नोलोजी प्रालि ललितपुर मार्फत प्लान्ट खरिद गरेको थियो ।
‘प्लान्टबाट अक्सिजन उत्पादनको परीक्षण समेत गरिसकेका छौं, एक घण्टामा ३३ किलोवाट बिजुली खपत हुन्छ । थ्रिफेज लाइन जडान भइसकेको छ,’ महानगरका इन्जिनियार राकेश साहले भने, ‘अस्पतालको प्लान्टलाई पनि सँगै जोड्ने योजना छ । पाइपलाइनमा कनेक्सको काम बाँकी छ ।’
अक्सिजन सिलिण्डर फिर्ता गर्ने तयारी
नारायणी अस्पतालमा हाल ६ सय थान अक्सिजन सिलिण्डर छ । २५० थान अस्पतालको आफ्नो सिलिण्डर हो भने ३७५ थान धरौटीमा ल्याइएको थियो । संक्रमितको संख्या घट्नुका साथै अक्सिजन सप्लाई पाइपबाट हुन थालेपछि सिलिण्डर प्रयोगविहीन छन् । धरौटी राखेर ल्याइएको सिलिण्डर फिर्ता गर्ने तयारी भइरहेको छ ।
अस्पतालमा नर्मल अवस्थामा तीन सय वटा सिलिण्डरजति आवश्यक पर्ने भएकोले थप २५ वटा खरिद गर्ने वा कुनै दाताले दिए लिने सोच अस्पतालको छ ।