+
+
Shares

नियतिले लखेटेको मान्छे

टीएन रेग्मी टीएन रेग्मी
२०७८ साउन ९ गते १६:५३

अफिस पुग्ने हतारो थियो । मोटरसाइकलमा बेतोडले दौडिरहेको थिएँ ।

सैंतीस सन्ताउन्न…! सैंतीस सन्ताउन्न…!

जोडसँग चिच्याउँदै ऊ मतिर दौडिंदै आयो । एकैसाथ दुईवटा चुनौती आइलागे । आफू जोगिने र सकेसम्म उसलाई पनि जोगाउने । जोडसँग ब्रेक तानें । सौभाग्यवश हामी दुवै जोगियौं ।

रोकिइसक्दा उसले मलाई झ्याप्प समात्यो । म अत्तालिएँ ।

‘धेरै दिनदेखि खोजिरहेको आज बल्ल फेला परिस्’ यति भन्दै कसिलो गरी अँगालो हाल्यो र म्वाइँ खायो । ‘बल्ल भेटिइस्’ भन्दै ऊ फेरि अघिजस्तै गरी विपरीत दिशातिर दौडियो । यौटा पागलको आक्रमणबाट वालवाल जोगिन सकेकोमा सन्तोष जस्तो भयो । लामो सास तानें । तर, उसको व्यवहारले बेचैन बनायो ।

मसँग केही लिनुदिनु नभए पनि ऊ धेरै दिनदेखि मेरै प्रतीक्षामा थियो । यो कुरा उसले नै घोषणा गरेर गयो । ऊ आक्रामक रूपमा दौडिंदै आएर प्रेमपूर्वक फर्किएपछि म अलमलमा परें । के थियो मलाई भेटेर झम्टिनुको कारण ? के थियो सैंतीस सन्ताउन्नसँग उसको लेनदेन ?

मैले रमेशलाई सम्झिएँ । केही दिन पहिले रमेशले यौटा जोक सुनाएको थियो ।

‘दिदीको दुई जना भाइ, मेरो यौटा मात्रै भाइ किन होला ?’ यौटा पागल पागलखानाभित्र यही कुरा सोच्दासोच्दै चिन्तैचिन्ताले मरेछ रे !

पागलहरू यस्तै हुन्छन् । स–साना कुरामा अनावश्यक चिन्ता गरिरहन्छन् । त्यसैको वरिपरि घुमिरहन्छन्, सधैं ।

जेसुकै होस्, बाटोमा भेटिएको पागलको बारेमा चिन्ता गरेर किन टाउको दुखाउनु । मैले आफैंलाई सम्झाउने कोशिश गरें । फेरि पनि जिज्ञासाले छोडेन ।

०००

भोलिपल्ट उनी एक्साइटेड चोकमा भेटिइन् । मलाई देख्नेबित्तिकै उसैगरी झम्टियो । म्वाइँ खायो र खुशी हुँदै कुलेलम ठोक्यो ।

साहुसँग लिएको साठी हजार ऋण तिर्नको लागि ऊ शहर पसेको रहेछ । खासमा उसले शहरमा काम खोजिरहेको रहेछ । एउटा यस्तो काम जसले उसको थाप्लोमा भएको ऋण र त्यसको ब्याज तिर्न पुगोस् । त्यति गर्न सके साहुको पञ्जाबाट आफू र परिवारलाई जोगाउन सक्छ । यस्तै सोचेर ऊ अचानक शहर पसेको थियो ।

शहर गएपछि काम पाइने कुरा उसलाई गाउँकै सँगीहरूले बताएका रे ! हर्के दुईचार वर्ष अघिदेखि शहरमा आएर काम गरिरहेको छ । त्यही कमाइले साहिंला मुखियाको चालीस हजार रुपैयाँ ऋण तिरिसक्यो । हर्केले पोहोर साल बन्धकी तमसुकमा लाहुरेले कमाएको गैरीखेतको थैली पनि बुझाइदियो । हिजोआज उसको फुर्तीफार्ती निकै बढेको छ, साहुले उसकै नाममा अलग्गै पसल खोलिदिएको छ रे ! लगानी साहुको, मिहिनेत हर्केको । नाफा आधा–आधा ।

गाउँमै मेलापात गरेर ऋणको सावाँ–ब्याज तिर्न सम्भव थिएन । शहर आएपछि हर्केले राम्रै प्रगति गरिरहेको थियो । यही उत्प्रेरणाले ऊ यता आएको रहेछ ।

ऊ एक्साइटेड चोकको गेटमा भेटिएको साँझ ‘हाइ भोल्टेज क्याफे’को साहुजी एकजना ग्राहकसँग यसरी गफिंदै थिए । पहिलो लहरको टेबलमा बसेको मलाई साहुजीको गफको प्रसङ्ग ठम्याउन बेर लागेन ।

ऊ कामको खोजीमा शहर पसेको गरीब गाउँले हो । दुर्घटनामा परेर भागेपछि यस्तो हालतमा भेटिन थालेको हो । इत्यादि कुरा बुझिसकेपछि मलाई लाग्यो, अस्पताल भर्ना गरिदिन पाए उसको र मेरो समस्या एकैसाथ समाधान हुनसक्छ ।

जिज्ञासा मेटाउने ठाउँ फेला परेपछि ऊ को रहेछ ? मलाई जहाँ भेटे पनि किन चिच्याउँछ ? आदि विषय साहुजीलाई सोधें ।

साहुजीले बेलिबिस्तार लगाए । एक–डेढ हप्ताअघिको कुरा । मध्यदिनमा ऊ मकहाँ आयो । सङ्कोच मान्दै ढोकाबाट छिरेर एक कप चिया माग्यो । मैले बस भनेपछि निकै असजिलोसँग सोफामा बस्यो । बसिसकेपछि रोटी पनि खाने विचार व्यक्त ग¥यो । दर–रेट सोध्यो तर अर्डर गरेन ।

चिया पिएपछि बिस्तारै भूमिका बनाउँदै कामको प्रसङ्ग निकाल्यो । कस्तो काम ? को हां तिमी इत्यादि प्रश्नमा ऊ बोल्यो ।

म ऋणको तोडले काठमाडौं छिरेको । साहुलाई साठी हजारको सावाँ ब्याज तिर्नु छ । नगद तिर्न नसके मेरो जिन्दगी र जेथासमेत मुखियाले लिलाम गर्ने तर्जुमामा छ हजुर । साठी हजार तिर्नसक्ने भएर गाउँ फर्कनु छ । काम कहाँ पाइन्छ हजुर ?

मैले भनें, बसपार्कतिर जाऊ । ऊ अलि स्पष्ट हुन खोज्दै सोध्यो, ‘बसपार्कमा केके काम पाइन्छ हजुर ?’

‘जेपनि पाइन्छ । यात्रुहरूको झिटीगुन्टा बोकिदिने काम सबैभन्दा बढी पाइन्छ । कमाइ पनि राम्रै हुन्छ ।’

‘त्यो त सक्छु ।’

यसो भन्दै गर्दा उसको मुहारमा आत्मविश्वासको भाव देखियो ।

‘साहुजी, मैले बसपार्कमा काम गरेर चानचुन एकलाख कमाउन सक्छु त ? त्यति गरें भने मुखियाले मलाई जिन्दगीभर कजाउन पाउँदैन ।’

मैले भनें, ‘सक्छौ जाऊ ।’

यति भनेपछि ऊ हौसिएर हिंड्यो । ऊ हिंडेको केहीबेरमा नजिकै ठूलो आवाज आयो । यहीं अगाडिपट्टि बाटोमा मान्छेहरूको गज्याङगुजुङ र अलमल देखियो । म दौडिएर त्यहाँ पुगें । एउटा रातो रङको गाडी त्यहीं रोकिएको थियो । त्यसकै वरिपरि अरु गाडीहरू रोकिए, मान्छेहरू झुम्मिन थाले ।

त्यहाँ पुग्दा थाहा लाग्यो, उसले आफ्नै सुरमा बाटो काट्दा दुर्घटना भएको रहेछ । तीव्र गतिमा गुडिरहेको गाडी अचानक रोक्दा ठूलो आवाज आएको रहेछ । संयोग यस्तो कि, ऊ ढलिसक्दा गाडी पनि रोकिएछ ।

म त्यहाँ पुग्दा रमिता हेर्नेहरू जम्मा भइसकेका थिए । छेउमै कार रोकिएको थियो । ऊ थर्थरी काँप्दै उभिइरहेको थियो । यत्तिकैमा कारवाला रिसले असिनपसिन हुँदै गाडीबाहिर निस्किएर गाली गर्दै उसलाई झम्टियो ।

‘मनपरि बाटो काट्छस् ! मेरो साठी लाखको गाडी झन्डै ठोकिएन…’ रातो मोटरवाला भुँडेले यस्तै केके फलाक्दै झापड हान्यो । डरले थरथरी काम्दै एकदुई मुक्का छलेको उसले बिस्तारै यताउति हे¥यो । र, बतासको वेगमा दौडियो, कसैले नभेट्ने गरी । ऊ भागेपछि गाडीवाला पनि रिसाउँदै त्यहाँबाट हिंड्यो ।

दुर्घटना हुने दिन उसले एउटा झोला भिरेको थियो । हिजोआज झोला साथमा छैन । तर, अचेल प्रायःजसो एक्साइटेड चोककै वरिपरि भेटिन्छ ।

पहिलोपल्ट शहर आएको ऊ गाडीहरूको लस्कर देखेर आत्तियो शायद । आफूलाई सजिलो पर्ने ठाउँबाट हतारहतार बाटो काट्दा दुर्घटनामा पर्‍यो ।

‘अचेल ऊ हरेक साँझ यहीं आइपुग्छ । खानेकुरा माग्छ । खान्छ । र, पेटीमा सुत्छ । बिहान उठेर खै कहाँ जान्छ । दिनभर के गर्छ थाहा छैन’ यसरी साहुजीले आफुले देखेसुनेको घटना र ऊप्रतिको आफ्नो धारणा समेत बताए ।

अझै पनि बेसुरमा आफ्नो कारणले साठी लाख मोल पर्ने मोटर झन्डै बर्बाद भएन भन्दै बर्बराउँछ । साठी हजार कमाएर रिन तिर्न गाउँ जाने कुरा दोहो¥याइरहन्छ, साहुजीले थपे ।

उसलाई ठक्कर दिने मोटर संैतीस–सन्ताउन्न नम्बरको हुनुपर्छ । कसैले त्यसो भनेको सुनेर उसले पनि त्यही सम्झिएको हुनसक्छ ! यो पनि साहुजीको अनुमान मात्रै थियो ।

हामी गफिंदै गर्दा अचानक ऊ आइपुग्यो । मलाई देख्नेबित्तिकै उसैगरी चिच्यायो, ‘सैंतीस सन्ताउन्न !’ पहिले जस्तै गरी अँगालो हाल्यो । म्वाइँ खायो र चिच्याउँदै दौडियो ।

मेरो सामुन्नेमा उभिएका साहुजीले उसको व्यवहार अनौठो मानेर हेरे । मैले चढिरहेको रमेशको मोटरसाइकल सैंतीस सन्ताउन्न नम्बरको थियो । अब भने मलाई ‘सैंतीस सन्ताउन्न’बारे बुझ्न गाह्रो परेन । यदि ऊ सवारीको नम्बर पढ्न सक्ने मान्छे हो भने मलाई झम्टिनुको कारण त्यही हुनुपर्छ । अन्यथा, संयोग मात्र पनि हुनसक्छ । म यस्तै निचोडमा पुगें ।

ऊ सधैँ यही आसपासमा रहन्छ । मलाई देख्नासाथ झम्टिन आउँछ । कुनै दिन आक्रमण गर्न के बेर ? मभित्र डरले डेरा जमायो । ऊ कामको खोजीमा शहर पसेको गरीब गाउँले हो । दुर्घटनामा परेर भागेपछि यस्तो हालतमा भेटिन थालेको हो । इत्यादि कुरा बुझिसकेपछि मलाई लाग्यो, अस्पताल भर्ना गरिदिन पाए उसको र मेरो समस्या एकैसाथ समाधान हुनसक्छ ।

उसलाई सहयोग गर्ने, ‘अस्पताल पठाइदिने कोही मान्छे खोज्नुपर्यो साहुजी ! मैले बिन्ती लगाएँ ।’

शुरुमा त उनी झर्किए, ‘यो शहर हो भाइ । यहाँका हरेक समस्याका पछाडि कुदेर साध्य लाग्दैन । बरु देखेको नदेख्यै गर्नु बेस ! शहरमा अरूको समस्या समाधान गर्ने कोशिशमा लाग्दा आफ्नै मुखमा माड लाग्दैन ।’

ऊ मेरो लागि पर्याप्त त्रासको कारण बन्न पुगेको थियो । खासमा मलाई आफ्नो समस्याको समाधान चाहिएको थियो । दुर्घटनाको प्रत्यक्षदर्शी हुनुको नाताले साहुजी नै मेरो मुक्तिदाता बन्न सक्ने पक्कापक्की थियो ।

साहुजीको कुरा सुनिसकेपछि उसको आतंकबाट मुक्ति दिने र उसको पनि उपचार हुने कुनै उपाय फेला पार्न साहुजीले साथ दिउन् भन्ने अपेक्षासाथ मैले अनेक तवरले सम्झाउने कोशिश गरें । तीमध्ये सबैभन्दा बलियो उपाय थियो, प्रहरीको सहयोगमा सैंतीस सन्ताउन्न नम्बरको रातो कारको खोजी ।

प्रहरीले असहयोग गर्दैन । यदि गाडी भेटियो भने गाडीवालाले नै उसको उपचार गराइदिन्छ । घटनाको प्रत्यक्षदर्शीको रूपमा साहुजीले अलिकति सहयोग गरे मात्रै पुग्छ । यसप्रकार अनुनय गरेपछि उनी मेरो कुरामा सहमत भए । उनले साथ दिने भएपछि प्रहरीलाई खबर गरेर त्यसदिन हामी छुट्यौं ।

प्रहरीले सैंतीस सन्ताउन्न नम्बरको गाडी भोलिपल्टै फेला पार्‍यो ।

हामी त्यही रातो गाडीवाला मोटेलाई लिएर उसको उपचारका लागि मानसिक अस्पताल जाने तयारीमा लाग्यौं । नजिकै गाडी देख्नेबित्तिकै उसले फेरि चिच्यायो, ‘सैंतीस सन्ताउन्न ! सैंतीस सन्ताउन्न !’ यसपालि उसले मेरो मोटरसाइकलको वास्ता गरेन ।

रातो गाडीवाला मानिस शहरको धनाढ्य रहेछन् । अस्पताल पुगेपछि डाक्टरले डरबाट उसको समस्या शुरु भएको बताए ।

‘अरु सबैथोक सामान्य छ । डरको कारणले मानसिक असर परेको हो । निको हुन समय लाग्दैन’, यति भन्दै डाक्टर विनोदले हामीलाई तीन दिनपछि भेट्न बोलाए ।

हस्पिटलमा भेट्ने सल्लाह गरी गाडीवाला बिदा भयो । हामी पनि त्यहाँबाट निस्कियौं । सही तरिकाले जेब्रा क्रस बनाउनु । त्यो मेटिन नदिनु सरकारको काम हो । सही ठाउँबाट सही तरिकाले बाटो काट्न सिकाउनु पनि राज्यकै काम हो । यस्ता बेढङ्गी यात्रुको कारणले सवारी साधन पनि त जोखिममा पर्छन् ।

त्यो गाडीवालाको के दोष थियो ? उसको बारेमा कसले सोच्ने ? फर्किंदै गर्दा साहुजीले गुनासो गरे । ‘यो शहर हो भाइ । हामीले सबैको चिन्ता लिएर साध्य छैन । सबैको उपकारमा लागियो भने आफ्नै मुखमा माड लाग्दैन ।’ साहुजीले फेरि उही अर्ति दोहोर्‍याए । एक्साइटेड चोकमा आइपुगेपछि हामी छुट्टियौं ।

सल्लाह बमोजिम बुधबार बिहान ११ बजे हामी तीनैजना हस्पिटलमा पुग्यौं । डाक्टर विनोदले हामीलाई नै पर्खिरहेका रहेछन् ।

बिरामी ठीक भइसकेको थियो । निधारमा लागेको चोटभन्दा पनि मनको चिन्ताले ऊ पागलको दर्जामा पुगेको रहेछ । हामी पुग्नासाथ उसले निकैबेर हात जोडेर अभिवादन गर्‍यो । आफू वीरबहादुर भएको बतायो । उसले भनेका धेरैजसो कुरा साहुजीले बताए अनुसार नै थिए ।

डाक्टर विनोदको अफिसमा हामी पाँचजना भयौं । केहीबेर कुराकानी भयो । वीरबहादुरले आफ्नो कथा–व्यथा सुनायो । साहुजीले आफूले देखेबुझेका विषय बिस्तार गरे ।

डाक्टर विनोदले उपचार खर्च अस्पतालले नै व्यहोर्ने व्यवस्था मिलाएको बताए । अवस्था बुझिसकेपछि गाडीवालाले नै उसलाई जागिर दिने भयो । अन्तमा, डाक्टर विनोद हामीलाई बिदा गरेर कम्पाउन्डतिर फर्किए । वीरबहादुरले आफूलाई ठक्कर दिने रातो गाडीमा बसेर दुई हात जोडिरह्योे ।

सैंतीस सन्ताउन्न नम्बरको रातो मोटर बिस्तारै अघि बढ्यो । हाइ भोल्टेज क्याफेका साहुजी मभन्दा अघि लागे । उनीहरूलाई बिदा गर्दै मैले पनि मोटरसाइकल स्टार्ट गरें ।
यता वीरबहादुर चढेको मोटर केहीबेरमै दृश्यबाट हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?