+
+

मिडियासँग सेलिब्रिटीको व्यवहारः ‘एकैछिनमा आउँछौ भनेर हिडे रीमा र केकी’

‘अस्पताल जानु छ भन्दै हिडिन् प्रियंका’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १२:५४

उसो त सेलिब्रिटी र मिडियाको लुकामारीको खेल सधै नै चलिरहन्छ । आफू चलेको बेलामा होस् या चलचित्र चल्ने बेलामा होस्, कलाकार मिडिया खोज्दै आइपुग्छन् । अरु बेलामा मिडियासँग अनुहार नै देखाउन नपाए हुन्थ्यो भन्ने सोच कलाकारमा देखिन्छ ।

यसैले, सेलिब्रिटीहरु मिडियालाई आफू अनुकुल प्रयोग गर्न खोज्छन् भनेर पनि टिप्पणी हुने गर्दछ । खैर, जेहोस् नेपाली चलचित्रका कलाकारमा पनि यो खालको सोच हाबी छ ।

झन्, पछिल्लो समय त कलाकार आफैले पनि युट्यूब च्यानल संचालन गरेर पैसा कमाउन थालेपछि उनीहरु क्यामेरा देख्ने वित्तिकै भाग्न थालेको पाइन्छ । आफ्नै युटुब च्यानल संचालन गरेर आफ्ना हरेक गतिविधी सार्वजनिक गर्ने गरेका कलाकारहरु मिडियासँग टाढिन थाल्नु सुखद संकेत भने होइन ।

केही दिन यताका केही घटनाक्रम हेरौ । चलचित्रको काम नभएपनि म्यूजिक भिडियोमा कलाकार व्यस्त छन् । साथै, म्यूजिक भिडियोमा पनि खासै व्यस्त नदेखिएका कलाकारहरुलाई रियालिटी शोमा अतिथी बनेर पुग्ने गरेको देख्न पाइन्छ ।
आजबाट प्रशारण हुन लागेको ‘मुन्द्रेको कमेडी क्लब’मा यो साता ३ सेलिब्रिटी फरक–फरक समयमा पुगे । एक भागमा नायिकाद्धय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर कार्यक्रम संचालक जितु नेपालले कार्यक्रम छायांकन गरे ।

यो कार्यक्रमको छायांकन स्थलमा पुगेका केही मिडियाकर्मीले केही घन्टा केकी र रीमाको प्रतिक्षा गरेका थिए । तर, कार्यक्रम सकिएपछि केकी र रीमाले मिडियाकर्मीलाई हामी आइहाल्छौं है भनेर हिडेका थिए । तर, उनीहरु फेरि क्यामेरा र बुम बोकेर केकी र रीमाको कुरा सुन्न बसेका मिडियाकर्मीमाझ आइपुगेनन् । केही समयपछि मिडियाकर्मीहरुले खबर पाए कि केकी र रीमा कार्यक्रमस्थलबाट बाहिरिसकेका छन् ।

अन्तरवार्ता दिने या नदिने कलाकारको निजी विचार हो । तर, आइहाल्छौं भनेर मिडियाकर्मीलाई कुराउने केकी र रीमाको शैली भने व्यवसायिक कलाकारमा हुनुपर्ने गुण भन्दा पर देखिएको छ ।

अस्पताल जानुछ भन्दै हिडिन् प्रियंका
आइतबार पनि यस्तै घटना घट्यो । नायिका प्रियंका कार्की, नायकद्धय आयुष्मान देशराज जोशी र आरिशमान देशराज ‘मुन्द्रेको कमेडी क्लब’मा अतिथी बनेर पुगेका थिए । कार्यक्रमस्थलमा प्रवेश गर्दै गर्दा प्रियंकालाई मिडियाकर्मीले सोधे–‘बच्चा जन्मिने दिन भन्न मिल्छ ?’ प्रियंकाले यो बिषयमा भन्न नमिल्ने जवाफ दिइन् । मिडियासँग कुराकानी गर्ने मुडमा नदेखिएकी प्रियंकालाई करिब ५ घन्टा मिडियाकर्मीले पर्खिए । तर, कार्यक्रमा स्थलबाट बाहिरनुअघि नै उनका सहयोगीले मिडियाकर्मीलाई अस्पताल जान हतार भएकाले कुराकानी गर्न नमिल्ने भन्ने सन्देश पठाएका थिए ।

यतिसम्म कि, प्रियंकाको गाडी पार्किङ स्थलबाट शो छायांकनस्थलको मुख्य गेटमै पुर्याइएको थियो । आयुष्मानले भने केही रिसाएको स्वरमा भने–‘उहाँ गर्भवती हुनुहुन्छ भन्ने थाहा छैन तपाइहरुलाई ?’

संभवत, कोभिडको महामारीको समयमा प्रियंकाले मिडिया फेस गर्न नचाहेको हुनुपर्छ । तर, मिडियासँग निकै मित्रवत व्यवहार गर्ने प्रियंका चलचित्र र भिडियोमा व्यस्त हुन छाडेपछि भने आफ्नै युटुब च्यानलमा सर्वाधिक व्यस्त छिन् ।

आर्यनले त क्यामेरा फेस नै गर्न चाहेनन्
आफैले बनाएको चलचित्र ‘कायरा’ रिलिजको समयमा मिडियालाई बोलाई बोलाई अन्तरवार्ता दिएका आर्यन सिग्देल केही महिना अगाडि एक बुटिकको उद्घाटनमा मिडियाको क्यामेरा देखेपछि फनक्कै फन्किएर हिडेका थिए ।

पुतलीसडकमा आफ्नो परिवारसहित पुगेका आर्यनले जब क्यामेरा देखे, त्यसपछि उनी कार्यक्रमस्थलमा नै प्रवेश गरेनन् । मिडिया किन बोलाएको भन्दै आर्यन फर्किएका थिए ।

नेपाली चलचित्रका कलाकारका यस्ता खालका व्यवहार बारम्बार देखिने गर्दछ । कलाकारहरु आफ्नो मुड र फाइदा हेरेर मात्र मिडियासँग फेस गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?