+
+

नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग, कार्यतालिका बनाएर काम गर्ने

नुनुता राई नुनुता राई
२०७८ भदौ २ गते ७:३९

२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ ।

आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । उनले भने, ‘हामीले गर्ने कामको कार्यतालिका (क्यालेन्डर) बनाइरहेका छौं । त्यही कार्यतालिका अनुसार आयोगको अब हुने सबै कामहरु हुनेछ ।’

आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उनको भनाइ छ ।

नियमावली संशोधन

शिक्षक सेवा आयोगले नियमावली संशोधन प्रकृया अगाडि बढाएको छ । नियमावली संशोधन भएपछि शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रियामा जाने तयारी आयोगले गरेको छ ।

अहिले बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ

प्राथमिक तहमा भएका शिक्षक प्राथमिक द्वितीयमा र प्राथमिक प्रथममा जान सक्छ । निम्न माध्यमिक अथवा माध्यमिक तहमा भएकाहरु पनि त्यसैगरी द्वितीयमा, प्रथममा आन्तरिक प्रतियोगिता परीक्षाबाट जान सक्छ ।

तर नियमावलीले खुला सरह भनेकाले नियमावली संशोधन गर्नुपर्ने भएको प्रवक्ता मरहट्ठा बताउँछन् । आयोगले नियमावली संशोधनको प्रस्ताव मन्त्रालय पठाएको र मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि ढिलाइ भइरहेको उनले बताए ।

शिक्षा ऐनले विद्यालयको संरचना आधारभूत तह र माध्यमिक तहमा वर्गीकरण गरेको छ । तर नियमावली संशोधन नहुँदा शिक्षक दरबन्दी भने, प्रावि, निमावि र मावि तह अनुसार नै हुनेछ ।

१२ हजार बढी शिक्षक दरबन्दी रिक्त

आयोगका अनुसार १२ हजार बढी शिक्षक दरबन्दी रिक्त रहेको छ । आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले २०७७ साल चैत मसान्तसम्मको १२ हजार बढी रिक्त दरबन्दी रहेको जानकारी दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ दरबन्दी रिक्त छ ।

आयोगले केन्द्रलाई २०७८ चैत मसान्तसम्मको रिक्त दरबन्दी पठाउन अनुरोध गरेको जनाएको छ । प्रवक्ता मरहट्ठाले भने ‘२०७८ सम्मको रिक्त दरबन्दीको विवरण भयो भने थप मान्छे स्थायी हुन पाउँछन् भनेर थप गरेर पठाउन अनुरोध गरेका छौं ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भदौ १० सम्म सबै जिल्ला समन्वय इकाइलाई विवरण पठाउन सूचना जारी गरेको छ ।

शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनले सामान्य परीक्षा १०० पूर्णांकको र १०० पूर्णांकको विषयगत परीक्षा भनेर तोकेकाले शिक्षकहरुले २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ । सामान्य परीक्षामा १०० पूर्णांकमा ५० अंक ल्याउनेहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।

त्यस्तैगरी मानवस्रोत विकास केन्द्रले करिब २ हजार ६ सय विभिन्न तहका शिक्षकहरुको बढुवा प्रयोजनका लागि रिक्त विवरण पठाएको आयोगले जनाएको छ ।

नयाँ पाठ्यक्रम बनाउँदै आयोग

शिक्षकको स्थायी खुला प्रतियोगिताको लागि आयोगले बाँकी विषयको नयाँ पाठ्यक्रम बनाउने प्रकृया थालेको जनाएको छ ।

आयोगले योभन्दा अघि निम्न माध्यमिक तहका ५ विषय र माध्यमिक तहका १६ विषयको पाठ्यक्रम स्वीकृत गरिसकेको छ । आयोगले यो वर्ष निम्न माध्यमिकको तीन वटा पाठ्यक्रम र माध्यमिकको दुई वटा पाठ्यक्रम बनाउनको लागि प्रकृया अगाडि बढाएको जनाएको छ ।

तर अहिले बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ ।

शिक्षकको लाइसेन्स लिनेको संख्या

सात लाख बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख ७० हजार १२ जनाले र माध्यमिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

माध्यमिक तहको लाइसेन्स लिएकोले शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको छ भने उक्त व्यक्तिले निम्न माध्यमिक र प्राथमिक तहको शिक्षक दरबन्दीका लागि परीक्षा दिने पाउने व्यवस्था छ ।

र जो व्यक्तिले निम्न माध्यमिक तहको लाइसेन्स लिएको छ र तालिम लिएको छ भने उक्त व्यक्तिले पनि प्राथमिक तहमा परीक्षा दिन पाउँछ । तर यसरी एउटै व्यक्तिले तीन वटा लाइसेन्स लिएको पनि हुनसक्नेछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?