+
+

गोर्खा सैनिकको अनशनप्रति १२ आदिवासी जनजाति संगठनको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:००

२ भदौ, काठमाडौं । बेलायती गोर्खा सैनिकहरुले गरेको आमरण अनशनप्रति आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले ऐक्यवद्धता जनाएका छन् ।

आदिवासी जनजातिहरुको साझ‍ा संस्था नेपाल आदिवासी जनजाति महासंघसहितका संस्थाहरुले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, तमु ह्‍यु ल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्‌, नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ, थकाली सेवा समिति, दुरा सेवा समाज, नेपाल मघर संघ, किरात राई यायोक्खा, किरात याक्थुङम्लुङ, किरात याक्खा छुम्मा, नेपाल शेर्पा संघ र सुनुवार सेवा समाजले गोर्खा सैनिकको शान्तिपूर्ण आन्दोलनको दुई हप्ता बितिसक्दा पनि बेलायत सरकार मौन रहनु र नेपाल सरकारले समेत कुनै प्रकारको पहल कदमी नगरिनु दुखद भएको बताएका छन् ।

बेलायती सरह सुविधा माग गर्दै गोर्खा संघर्ष समितिका अभियानकर्ता ज्ञानराज राई, धन गुरुङ र महिला पुष्प राना घले बेलायतमा अनशनरत छन् । उनीहरुको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको अवस्थाप्रति बेलायत र नेपाल सरकार गम्भीर भएर निकास नदिनुले लोकतान्त्रिक सामाजिक न्‍यायको उपेक्षा गरेको पनि ती संगठनहरुले बताएका छन् ।

संगठनहरुले बेलायत सरकारको लापरवाही र हेलचेक्र्याइका कारण वर्षौदेखि थाँती रहेको गोरखा भूतपूर्व सैनिकहरुको मुद्दालाई समाधान गर्न नेपाल सरकारसँग कूटनैतिक रुपले संवाद गरिदिन आग्रह समेत गरेको छ । साथै सरकारले उक्त कूटनीतिक पहल नगरे आदिवासी जनजातिहरु आन्दोलनमा उत्रिने संगठनहरुले चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्‍यथा नेपालका आदिवासी जनजातिहरुलगायत लोकतन्त्र, न्‍याय र समानताको पक्षधर सम्पूर्ण नेपाली जनतासमेत आन्दोलनमा उत्रिनुको विकल्प नहुने र यसबाट उत्पन्‍न परिस्थितिको जिम्‍मेवार दुवै सरकार हुने समेत सूचित गराउँदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?