+
+

कोरोना संक्रमणपछि किन झर्छ कपाल ?

डा. रीति आचार्य डा. रीति आचार्य
२०७८ भदौ ६ गते १३:४३

करीब दुई वर्षदेखि विश्वव्यापी रूपमा कोरोनाभाइरसको बिगबिगी छ । दिनानुदिन यसको संक्रमण हुने र यसबाट निको हुनेको सङ्ख्या बढ्दो छ । तथ्याङ्क अनुसार नेपालमा करीब ७.५ लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ । कोरोना संक्रमणले शरीरको हरेक अंगमा असर गर्ने हुँदा कपालमा पनि यसको असर देखिन्छ ।

शरीरमा कपालको एउटा निश्चित चक्र (फिक्स साइकल) हुन्छ । यो चक्र अनुसार कपाल बढ्ने, त्यसपछि केही समय स्थिर रहने अनि जराबाट कपाल झर्ने र फेरि नयाँ कपाल उम्रिने गर्दछ । यो चक्र लगभग ३-७ वर्ष लामो हुन्छ ।

कुनै पनि मानिसको दैनिक एक सयवटासम्म कपाल कोर्दा, नुहाउँदा वा तकियामा झर्नुलाई साधारण कुरा मानिन्छ । त्यस्तै मौसमी परिवर्तन हुँदा पनि यो घटबढ हुनसक्छ । जस्तै वर्षायाम र जाडो मौसममा कपाल अलि बढी झर्न सक्छ । यसरी निश्चित चक्र अनुसार झरेको कपाल विस्तारै आफैं पलाउने हुँदा यसमा कुनै चिन्ता गर्नु पर्दैन ।

तर, कुनै पनि शारीरिक वा मानसिक तनाव (स्ट्रेस) भएमा कपालको निश्चित चक्रमा गडबडी हुनसक्छ । कुनै कारणवश सिकिस्त बिरामी हुँदा, शल्यक्रिया, सुत्केरी अवस्था, थाइराइड हर्मोन गडबडी, लामो समयदेखि रोगले च्यापेको अवस्थामा शरीरमा तनाव हुने गर्दछ । शरीरले कष्ट भोगेको अवधिमा धेरैजस्तो कपाल समयभन्दा पहिले नै बढ्ने अवस्थाबाट स्थिर अवस्थामा पुग्दछ र त्यहाँबाट केही महीनामै जराबाट झर्न थाल्दछ । यसो हुँदा बिरामीले पहिलेको तुलनामा अत्यधिक रूपमा आफ्नो कपाल झर्न थालेको महसुस गर्छन् ।

कोरोना संक्रमणपछि कपाल किन झर्छ ?

कोरोनाको संक्रमण पनि एक प्रकारको शारीरिक तनाव हो । यसमा ज्वरो आउने, शरीरमा थकान हुने, श्वास फेर्न गाह्रो हुने जस्तो समस्या हुँदा शरीरले एकप्रकारको कष्टको सामना गर्नुपर्दछ । यसो हुँदा बढ्ने अवस्थामा रहेको कपाल समय अगाडि नै स्थिर अवस्थामा पुगी झर्न थाल्छ ।

कोरोना संक्रमणपछि निको हुने क्रममा बिरामीले कपाल कोर्दा, नुहाउँदा वा सामान्य छुँदा पनि बढी मात्रामा झरेको महसुस गर्दछन् । यो क्रम केही हप्तापछि ६ महीनासम्म हुन्छ र यसपछि आफैं रोकिंदै जान्छ । यदि कोरोना पोजिटिभ आएमा यसको कुनै लक्षण नदेखिए तापनि कपाल झर्ने हुनसक्छ ।

यसरी कपाल झर्नु एउटा सामान्य प्रक्रिया भएको हुँदा यसलाई रोक्न वा कम गर्न भने त्यति सम्भव हुँदैन । यो केही अवधिको लागि मात्र भएकोले बिरामीले यसलाई रोक्न वा कम गर्न भने सम्भव हुँदैन । यसमा बिरामीले केवल धैर्य राख्नुको सजिलो विकल्प हुँदैन । केही समयपछि कपाल विस्तारै निश्चित चक्र अनुसार आफैं उम्रिंदै जान्छ ।

अत्यधिक कपाल झर्दा केके कुरामा ध्यान दिने ?

सर्वप्रथम पोषिलो खानपानको सेवन गर्ने ।

कपालमा चाया पर्न नदिन कम्तीमा हप्तामा दुईपटक स्याम्पू गर्ने ।

बारम्बार कपालमा तेल मालिस गरेर कपाललाई तान्ने, मोड्ने, बङ्ग्याउने नगर्ने ।

सकेसम्म कपालमा हानिकारक केमिकल जस्तै स्ट्रेटिङ क्रिम, ड्राई, हाइलाइट नगर्ने ।

कपालको जरा तान्निने गरी कुनै कार्य नगर्ने । जस्तै- कसेर कपाल नबाँध्ने, कपाल सिधा बनाउन आइरनको प्रयोग नगर्ने ।

कुनै पनि प्रकारको मानसिक तनाव नलिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?