+
+

युवालाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १२:५६

८ भदौ, वीरगञ्ज । युवाको विदेश पलायन रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल युवा उद्यमी मञ्च र आर्थिक पत्रकार संघले सोमबार बेलुका वीरगञ्जमा आयोजना गरेको ‘युवा उद्यमशीलताका चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलता नै एक मात्र विकल्प भएको बताए ।

प्रत्येक वर्ष श्रम बजारमा आउने ५ लाख युवामध्ये १० प्रतिशतले मात्रै रोजगार पाउने गरेको भन्दै उनीहरुले उद्यमी बन्ने वातावरण राज्यले बनाउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले युवा पुस्ता आधुनिक प्रविधिमैत्री व्यवसायमा आउनुपर्नेमा जोड दिए । ‘हामीले जस्तो अर्को उद्योगमा गएर व्यवसाय गर्न सिक्नुपर्ने अवस्था अहिले छैन, स्मार्ट फोनमा नै सबै कुरा थाहा हुन्छ,’ उनले भने, ‘विश्वभर अनलाइन व्यापार फस्टाउँदै गएको छ, युवा पुस्ताले त्यतातिर ध्यान दिनुपर्छ ।’

उनले अगाडि भने, ‘अक्फोर्ड, क्याम्ब्रिजमा अध्ययन गरेर आएका हुन्छन्, तर उनीहरुलाई नेपाली भाषामा चासो र ज्ञान छैन, कुनै मञ्चमा बोल्नुपर्दा आधा अंग्रेजी र आधा नेपाली बोल्छन् । नेपाली पत्रपत्रिका पढ्दैनन् । अनि उनीहरु नै समाजमा अटाउन सकिएन भन्दै विदेश जान्छन् । अध्ययन गरेर आउनुभयो, त्यो सकारात्मक कुरा हो, तर नेपाली समाजमा घुलमिल गर्न यहींको भाषा स्पष्ट बोल्न सक्नुपर्छ ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले युवा उद्यमशीलतामा अवसर र चुनौती दुवै आउने बताउँदै चुनौतीको सामना गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए । ‘भन्सार होस् वा कर प्रशासन दुवै व्यवसायीमैत्री हुँदै आएका छन् । व्यवसायीले आयकर, मूल्य अभिवृद्धि कर, भन्सार करका बारेमा जान्नुपर्छ,’ उनले भने ।

नीतिगत समस्या समधानका लागि राज्यका निकायहरुले पहल गर्दै आएको र सुधार पनि भइरहेको उनले दाबी गरे ।

आन्तरिक राजश्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत सुनिलकुमार यादवले उद्यमशीलतामा जाँदा आन्तरिक र बाह्य दुवैखाले चुनौतीको सामना गर्नुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले इच्छाशक्तिको अभावमा युवाहरु उद्यमशीलतामा आकर्षित नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?