+
+

लकडाउन अवधिमा मात्र नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड घाटा

भ्रमण वर्षको ३० करोड खेर गयो 

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ ९ गते १३:३४

८ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि  २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आर्थिक वर्ष २०७६/७७ को चैतदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो ।

जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० चैतपछि असार मसान्त २०७७ सम्म चार्टर्ड उडान बाहेकका नियमित उडान बन्द भएका थिए । नेपाल एयरलाइन्सले कोभिड-१९ को प्रभावबारे अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।

यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयान्डलिङ वापतको राजस्व समेत गुमेको नेपाल एयरलाइन्सको भनाइ छ । असारपछि भने गन्तब्य अनुसार नियमित उडान क्रमशः खुकुलो बन्दै गएको थियो ।

प्राधिकरणको आम्दानी ७१ प्रतिशतले कम

आर्थिक वर्ष २०७६/७७ को अन्तिम चार महिनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा समेत ठूलो गिरावट आएको छ । महामारीका कारण सबै हवाई उडान बन्द भएका कारण आम्दानी गुमेको हो ।

आव २०७५/७६ को वाषिर्क प्रगतिको तुलनामा भने सो वर्ष प्राधिकरणको आम्दानीमा १५.५३ प्रतिशतको कमी आएको हो । नेपाल नागरि उड्डयन प्राधिकरणले सो वर्ष राखेका अधिकांश लक्ष्य भेटाउन सकेन ।

यसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत पछाडि धकेलिएको छ । पोखरा विमानस्थलको काम १० जुलाई २०२० मा सक्ने लक्ष्य थियो ।

यसलाई धकेलेर जुलाई २०२१ सम्म सारिएको थियो । तर, यो समयसमेत घर्किसकेको छ । उता, गौतमबुद्ध विमानस्थलसमेत तोकिएको अवधिमा निर्माण पूरा नभएका कारण सञ्चालनमा आउन सकेन ।

पर्यटन क्षेत्रमा मासिक १० अर्बको क्षति

कोरोना महामारीपछि पर्यटन क्षेत्रले भने मासिक १० अर्बको क्षति बेहोर्नुपरेको छ । नेपाल पर्यटन बोर्डले तयार पारेको प्रतिवेदन अनुसार पर्यटन उद्योगले कोरोना भाइरसको महामारीका बीच मासिक १० अर्ब रुपैयाँको क्षति बेहार्नु परेको हो ।

यसमा हवाई, पदयात्रा, होटेल, यातायातसहितका क्षेत्रमा भएको क्षति हो । पर्यटन उद्योगमा १५ खर्ब रुपैयाँ बराबरको लगानी रहेको अनुमान नेपाल पर्यटन बोर्डले गरेको छ ।

पर्यटन उद्योगमा काम गरिरहेका ११ लाख मानिसले रोजगारी गुमाउनु परेको तथ्यांक समेत बोर्डले जनाएको छ । पर्यटन क्षेत्रको यो नोक्सानीको असर दीर्घकालसम्म पर्ने महालेखाको विश्लेषण रहेको छ ।

भ्रमण वर्षको ३० करोड ३९ लाख खेर गयो

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्षमा भएको खर्च भने खेर गएको छ । प्रचार-प्रसार, उद्घाटन, वैदेशिक भ्रमण, पर्यटन खेल इभेन्ट, अन्तर्राष्ट्रिय सम्मेलन गोष्ठी, मानव संशाधनलगायतमा भएको खर्च गरि कुल ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

यो खर्चको उपयोगिता नभएका कारण रकम खेर गएको छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सो वर्ष भ्रमण वर्ष घोषणा गरेको थियो ।

पुसमा धुमधामसहित घोषणा भएको भ्रमण वर्षका कार्यक्रम तीन महिना पनि चल्न सकेनन् । जसले गर्दा पर्यटक आगमनमा यो कार्यक्रमले उल्लेख्य प्रभाव छाड्न सकेन ।

चैत २०७६ पछि पर्यटक आगमनमा परेको प्रभाव

वर्ष    अप्रिल  मे     जुन    जुलाई 
 सन् २०१८ ९८६५० ६८८२५ ६५१५९ ७३२८१
 सन् २०१९ १०९३९९ ७८३२९ ७८८८३ ७०९१६
 सन् २०२० १४ ३१ १०२ १९६
अघिल्लो वर्षको तुलनामा वृद्धिदर(प्रतिशत) -१०० -१०० -१०० -९९.७
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?