+
+

लक्जम्बर्गमा मानव तस्करी : श्यामको सास्ती र विनोदको वेदना

बाग्लुङका दुई युवा कामको खोजीमा लक्जम्बर्ग पुग्दा भोगेको यातना

नम्रता शर्मा नम्रता शर्मा
२०७८ भदौ १० गते १२:१५

१० भदौ, काठमाडौं । ‘६ वर्ष भयो मैले एउटा जेलमा बसे जस्तो जीवन बिताएको’ श्याम (सम्पूर्ण पीडितहरूको नाम परिवर्तन गरिएको छ)ले मलाई साउन अन्तिम साता लक्जम्बर्गबाट टेलिफोनमा भने ।

यो लक्जम्बर्गमा एक नेपालीले चलाएको रेस्टुराँका कामदारहरूले भोगेको यातना र उत्पीडनको दृष्टान्त हो । नेपाली मालिकले श्यामसहितका नेपाली कामदारमाथि आर्थिक, शारीरिक र मानसिक शोषण गरेको कथा हो ।

धन कमाउने सपना बोकेर विदेश हान्निएका युवाहरूले रेस्टुराँ मालिकबाट वर्षौंसम्म अत्याचार खेपेपछि आँट गरेर त्यहाँको नेपाली समुदायसमक्ष आफ्नो गुनासो राख्न गए । त्यहीबेला कसैले त्यो छलफलको केही अंश अडियो रेकर्ड गर्यो । त्यो अडियो रेकर्ड मैले कुनै स्रोतबाट प्राप्त गरें । र यो कथा तयार हुनगयो ।

अहिले उनीहरूले लक्जम्बर्ग प्रहरीमा उजुरी दर्ता गराएका छन् । मैले पीडितहरूसम्म सम्पर्क सूत्र पत्ता लगाएर नेपालबाटै अन्तर्वार्ता गरें । अनि खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालका एक सदस्य मार्फत मैले पाएको सूचना, लक्जम्बर्गको कानून, न्याय व्यवस्था बुझेर आफूले पाएको सूचना पुष्टि र पुनःपुष्टि गर्ने काम गरें । लक्जम्बर्ग प्रहरीले यो केस अदालत नलगी सकेको हुनाले पीडितको हितमा आवश्यक गोपनीयता अपनाउनुपर्ने भएकोले कतिपय विवरण खुलेर लेख्न सकिनँ ।

लक्जम्बर्ग विश्वकै धनी मुलुकमध्येको युरोपेली मुलुक हो । त्यति सम्पन्न र आधुनिक मुलुकमा नेपाली कामदारले यति निकृष्ट ढंगको श्रम शोषण भोगेको हुनसक्ने कल्पना समेत गर्न सकिन्न । मेरो प्रारम्भिक अनुसन्धानले त्यहाँ श्रम शोषण मात्रै कथा छैन, नेपालबाट युरोपियन मुलुकमा भइरहेको मानव तस्करीको योजनाबद्ध तर गोप्य सञ्जालको खुलासा पनि छ । तर यसका लागि थप अनुसन्धान जरूरी पर्छ ।

म सन् २०१९ मा लक्जम्बर्गर् पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्य र विकासको पूर्वाधार देखेर निकै प्रभावित भएकी थिएँ । राजधानी लक्जम्बर्ग शहर युरोपियन युनियनको चार आधिकारिक राजधानीमध्ये एक हो । त्यहाँ युरोपियन युनियनको ‘कोर्ट अफ जस्टिस’ छ । त्यो उच्च न्यायालय परिसर वरिपरि घुम्दा मलाई यस्तो मुलुकको न्याय व्यवस्था हदैसम्म मानवअधिकारमैत्री होला भन्ने लागेको थियो ।

वास्तवमा त्यतिबेला मैले लक्जम्बर्गमा नेपाली कामदार श्रम शोषणमा परेका छन् भन्ने सुइँको पाएकी थिएँ । केही न केही पत्ता लगाउँछु भनेर प्रयास गरें तर त्यहाँको नेपाली समुदाय र सरकारी कार्यालयबाट केही कुरा पनि फुत्काउन सकिनँ । नेपाल फर्केपछि पनि मैले आफ्नो प्रयास जारी राखें । एक वर्ष अगाडिको त्यही आशंका पछ्याउँदै जाँदा अहिले फेला पर्‍यो एक कहालीलाग्दो शोषणको कथा ।

श्यामको सास्ती

लम्जम्बर्गको कानून छल्न श्यामका मालिकले सकेसम्म बुद्धि पुर्‍याएर काम गरेका थिए । श्यामको नाममा बैंक खाता खोलिदिएर हरेक महीना पारिश्रमिक बापत १६०० युरो पनि हाल्थे । तर श्यामले त्यो रकम निकालेर मालिकलाई फिर्ता दिनुपर्थ्यो । १०० देखि २५० युरोसम्म श्यामलाई पकेट खर्च चाहिं दिन्थे । १६ महीनासम्म त हो नि भनेर श्यामले यो नियम लुरुलुरु पालना गरे ।

श्याम भन्छन्, ‘मेरो घर बाग्लुङ जिल्लामा पर्छ । म सन् २०१५ को अक्टोबर ४ मा लक्जम्बर्ग पुगेको थिएँ । भोलिपल्टदेखि मलाई ‘वर्किङ भिसा’ पठाएर काम गर्न बोलाउनुहुने नेपाली मालिकको रेस्टुराँमा काम गर्न थालें । गाउँका आफन्तले मलाई उहाँको बारेमा बताएका थिए ।’

‘उहाँले वर्किङ भिसा पठाउने त्यस बापत १६ महीनासम्म मैले तलब नलिइकन उहाँको रेस्टुराँमा काम गर्ने, उहाँले खान-बस्न दिने सहमति थियो । १६ महीनापछि चाहिं पूरा तलब दिने र परिवार पनि लैजान पाउने प्रस्तावले म युरोप जान तम्सिएको थिएँ । यस्तो शर्तमा म लागेको सबै खर्च आफैं बेहोरेर त्यहाँ पुगेको थिएँ’, श्यामले भने ।

तर त्यहाँ पुगेपछि कुरो धेरै नै फरक पर्‍यो । जाने बित्तिकै श्यामलाई रेस्टराँ माथिको कोठामा अरू कामदारसँग राखियो, जहाँ शौचालयको समेत राम्रो प्रबन्ध थिएन । अरू दुई जना नेपाली त्यहाँ पहिलेदेखि मुश्किलले गुजारा चलाइरहेका थिए ।

गएको ६ महीनासम्म भविष्य राम्रो हुने आशामा श्यामले जसोतसो जीवन चलाए । खान-बस्न दुःख-दुःख भए पनि मालिकले नराम्रो व्यवहार नगरेका कारण उनले चित्त बुझाएका थिए । फेरि संसारकै विकसित मुलुकमा गएर मिहिनेत गर्‍यो भने भविष्य कसो राम्रो नहोला भन्ने जोशले पनि हौस्याएको थियो उनलाई ।

६ महीनापछि त उनको दुःखका दिन पो शुरू भए । स-सानो कुरामा हप्काउने मालिकले अब सानो निहुँमा पनि हात छोड्न थाले । विस्तारै यो क्रम हिंस्रक हुन थाल्यो । श्याम भन्छन्, ‘कतिसम्म भने सानो कुरामा चित्त नबुझे तन्दुर बनाउने फलामको रडको सुइरो र डाडुले हिर्काउन थाल्नुभो । यो क्रम पटक-पटक दोहोरिन थाल्यो । एक पटक त कानमा र टाउकोमा गहिरो चोट लागेर रगताम्य भएपछि अस्पताल जान खोजें । पुलिसले थाहा पाउँछ भनेर अस्पताल जान पनि दिनुभएन ।’

मालिकले यो काम पूर्व तयारी साथ गरेको बताउँछन् श्याम । उनी भन्छन्, ‘उहाँले फोन पनि साथमा राख्न दिनुभएन । घरमा फोन गर्दा परिवारले थाहा पाएर उनीहरूलाई पीर हुन्छ भनेर केही भनिनँ पनि । तर टाउकोबाट रगत बगेको हुन्थ्यो, कति दिन त दुखेर रात-रात भर सुत्न सक्दिनथें ।’

लक्जम्बर्ग सहितका युरोपेली मुलुकमा कामदारले गर्ने कार्य समय दैनिक ८ घण्टा हो । तर, नेपालबाट यसरी लगिने श्रमिकलाई दैनिक १६ घण्टा भन्दा बढी समय काम लगाइन्छ । त्यसबापत अतिरिक्त भुक्तानी गरिंदैन । सम्बन्धित देशको कानून व्यवस्था थाहा नपाएका श्रमिकहरू अतिरिक्त कामको पारिश्रमिक माग्ने आँट पनि गर्दैनन् ।

यसरी लगिएका नेपाली कामदारले गुणस्तरीय खानेकुरा पाउँदैनन् । जस्तो कि श्याम र उनका साथीलाई धेरैजसो ज्वानोको झोल र भात खान दिइन्थ्यो । उनी भन्छन्, ‘एक चोटि जे होला भनेर बाख्राको हाड हालेर झोल बनाएर भात खाएको मालिकले हामीलाई चोर भनेर कुट्नुभयो ।’

लम्जम्बर्गको कानून छल्न श्यामका मालिकले सकेसम्म बुद्धि पुर्‍याएर काम गरेका थिए । श्यामको नाममा बैंक खाता खोलिदिएर हरेक महीना पारिश्रमिक बापत १६०० युरो पनि हाल्थे । तर श्यामले त्यो रकम निकालेर मालिकलाई फिर्ता दिनुपर्थ्यो । १०० देखि २५० युरोसम्म श्यामलाई पकेट खर्च चाहिं दिन्थे । १६ महीनासम्म त हो नि भनेर श्यामले यो नियम लुरुलुरु पालना गरे ।

१६ महीनापछि पनि मालिक बदलिएनन् । पहिला जस्तै तलब फर्काउन भनेपछि श्याम असजिलोमा परे । तर पनि बोल्न सक्ने अवस्था थिएन । अब पनि उही २५० युरो मात्रै हात पर्न थाल्यो बाँकी मालिकले लिन थाले । तर के सोचेर हो एक दिन मालिकले ‘परिवार बोलाउ’ भनेपछि लक्जम्बर्गको नियम अनुसार श्यामले बाग्लुङबाट आफ्नो परिवार बोलाए । परिवार बोलाउन भएको थोरै जग्गा पनि बेच्नुपर्‍यो । परिवार गएपछि महीनाको १००० युरो दिन थाले । यति पैसाले घरभाडा र परिवारको खर्च मुश्किलले पुग्थ्यो ।

बस्ने ठाउँमा श्याम बाहेक अरू तीन जना नेपाली कामदार थिए । त्यसमध्ये एकजना रेस्टुराँ मालिकको श्रीमतीको मामा पनि थिए । चारै जनाले चर्को सास्ती पाउन थालेपछि बाध्य भएर श्यामले जस्तो ६ वर्ष पीडा नभोग्ने निर्णयमा पुगे ।

चारैजना मिलेर २१ जुलाई २०२१ मा लक्जम्बर्गस्थित नेपाली समुदायकहाँ आफ्नो गुनासो लिएर गए । यहाँ उनीहरूले आफूहरूले पाएको दुःख बेलिबिस्तार लगाए । मैले त्यसको केही अंश अडियो रेकर्डिङ फेला पारेकी छु ।

त्यो रेकर्डिङमा ‘भान्जीलाई नराम्रो नहोस् भनेर केही नभनेको’ भन्ने एक नेपालीको स्वर सुनिन्छ । साथै त्यहाँ उपस्थित कसैले ‘यस्तो भए किन अहिलेसम्म चुप लागेको’ भनेको सुनिन्छ । रेकर्डिङमा एकजना कामदारले ‘आफूले तिर्खा लागेको बेलामा पानी समेत पिउन नपाएको’ गुनासो गरेको सुनिन्छ ।

रेकर्डिङमा श्यामले अब म चुप लाग्दिनँ भनेको प्रष्ट सुनिन्छ । त्यो छलफलमा रेस्टुराँ मालिकले प्रमाण के छ भनेर सोधेका छन् । जवाफमा श्यामले ‘आफू अस्पताल जान खोजेको नपाएको र आफ्नो शरीरमा अझै कुटपिटको दाग छ’ भनेको सुनिन्छ ।

यसले उनीहरूमाथि शारीरिक हिंसा भएको प्रमाण दिन्छ । अहिले बल्ल लक्जम्बर्ग प्रहरीको सहयोगले श्याम अस्पताल जान पाएका छन् र उनको उपचार शुरू भएको छ । उनले कान राम्ररी सुन्न नसकेको बताएका छन् । २५ जुलाई २०२१ मा यो यातना समेत समेटेर स्थानीय प्रहरीमा उजुरी गरेका छन् । तर पीडितमध्ये मालिकको श्रीमतीको मामा चाहिं प्रहरीमा उजुरी गर्न नगएको श्यामले बताएका छन् ।

विनोद पनि रेस्टुराँ मालिकसँग मौखिक सहमति गरेर १२ महीना सित्तैंमा काम गर्ने त्यसपछि तलब पाउने शर्तमा गएका थिए । उनलाई पनि मालिकले जाने बित्तिकै बैंक खाता खोलेर हरेक महीना दुई हजार युरो जम्मा गरे । तर उनको बैंक खाताको पासवर्ड मालिकसँग हुन्थ्यो । रकम हालेपछि सबैजसो पैसा झिक्थे । विनोदलाई महीनाको ५०० युरो दिन्थे

विनोदको वेदना

श्याम लक्जम्बर्ग पुग्दा उनीभन्दा पहिलाको नेपाली कुक थिए विनोद । उनी पनि त्यस्तै सास्ती खेपेर नेपाल फर्किएका रहेछन् । श्यामबाट मैले यो सूचना पाएपछि पहिलाका ती कुक जो अहिले बाग्लुङबाट चितवन बसाइँ सरेका रहेछन् मैले उनलाई सम्पर्क गरें । विनोदलाई मेरो श्यामसँग कुराकानी भएको र त्यहाँको अडियो रेकर्डिङ मसँग छ भन्ने थाहा थिएन ।

उनलाई मैले तपाइँ परिवार सहित लक्जम्बर्गमा काम गर्न जानुभएको थियो, त्यहीं किन नबस्नुभएको भनेर सोधें । उनले भने, ‘म लक्जम्बर्गमा मेरो आफन्त पर्नेको रेस्टुरेन्टमा काम गर्न गएको थिएँ । मेरो १२ वर्ष भारत र ७ वर्ष कतारमा कुक काम गरेको अनुभव थियो । तर कहाँ परिवार लैजानु आफू त बल्लबल्ल शारीरिक र मानसिक यातनाबाट छुटकारा पाएर लक्जम्बर्गबाट नेपाल फर्कें ।’

विनोदको कथा पनि श्यामको जस्तै रहेछ । लक्जम्बर्गको ‘वर्किङ भिसा’ पठाए वापत एक वर्ष काम सित्तैंमा गर्ने शर्त मानेर उनी पनि गएका रहेछन् । सबै गरेर करीब ३ हजार युरो उनले आफुले खर्च गरेका रहेछन् । जाने बित्तिकै उनको नाता पर्ने ती रेस्टुराँ मालिकले पासपोर्ट कब्जामा राखे । फोनमा ‘फरवार्ड कल’ राखे ताकि विनोदको सबै फोन पहिले उनले उठाउँथे ।

विनोद भन्छन्, मलाई कुक काम हो, दैनिक चार घण्टा मात्रै हो भनिएको थियो । तर त्यहाँ पुगेपछि रेस्टुराँ माथिको असजिलो कोठामा अरू साथीहरूसँगै बस्न दिइयो, शौचालय जान र नुहाउन एकदमै समस्या थियो । मैले पकाउने काम मात्र होइन, सफाइ र किनमेलको काम पनि गर्नुपथ्र्यो । सबै गरेर दिनको १८ घन्टा काम गर्नुपथ्र्यो । तर कागजमा भने स्थानीय नियम अनुसार मात्रै काम गरेको देखाइन्थ्यो । सबभन्दा नराम्रो कुरा खाना राम्रो हुँदैनथ्यो । उब्रे-पाब्रेको खानामा चित्त बुझाउनुपर्थ्यो ।

युरोपमा सामान्यतया सामूहिक रूपमा ग्राहक खान आउनुअघि ‘बुकिङ’ गरेर आउँछन् । रेस्टुराँ मालिकलाई यो थाहा हुन्थ्योे । तर उनले विनोदलाई समयमा खबर गर्दैनथे । ‘अन्तिम समयमा भन्नुहुन्थ्यो, अनि किनमेलदेखि सबै मलाई नै गराउनुहुन्थ्यो, पछि रिसाएर तन्दुर बनाउने फलामे सुइरोले मलाई हान्नुहुन्थ्यो । मैले उहाँको हातको धेरै कुटाइ खाएँ’ विनोद भन्छन् । विनोदको यो व्यथा श्यामको कथासँग हुबहु मिल्छ ।

कान र टाउकोबाट रगत बगेर कुनै कुनै रात त तकियाको खोल भिजेको विनोद बताउँछन् । आफन्त भनेर गएको कुटाइ सहनु पर्दा आफू मानसिक रूपमा विक्षिप्त भएको र शारीरिक रूपमा समेत सास्ती भएकोले आफू र्फकन खोजेको विनोद बताउँछन् । उनी भन्छन्, ‘तर, रेस्टुराँ मालिकले पासपोर्ट र पैसा दिनुभएन ।’

लक्जम्बर्ग पुगेको साढे तीन वर्षपछि नेपालमा विनोदका बुवाको मृत्यु भयो । उनी घर आउन खोज्दा मालिकले पैसा दिएनन् । नेपालबाट मालिकको नजिकको नाता पर्ने आफ्नो पनि नजिकको नाताको व्यक्तिलाई टिकट किन्न लगाए । अनि ‘छिट्टै र्फकने’ बाचा गरेर नेपाल आएपछि विनोद फेरि लक्जम्बर्ग गएनन् । अहिले परिवारसँगै मिहिनेत गरेर चितवनमा खेती गरेर बसेका छन् ।

विनोद पनि रेस्टुराँ मालिकसँग मौखिक सहमति गरेर १२ महीना सित्तैंमा काम गर्ने त्यसपछि तलब पाउने शर्तमा गएका थिए । उनलाई पनि मालिकले जाने बित्तिकै बैंक खाता खोलेर हरेक महीना दुई हजार युरो जम्मा गरे । तर उनको बैंक खाताको पासवर्ड मालिकसँग हुन्थ्यो । रकम हालेपछि सबैजसो पैसा झिक्थे । विनोदलाई महीनाको ५०० युरो दिन्थे ।

१२ महीना मात्रै सित्तैंमा काम गर्ने शर्तमा गएका उनको करीब साढे तीन वर्ष यसरी बित्यो । त्यो समयमा छुट्टी कहिल्यै नपाएको उनले बताए । विनोद भन्छन्, ‘छुट्टी परको कुरा भो ढुक्कले पानी पिउन र शौचालय जान समेत डराउनुपर्थ्यो ।’

गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जम्बर्गका अध्यक्ष हरि खत्रीलाई मैले त्यहाँ नेपाली कामदारले श्रमशोषण भएको भनेर पुलिसमा उजुरी गरेका रहेछन् नि भनेर सोधेकी थिएँ । खत्रीले भने, ‘सामाजिक उत्तरदायित्वका हिसाबले नेपाली समाज र यहाँको एनआरएनएले यो केसलाई अलिक नजिकबाट हेरेको छ । लक्जम्बर्गको कानूनले पुग्दो प्रमाणका आधारमा सम्बन्धितलाई न्यायको कठघरामा उभ्याउने नै छ । प्रहरी अनुसन्धानमा रहेको विषयमा अहिले नै हामीले बोल्नु उचित हुँदैन ।’

नेपाली समुदायमा आएर चार नेपाली कामदारले एक नेपाली रेस्टुराँ मालिकले ज्यादती गरेको, १६ महीना तलब नदिएको भनेर उजुरी गरेको खत्रीले स्वीकार गरे । ‘यो सुन्दा हामीलाई अचम्म लागेको छ’ खत्रीले भने, ‘म लक्जम्बर्ग आएको २३ वर्ष भयो । यहाँ नेपाली समुदाय एकदमै मिलेर बसेको छ । यस्तो काम कसरी भयो मैले बुझ्नै सकेको छैन । तर पीडक को हो भनेर पुलिसले पत्ता लगाइहाल्छ र परेको मद्दत हामी गर्दछौं ।’

खत्री आफैं पनि एक रेस्टुराँ र एक किराना पसल चलाउँछन् । रेस्टुराँ र किराना पसलमा उनकी श्रीमती, छोरीहरू र भाइ काम गर्दछन् । ‘मैले सन् २००६ मा भाइलाई यहाँ ‘वर्किङ भिसा’ मा बोलाएँ । अहिले ऊ यहाँ राम्रो घर किनेर बसेको छ’ खत्री भन्छन् । खत्री आफू पनि कुक भएर लम्जम्बर्ग गएका थिए । यसले देखाउँछ आर्थिक र शारीरिक शोषण नहुने हो भने लक्जम्बर्ग गएका नेपालीले राम्रो कमाइ गर्न सक्छन् ।

खत्रीका भनाइमा, प्रायः एउटा रेस्टुराँ मालिकले दुई जनासम्म कुक नेपालबाट मगाउन पाउँछ । यहाँको नियम अनुसार, पहिला विज्ञापन गरेर लक्जम्बर्गकै बेरोजगारलाई जागिर दिनुपर्छ । यस्तो कामदार पाइएन भने आफ्नो देशबाट मगाउन पाइन्छ । यही प्रक्रियामा प्रायः नेपाली कुक भएर आउँछन्, त्यसपछि उनीहरूले परिवार बोलाउन पाउँछन्, त्यहाँको सरकारले त्यसो गर्न दिन्छ ।

‘यहाँ करीब १२० घरधुरी नेपाली छन्, जसमा करीब ४५० नेपाली बसोबास गर्छन्’ खत्री भन्छन्, ‘यहाँ वर्किङ भिसामा आएका नेपालीले राम्रोसँग काम गरे सुविधाजनक जीवन विताउन सक्छन् ।’ तर विद्यार्थी भिसामा १०-१५ लाख तिरेर आएका विद्यार्थी भने असजिलोमा पर्ने धेरै सम्भावना हुने भएकाले उनीहरू सतर्क हुनुपर्ने खत्री बताउँछन् ।

रेस्टुराँ सञ्चालकले चाहिं ‘आफूले श्याम लगायतका कामदारलाई कुनै दुःख नदिएको र उनीहरू के कारणले हो आफूलाई डिफेन्स गर्न खोजिरहेका छन्’ भने । उनले भने, ‘अरू कसैले धेरै तलब दिने भनेर लगेपछि उसैको उक्साहटमा मलाई बद्नाम गर्न यसो भनिएको हुनसक्छ ।’

तर यो मानव तस्करी हो

नेपाल जस्तो मुलुकबाट अभावग्रस्त र अर्धशिक्षित धेरै व्यक्ति युरोपेली मुलुकको चमक-धमकले आकषिर्त भएर, सुनौलो सपना सजाएर लक्जम्बर्ग जस्तो मुलुकमा पुगेका छन् । धेरैजसो तिनीहरू आफन्तको माध्यमबाटै पश्चिमा मुलुक पुगेका हुन्छन् । तर उनीहरूले आफू कस्तोसम्म समस्यामा पर्न सकिन्छ भनेर अनुमान समेत गरेका हुँदैनन् ।

श्याम, विनोद र उनीहरूका अरू तीन साथीहरूको कथाले के भन्छ भने- यस्ता श्रमिकहरू जब शारीरिक र मानसिक यातनाको शिकार हुन्छन्, त्यसबेला विदेशमा के गर्ने, कोसँग सहयोग माग्ने भन्ने थाहा पाउँदैनन् । भाषा र शिक्षाको कमिले उनीहरू त्यहाँको पुलिस, कानून व्यवस्थाको ढोका ढकढक्याउन जान पनि सक्दैनन् । अनि सजिलैसँग घर र्फकन पनि सक्दैनन् ।

नेपाली समुदायलाई दुःख पोख्न गएको खण्डमा पनि उनीहरूलाई चुप लगाउने प्रयास गरिन्छ । अनि आफूले पाएको दुःख भन्यो भने घरमा पनि तनाव हुने भएकोले परिवारका सदस्यलाई पनि केही भन्न सक्दैनन् । अर्थात् उनीहरू पीडाको आगोमा आफैं पिल्सिन्छन् ।

श्रम मन्त्रालयको सन् २०२० को रिपोर्ट अनुसार! श्याम, विनोद र उनीहरूका साथीहरू जस्ता विदेशमा बसेर काम गर्नेहरूको कमाइ यो वर्ष ८ बिलियन डलर -झण्डै साढे ९ खर्ब रुपैयाँ) मुलुक भित्रिएको छ । तर, यो कथाले नेपाली कामदारले कस्तोसम्म सकस भोगेर यो पैसा कमाएका छन् भन्ने प्रष्ट्याउँछ ।

नेपाली कामदारले पाएको दुःख र उनीहरू मानव तस्करीको जालोमा परेको समाचार पटक-पटक आउने गरेको छ । मैले नै दुई वर्ष अगाडि मानव तस्करी, जालझेल र कर छलीमा नेपाली व्यवसायीहरू कसरी संलग्न छन् भन्ने फिनल्यान्डको स्टोरी लेखेकी थिएँ । त्यहाँको सरकारले राम्रो छानबिन गरेर पीडितलाई न्याय दिलाएको थियो । श्याम र उनका साथीहरूले पनि विश्वकै धनी र न्याय स्थापित भएको देशमा आफूहरूले न्याय पाउने आशा गरेका छन् ।

श्याम र विनोदले काम गर्ने लक्जम्बर्गको नेपाली रेस्टुराँको फेसबुक पेजमा त्यहाँ खाना खान गएका व्यक्तिहरूले ‘मीठो खाना र कामदारको सेवाबाट प्रसन्न भएको’ भनेर लेखेका छन् । सजिलै अनुमान गर्न सकिन्छ कि संसारकै धनी मान्छेहरू र मानवअधिकारमा काम गर्ने व्यक्तिहरू त्यो रेस्टुराँमा खाना खान जरुर गएका होलान् । तर, तिनीहरूलाई त्यहाँ काम गर्ने कामदारहरू यतिविघ्न शोषणमा परेका छन् भन्ने पक्कै जानकारी थिएन होला ।

कानूनी परिभाषा अनुसार पनि यो मानव ओसारपसार र मानव तस्करी हो । अन्तर्राष्ट्रिय कानून र मानवअधिकार मामिला विज्ञ अधिवक्ता विष्णु बस्याल -पौडेल) भन्छिन्, ‘कुनै व्यक्तिलाई उसको इच्छा विरुद्ध काम गराउनु र ऐन कानून मिचेर धेरै काम गराएर कम तलब दिनु मानव तस्करी हो ।’

(लक्जम्बर्ग प्रहरीले घटना अनुसन्धान गरिरहेको र त्यहाँको कानूनले अनुसन्धान अवधिका विवरण गोप्य राख्ने व्यवस्था गरेकाले पीडित तथा पीडकको नाम गोप्य राखिएको छ । शर्मा, खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?