+
+

महामारीको अर्थतन्त्र : खाद्यान्नको अचाक्ली मूल्यवृद्धि, आम्दानी बढेन

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ १० गते १९:१५

१० भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा खाद्य पदार्थमा मूल्यवृद्धि बढ्दा श्रमिकको ज्यालादर भने न्यून मात्र बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत वर्षको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार घ्यू तथा तेलमा १७.५४ र दाल तथा गेडागुडीमा १०.६५ प्रतिशत मूल्यवृद्धि भएको छ । खाद्य तथा पेय पदार्थको ५ प्रतिशत मूल्यवृद्धि भएको छ ।

भान्सामा अत्यावश्यक तेल तथा गेडागुडीको मूल्य अत्यधिक बढेका बेला गत वर्ष तलब तथा ज्यालाको वृद्धिदर भने न्यून रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा तलब तथा ज्यालादर १.६० मात्र बढेको छ । अघिल्लो आर्थिक वर्षमा तलब तथा ज्यालाको वृद्धिदर ९.४३ प्रतिशत थियो ।

वार्षिक औसत खुद्रा मूल्यवृद्धि भने ६.१५ प्रतिशतबाट ३.६० प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । तर थोक मूल्यवृद्धि २०७६/७७ मा ६.८७ प्रतिशत रहेकामा गत आर्थिक वर्षमा ७.६१ प्रतिशत पुगेको छ ।

विदेश जाने घटे, रेमिट्यान्स बढ्यो

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ९६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यो ९.८ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४६.८ प्रतिशतले घटेको छ ।

बढ्यो व्यापार घाटा

आर्थिक वर्ष २०७६/७७ मा सुधार हुने क्रममा देखिएको व्यापार घाटा आर्थिक वर्ष २०७७/७८ मा पुन बढेको छ । कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो घाटा १६.८ प्रतिशत बढेको थियो । गत आर्थिक वर्षमा निर्यात–आयात अनुपात ९ः२ छ, जुन आर्थिक वर्ष २०७६/७७ मा ८:२ थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

नेपालबाट भारतमा ५१.७, अन्य मुलुकमा २७.७ प्रतिशत र चीनमा१४.७ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालबाट सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचाको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । कुल आयातमध्ये भारतबाट हुने आयात ३२.१ प्रतिशत, चीनबाट २८.६ प्रतिशत र अन्य देशबाट १९.६ प्रतिशत बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो ।

नेपालमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ । हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले बताएको छ ।

विदेशी मुद्राको सञ्चिति पनि घट्यो

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता घाटामै देखिएको छ भने विदशी मुद्राको सञ्चिति पनि बढ्न सकेन । चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर वचत पनि घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको सोधनान्तर स्थिति आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ ।

गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितीमा पनि कमी आएको राष्ट्र बैंकले जनाएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलरमा झरेको छ ।

गत असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ । गत वर्षको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले बताएको छ ।

बढ्यो कर्जा लगानी

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो ।

गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

कर्जामध्ये ६६.१ प्रतिशत घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४३.६, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६, निर्माण क्षेत्रतर्फको कर्जा १८.४, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।

गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १५.८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ११०.८ प्रतिशतले बढेको छ । तर हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको छ ।

शेयर लगानीकर्ताको पूँजी २३ खर्बले बढ्यो

गत आर्थिक वर्षमा पुँजी बजार भने निकै विस्तार भएको छ । निषेधाज्ञामा समेत निरन्तर कारोबार भइरहेको शेयर बजारमा गत वर्ष लगानीकर्ताहरुको पुँजी दोब्बर भन्दा धेरैले बढेको छ । एक वर्षमै २३ खर्ब हाराहारीमा लगानीकर्ताहरुले पुँजी बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । नेप्से परिसूचक २०७७ असार मसान्तमा १३६२.४ रहेकामा २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।

गत असारसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यस्तै जलविद्युत कम्पनीको हिस्सा ८.४, लगानी कम्पनीको ८.१, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७, होटलको हिस्सा १.५, व्यापारिक संस्थाको हिस्सा ०.५ र अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?