८५ लाख कलिला जिज्ञासु बालबालिका घरको बार्दलीभित्र सीमित छन्। तिनीहरूले पढ्ने ३६ हजार जति विद्यालय पूरै बन्द छन्। क ख पढ्ने नानीबाबुले पढेको धेरैजसो बिर्सिसके। यो कसैलाई सुर्ताको विषय नै भएन। राजगज राज चलाउनेहरू राज्य स्रोतमाथि कर्के नजर लगाउँदै राजसी ठाँटले बाँचिरहेका छन्। आफ्नो कुर्सी र भागभोग खोसिन्छ कि भन्ने डरले उनीहरू भयाक्रान्त देखिन्छन्। त्यसैले होला- राजनीतिक प्रणाली फेरियो तर, जनतालाई यसको अनुभूति कहिल्यै भएन। लोकतन्त्रलाई जनताको स्वामित्वमा कहिले ल्याउने ? किन ल्याउन सकिएन ? राजनीतिक निर्णय गर्ने मौलिक क्षमता, कुशलता, दक्षता नेताहरूले किन गुमाइरहेका छन्।
अक्षम नेतृत्व र शासकीय क्षमताका कारण नागरिकको मौलिक अधिकार धुलिसात् भएको छ। राजनीतिमा नैतिकता र नेतृत्वमा शासकीय कुशलता कमजोर छ। दूरदृष्टि विनाको नेतृत्वको चुरीफुरी बढिरहेको छ। कुरीकुरी भन्ने पंक्ति दलीयकरणले गर्दा आदेशपालकमा बदलिएका छन्। शक्तिशालीहरूको मिलेमतो र निमुखालाई सास्ती छ। उनीहरु राज्यको मूल प्रवाहबाट वञ्चितीकरणमा परेका छन्। सेवासुविधाबाट निषेधित छन्।
देशलाई शक्ति राष्ट्रको रणनीतिक क्रीडास्थल बनाइएको छ। स्वदेशी झैझगडा, उन्माद, लुछाचुडी, नेपालस्थित विदेशी कूटनीतिज्ञहरूको अस्वाभाविक उदाङ्गिएको असह्य र दुराग्रहपूर्ण घुसपैठ निरन्तर चलेको छ। दोष जति अर्कोको थाप्लोमा थुपार्ने, आफू पानीमाथिको ओभानो हुन खोज्ने अभ्यास उदेकलाग्दो छ। कुरा चिल्ला गर्नेहरूकै मनमा छलकपट छ। स्वार्थमा आधारित बेमेल, बदमासी, धोकाधडी र धूर्त राजनीतिक घोचपेचले हामी सबैलाई सर्वनाशतिर धकेलिरहेको छ।
आजको आवश्यकता भोलिको आधार हो। आज जे आवश्यक ठहरिन्छ त्यो भविष्यमा आइपर्ने विभिन्न चुनौतीको सामर्थ्य शक्ति राज्यले राख्न सक्नुपर्छ। देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने गहन छलफल र स्पष्ट दृष्टिकोणको खाका खै ? मौकामा शिकार ताक्ने शिकारीले उसको शिकार सत्ता (मृग) नै हो। आफ्नै पार्टीका नेता-कार्यकर्ता मिलाएर नेतृत्व गर्न नसक्नेले समग्र देशको राष्ट्रिय एकता कसरी गर्लान् र ? यिनीहरूको मुख्य उद्देश्य सत्ता, शक्ति र विलासी जीवन रहेछ भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्ग छ। राजनीतिलाई आजीवन पेशा बनाइएको छ। राजनीतिक शक्तिको दुरुपयोग गर्दा राजसी ठाँटको जीवन बिताउनेहरुको प्राथमिकतामा सर्वसाधारणको दुःख, पीडा र चीत्कार कहिल्यै नपर्ने रहेछ।
गुटबन्दीको नतिजा विभाजन भएको छ। गठजोडहरू स्वार्थमा आधारित छन्। अतिवाद कहिले दरबार बस्छ, कहिले जंगल पस्छ। यस्तो अभ्यासको श्रृङ्खला नेपालमा लामै बनिसकेको छ। यी सबै शासकीय अक्षमताको शिकार नागरिक भइरहेका छन्। वास्तवमा नागरिक चोट खप्ने अचानो जस्तो भइरहेका छन्। सत्ताको छिनाझपटीको इतिहास सात दशक लामो भइसक्यो। केटाकेटीले खेल्ने खेल जस्तो मन मिलुञ्जेल खेल्ने, नत्र झगडा गर्ने अभ्यास संस्कार नै बनिसकेको छ। अझ यसरी भनौं- राजनीति केटाकेटीको भाँडाकुटी खेल जस्तो भइरहेको छ। न नियम, न रेफ्री। स्वार्थ मिलुन्जेल मिलिजुली खेल्ने, एकैछिनमा झगडा गर्दै रुँदै कराउँदै बाटो लाग्ने। लगत्तै पुनः त्यही उपक्रम दोहोर्याउने।
नेपालमा सात दशकभित्र सातवटै संविधान फेरिइसके। तर नागरिकको मुहार फेरिएन। नागरिकले नेताहरूको आह्वानमा आफ्नो शरीर नै बलिदानी दिए, बन्दूक बोके, आफ्नो जवानी युद्धमा बिताए। तर रगत बगाएर भएको सत्ता परिवर्तनले पात्र मात्रै परिवर्तन गर्ने तर प्रवृत्ति फेरिएन। नतिजामा नेताहरू आलोपालो प्रधानमन्त्री बनिरहेका छन्। यही समझदारीमा तल-माथि भए झगडा गर्छन्। नेपाली माटो यिनीहरूलाई उर्वर भूमि बनिरहेको छ। सुरासुन्दरी, प्राडो काण्ड, सांसद खरीदबिक्री काण्ड, राजदरबार हत्याकाण्ड, सशस्त्र विद्रोह, एकपटक होइन दुई-दुईपटक खर्चिलो संविधानसभाको निर्वाचन, एनसेल काण्ड, बूढीगण्डकी प्रकरण, ३३ केजी सुन काण्ड, यति होल्डिङ, सेक्युरिटी प्रिन्टप्रेस काण्ड, स्वास्थ्य सामग्री खरीद अनियमितता काण्ड आदित्यादि भए।
यहाँ गर्न हुने र नहुने कामको सीमारेखा नै हरायो। खराब काम गर्न कुनै कानूनले रोक्न सकेन। संविधानमा धेरै थोक लेखियो तर त्यो रुपान्तरण भएर नागरिकको जीवनसम्म प्रतिफल पुग्न सकेन। नागरिकले आहतै आहत पाए। कोभिड महाव्याधिकालमा कात्रोमा पनि कमिसन खान छोडेनन्। संविधानमा लेखिएको मौलिक हक र अधिकार कहाँ गए कहाँ ? संविधान त देखाउने सेतो कागजको निर्जीव पन्नाहरू मात्र भए।
खोट हाम्रो दृष्टिकोण र कार्यशैलीमा छ। बिमारी टाउकोको, चेकजाँच नाइटोको गर्ने हाम्रो समस्या हो। नक्कली डाक्टर, सक्कली बिमारी र नक्कली औषधिले रोगको निदान कसरी हुन्छ र ? देशलाई हाँक्ने पाइलटहरूमा निहित स्वार्थ लुकेको छ। उनीहरू मिलेर जहाज उडान गर्नुपर्ने थियो, सुरक्षित रूपमा यात्रा गराई यात्रुलाई निश्चित समयमा गन्तव्यमा पुर्याउनुपर्ने थियो तर पाइलटहरूबीच मन फाट्यो। अनि त यात्रुको ओठमुख सुक्न थाल्यो। नागरिकले निर्वाचनमा आफैंले गरेको निर्णयमाथि पश्चात्ताप गर्नुपर्ने अवस्था सिर्जना भयो।
सुशासन र विधिको शासनको नाराले नागरिकको कान भरिएको छ। पोस्टरहरू हेर्दा आँखा थाकेका छन्। तर नतिजा हेर्दा मन मरेको छ। के सुशासन भनेर हुने, पुग्ने विषय हो र ? आधारभूत धरातलमा अनुभूति गर्ने, देखिने विषय होइन र ?
महाव्याधिमा नागरिकलाई सहज खोपको पहुँच छैन। दलहरू गाउँगाउँसम्मबाट बस रिजर्भ गरी कार्यकर्ता शहरसम्म ओसारिरहेका छन्। यो दृश्य देख्दा प्रश्न जन्मिन्छ- हाम्रा नेताहरू कति अधम हुन्।
लोकतान्त्रिक भनिने दलभित्र क्रियाशील सदस्यता विवाद छ। महाव्याधिमा नेताहरू नै पार्टी कार्यालयमा रिले अनशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। निषेधाज्ञाको फर्मान गृह मन्त्रालय आफैं उल्लंघन गर्छ। नेताहरूलाई निषेधाज्ञाको नियमले छुँदैन। गरीबको बिहान-बेलुका चुलो निभिरहेको छ।
ठूलाठालुहरुका लागि सबै गतिविधि सुचारु छ। तर अबोध बालबालिकाहरु कोठाभित्र थुनिएका छन्। दल र प्रशासनको तमासाले घरभित्र थुनिएका कलिला जिज्ञासु मानसपटलमा कस्तो प्रश्न जन्माइरहेको होला ? परीक्षा घोषणा हुन्छ, परीक्षा स्थगित हुन्छ। बालबालिकाको लागि परीक्षाको प्रश्न केटाकेटीको खेल होइन। बच्चाहरु अभिभावकसँग प्रश्न गर्छन्- त्यो जुलूस किन बाबा ? बार्दलीको सम्बोधन किन मामु ? सडक प्रदर्शन किन अंकल ? जवाफ के दिने ?
राज्य छैन भन्दा छ, छ भन्दा कहाँ छ कहाँ ?
टीकापुर-१, कैलाली
प्रतिक्रिया 4