+
+

नेपाली सिनेमा : हिजो रोना-धोना, आज हाँसो-ठट्टा

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ भदौ १२ गते २०:००

‘सिनेमा हेर्न जाने दर्शकलाई रुमाल दिइनेछ’ एकताका दर्शकका लागि आहृवान गरिएको विज्ञापन हो, यो । चलचित्र थियो, ‘अजम्बरी माया’ । निर्देशक थिए, दीपक श्रेष्ठ ।
त्यसबेला चलचित्र हेर्ने ताँतीमा उभिएका दर्शकलाई रुमाल दिइएको थियो । रुमाल यस कारण कि, दर्शकलाई आँशु पुछ्न काम लागोस् । यसबाट निर्देशक/निर्माताहरू दर्शकलाई यस्तो मनोवैज्ञानिक प्रभाव पार्न चाहन्थे कि, सिनेमाले बेस्सरी रुवाउनेछ ।

नभन्दै चलचित्र सार्वजनिक भएको दिन देशभर हाउसफुलको व्यापार भयो । सो दिन करीब २५ हजार रुमाल वितरण गरेको दीपक सम्झन्छन् ।

नायिका निरुता सिंह, उत्तम प्रधान, करिश्मा मानन्धर, धिरेन शाक्यको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकलाई रुवायो पनि । दीपक भन्छन्, ‘यो चलचित्रले दर्शकको मन छुन्छ भन्ने हामीलाई थाहा थियो । दर्शक रुँदा आँशु भुइँमा नझरोस् भनेर हामीले रुमाल वितरण गरेका थियौं । यो एउटा प्रचारको तरिका पनि थियो । यसले चलचित्रको व्यापारमा खूबै काम गरेको थियो ।’

सिनेमाको रुन्चे युग

नेपाली चलचित्र क्षेत्रमा नायिका निरुता सिंहको युगलाई ‘रुन्चे’ युग भन्दा फरक पर्दैन । किनकि, निरुता सिंहलाई चलचित्रमा रुवाएपछि व्यापार मालामाल हुन्छ भन्ने सोचाइ निर्माताको थियो । यसैले, निरुताले अभिनय गरेका अधिकांश चलचित्रमा उनी प्रेमिका, बुहारी, भाउजू भएर अभिनय गरेकी छिन् । चलचित्रमा निरुता रुन्थिन्, दर्शक पनि रुन्थें । निरुतालाई चलचित्रमा अभिनय गराएर दर्शकको भावना टपक्कै टिप्ने निर्देशकको एक प्रकारको चाल पनि थियो । अधिकांश चलचित्रमा यो सोचाइ सफल पनि भएको छ ।

निरुता सिंहको अधिकांश चलचित्रमा रोना-धोना हेरेका दर्शकले नायिका रेखा थापाको प्रवेशसँगै नयाँ स्वादको खोजी गरे । छोटो पहिरनमा, चुलबुले अनुहारमा रेखा पर्दामा देखिंदा दर्शकले खूबै रुचाए । यहींबाट नै नेपाली चलचित्रमा निरुता युग सकिएर रेखा युग शुरू भएको थियो ।

आजको दिनमा नेपाली चलचित्रमा कमेडी बिक्छ । दर्शक हाँस्न चाहेका छन् । यसैले, रुवाउने चलचित्र बनाएर चलचित्रको व्यापार गर्न कमै मात्र निर्माताले चाहेका छन् ।

दर्शक रुवाउन सिपालु शिव रेग्मी

एकताका नेपाली सिनेमा र टेलिशृंखलाले रोना-धोनाको कथा खूब बेच्यो । ‘अजम्बरी माया’ले त दर्शकलाई पहिलो दिन नै २५ हजार थान रुमाल दियो, ताकि सिनेमा हेरिरहँदा आँशु पुछ्न काम लागोस् । अहिले परिस्थिति ठीक उल्टो छ । अहिले सिनेमादेखि टेलिशृंखलासम्म हाँसो-ठट्टा बेचिरहेको छ । यसले बदलिंदो सामाजिक मनोविज्ञानलाई उजागर गर्छ

दर्शकलाई कसरी रुवाउने भन्ने विषयमा निर्देशक शिव रेग्मी जानकार थिए । शिवका चलचित्रले मानिसका घर-घरका समस्या बोल्ने गर्दथ्यो । जसले गर्दा, उनका अधिकांश चलचित्र हेर्दा दर्शक रोएका नै हुन्थे । शिवले निर्देशन गरेका ‘आफन्त, आफ्नो मान्छे, हामी तीन भाइ, सुख-दुःख, ए मेरो हजुर’ लगायत चलचित्रले दर्शकको भावनालाई राम्रोसँग समाएका छन् । यी चलचित्रले व्यापारिक रूपमा कीर्तिमानी सफलता पनि पाएका थिए । चलचित्रभित्र घर-घरका समस्या उठाएर त्यसलाई बलियो पकडका साथ अगाडि बढाउन माहिर थिए शिव रेग्मी । शिवपछि निर्देशक विकासराज आचार्य, नवल नेपाल यो कुरामा सर्वाधिक अगाडि छन् ।

‘हामी दर्शक रुवाएरै सफल छौं’: विकासराज आचार्य

निर्देशक विकासराज आचार्यले बनाएका अधिकांश चलचित्रमा दर्शक रोएका छन् । आज पनि उनले निर्देशन गरिरहेको ‘नाइँ नभन्नु ल’का हरेक सिरिजको अन्तिममा दर्शक रोएका नै छन् । यसैले, विकास हाँसो र रोदन जीवनको दुई पाटो भएकाले यो कहिल्यै पनि नसकिने बताउँछन् । विकास भन्छन्, ‘मलाई चलचित्रमा दर्शक रुवाउने युग सकिएको छ जस्तो नै लाग्दैन । किनकि, व्यापारिक रूपमा होस् या युट्युबको भ्यूजको आधारमा नै किन नहोस्, दर्शकले सबैभन्दा बढी चलचित्र नाइँ नभन्नु लकै सिरिजहरू हेरेका छन् । हामी चलचित्र बनाउनेहरू समय अनुसार चल्न सक्नुपर्छ । अहिले कमेडी चलचित्रलाई प्रस्तुत गर्ने तरिका पनि बदलिएको छ भने रुवाउने चलचित्रलाई प्रस्तुत गर्ने तरिका पनि बदलिएको छ ।’

विकासराज आचार्यलाई दर्शक रुवाएरै हिट भएको आरोप समेत लाग्ने गरेको छ । तर, दर्शकले लगाएको आरोपमा आफू सधैं सफल भएको आचार्यको तर्क छ । उनले भने- ‘दर्शकले जुन आरोप लगाउनुभएको छ, यो आरोपमा हामी सधैं सफल छौं । किनकि, दर्शक चलचित्र हेर्दा कि हाँस्न चाहन्छ कि रुन । दीपकराज गिरीले हँसाएर चलचित्रको बिट मार्नुहुन्छ, मैले रुवाएर बिट मार्छु । दर्शक चलचित्र हेर्न जाँदा पनि सोही सोच बोकेर नै जान्छन् । हामीले दर्शकले अपेक्षा गरेको कुरा पूरा गरेका छौं जस्तो लाग्छ ।’

विकासको जस्तै तर्क छ अर्का निर्देशक दीपक श्रेष्ठको पनि । दीपकले अनलाइनखबरसँग भने- ‘मलाई आँशुको युग कहिल्यै पनि सकिन्छ जस्तो लाग्दैन । किनकि, अहिले झट्ट हेर्दा कमेडीले वर्चस्व जमाएको हो कि जस्तो लाग्न सक्छ । तर, ढिलोचाँडो फेरि आँशुको युग शुरू हुन्छ । कमेडी चलचित्रमा पनि थुप्रै संवेदनाका प्लटहरू समावेश गरिएको हुन्छ । जीवन भनेको आँशुसँग जोडिएको कुरा हो । दुःख नपाएको मानिस कोही पनि हुँदैन । अहिले बाहिरबाट हेर्दा आँशुको समय गएको जस्तो लाग्छ । तर, दर्शकको दिमागमा कुनै चलचित्रले छुन सकेन र दर्शक भावुक भएन भने त्यो चलचित्र चल्छ जस्तो मलाई लाग्दैन ।’

‘अब आँशुकै व्यापार गर्छु भन्ने अवस्था छैन’ : नवल नेपाल

निर्देशक नवल नेपालसँग चलचित्र र टेलिसिरियलको थुप्रै अनुभव छ । जहाँ उनले मानिसको भावनालाई उजागर गरेका छन् । उनले बनाएका ‘श्रीमान्, महसूस, मंगल, मारुनी’ लगायत चलचित्रमा मानिसको भावना र संवेदनाको कथा भनेका छन् । उनै नवलले ‘परिचय, सिलसिला, किनारा’ लगायतका चर्चित सिरियलमा मुख्य सहायक निर्देशक भएर काम पनि गरेका छन् । नवल भन्छन्, ‘चलचित्रमा आँशुकै व्यापार गर्छु भनेर सोच्नु गलत हो । आँशु बेचेर पैसा कमाउने भन्ने कुरा राम्रो होइन । तर, मान्छेको जीवनमा आँशु र हाँसोको पाटो हुन्छ । हामीले त्यो कुरालाई भने चलचित्रमा उजागर गर्न सक्नुपर्छ । सूर्य हुन्छ भने चन्द्रमा पनि हुन्छ । दिन हुन्छ भने रात पनि हुन्छ । आँशुको पछाडि हाँसो र हाँसोको पछाडि आँशु हुन्छ भनेर हेर्ने हो भने सबै कुरा सहज लाग्न सक्छ ।’

नवल आजको दिनमा चलचित्र भन्ने शैली फेरिएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘हिजोको दिनमा जसरी हामीले आँशुको व्यापार गर्‍यौं, त्यो समयमा त्यो मूल्य र मान्यता थियो होला । तर, आजको दिनमा त्यो अवस्था छैन । अब, त्यो पुरातन सोचलाई छाडेर अगाडि बढ्नुपर्छ । शायद, हिजोको कालखण्डमा त्यो कथा सही थियो होला । आज मानिसको भावना बदलिएको छैन, तर हामीले भन्ने तरिका बदल्नुपर्छ ।’

सिरियलको हकमा पनि नवलको तर्क चलचित्रको जस्तै छ । उनका अनुसार, भावनात्मक कथाले महिलाहरूलाई बढी प्रभाव पारेको उनी बताउँछन् । तरÙ परिचय, मुक्ति जस्ता सिरियलको समयमा यी कथाले हरेक वर्गलाई प्रभाव पारेको उनको भनाइ छ । नवलले अगाडि भने- ‘हिजोको समयमा जतिबेला परिचय, मुक्तिहरू प्रसारण भएका थिए सो समयमा त्यो स्तरमा प्रस्तुत गरिएका अरू सिरियल थिएनन् । मानिसहरूको अवस्था पनि शायद त्यो समयमा त्यस्तै थियो होला । त्यो उच्चतम भावनामा प्रस्तुत गरिएको कथा हो । अर्कोतिर, हामी नेपाली एकदमै भावुक छौं । यसैले पनि भावनासँग जोडिएका कथालाई दर्शकले रुचाउनुहुन्छ । तर, विस्तारै दर्शकको स्वाद पनि फेरियो । यसैले, रोना-धोनाका कथाभन्दा बढी कमेडी सिरियलहरू नेपालमा बिक्न थालेका हुन् ।’

‘हामी पैसाको पछि दौडियौं’: ऋषि लामिछाने

नेपालमा ‘परिचय’ नामक सिरियलले कुनै बेला चार वर्षसम्म टीआरपीको ‘नम्बर वान’ स्थान ओगटेको थियो । नेपाल टेलिभिजनको समाचार भन्दा पनि बढी दर्शक पाएको यो सिरियलका निर्देशक हुन् ऋषि लामिछाने । उनै, लामिछाने त्यो समयमा कुनै पनि सिरियल वा चलचित्र मन र मुटुले बनाइएको बताउँछन् । तर, अहिले मानिसहरू पैसाको पछाडि दौडिंदा हेर्ने र बनाउने तरिका नै मन र मुटुबाट सरेर मस्तिष्कमा पुगेको उनको तर्क छ ।

लामिछाने भन्छन्, ‘म परिचयलाई आँशुको सिरियल भन्न रुचाउँदिनँ । त्यो भावना र मुटुको सिरियल हो । त्यो समयमा परिचयसँग प्रतिस्पर्धा गर्न सक्ने अर्को सिरियल नै आउन सकेनन् । यसपछि, विस्तारै पारिवारिक र आँशु बोकेका सिरियल कम भए र टुक्का जोडिएका कमेडी सिरियल हावी भए । यसमा हामी मेकर पनि दोषी हौं । यसलाई प्रसारण गर्ने टेलिभिजन, विज्ञापनदाता पनि दोषी हुनसक्छन् ।’

लामिछानेका अनुसार, जब मानिसहरूले क्षणिक रमाइलोका लागि सिरियलहरू हेर्न थाले यसपछि भने सिरियलमा देखाइने विषयवस्तु परिवर्तन भएको हो ।

लामिछाने फेरि पनि प्रयास गर्ने हो भने पारिवारिक र रोदनले भरिएका सिरियल चल्ने दाबी गर्छन् । उनले भने- ‘हामीले मनबाट बनाउनुपर्छ । हेर्ने दर्शकले पनि मनबाटै हेर्नुपर्छ । मस्तिष्कले काम गर्‍यो भने त्यहाँ व्यापार हुन्छ । जसरी अहिले जे चल्यो त्यसकै पछाडि दौडिने शैली छ । तर, सिरियल बनाउँदा पहिलेको भन्दा फरक तरिकाले सोच्नुपर्छ ।’

लामिछाने यो सृष्टि रहेसम्म मन र मुटुको संरचना नसकिने बताउँछन् । उनले भने- ‘फेरि पनि हामीलाई नेशनल टेलिभिजनहरूले माया गरिदिने हो भने हामी भावना बोकेका सिरियल बनाएर चलाउन सक्छौं । यस्ता कथाहरू कहिल्यै पनि पुराना हुँदैनन् ।’

नेपाली चलचित्रको पर्दामा होस् या सानो पर्दामा नै किन नहोस् ! रोदन बोकेका कथाहरू बिक्न छाडेको आभास गर्न सकिन्छ । तर, मानिसको जीवनमा आँसु र रोदन दुवै हुने भएकाले यी विषयहरू कहिल्यै पनि पुरानो नहुने दाबी थुप्रै मेकरहरूको छ । तर, यसका लागि फेरि बिरालोको घाँटीमा घन्टी कसले पहिले झुन्ड्याउने भन्ने मुख्य कुरा हो ।

अहिले जे बिक्छ त्यही बनाउने र क्षणिक समयका लागि हिट भएको आत्मरतिमा रमाउने चलन छ । यही चलनका कारण आज बनेका सिरियल र चलचित्र केही समयपछि पुराना हुन्छन् । बजारमा हरेक साता नयाँ-नयाँ ट्रेन्ड भित्रिन्छन् । तर, मनदेखि परिवारभित्रका कथाहरू बोकेका सिरियल र चलचित्र बनाउने हो भने, दर्शकले ती विषयलाई सधैं माया गर्छन् । यसका लागि सर्जकहरू पैसा र व्यापारको पछि नलागेर सिर्जनाको पछि लाग्न आवश्यक छ ।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?