+
+

यमराजको गिरफ्तारी

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ भदौ १२ गते १८:२६

झिसमिसे बिहानीको समय थियो । आकाशमा बादलको नामनिशाना थिएन । रूखको डालीमा बास बसेका चराहरू दिन बौरिएकोमा अल्हादित थिए । पक्षीहरू सूर्योदयको मनोरम पलको प्रतीक्षामा थिए । उत्तर दिशा हुँदै आएको एउटा हल्कारा चरा साथीहरू बास बसेकै स्थानमा ओर्लियो । ऊसँग केही सूचना थियो । आफूले पाएको सूचना उसले साथीहरूलाई सुनायो ।

हल्कारा चराले महत्त्वपूर्ण सूचना ल्याएको थियो । सबैले उसका कुरा ध्यान दिएर सुने । चराहरूमाझ सूचनाको आदानप्रदान भयो । जंगलमा धेरै चरा बास बसेका थिए । एकाएक खलबली सुरू भयो । केही क्षणमै समस्त पक्षीहरू डाली छोडी उडे । आकाशमा सयौं प्रजातिका पक्षीहरूको सागर मडारिन लाग्यो । समूल आकाश पक्षीमय बन्यो । उनीहरू ‘यमलोकमाथि धाबा बोलौँ !’ भन्दै उत्तर दिशातर्फ सोझिन थाले ।

पक्षीहरूको गुञ्जन कौतुहलपूर्ण थियो । सुतिरहेकाहरू उत्सुकताका साथ झ्यालबाट चियाउन थाले । उठिसकेकाहरू छतमा उक्ले । चोक-चोकमा तमासेहरूको जमघट हुन थाल्यो । गगनमा पक्षीजगतको महासागर, धर्तिमा मनुष्यजातिको महाकुम्भ ! वातावरण अति रोमाञ्चक बन्यो ।

मनुष्यहरू पनि पक्षीहरूको लहैलहैमा ‘यमलोकमाथि धावा बोलौँ !’ भन्दै होहल्ला गर्न लागे ! तर यमलोकमाथि ‘धावा’को कारण के थियो त्यसको जानकारी पक्षीबाहेक अरू कसैलाई थिएन ।

त्यस दिन चिया पसल, हाटबजार, चोक–चौतारी सबैतिर चर्चाको बिषय त्यही बन्यो । साँझपख विश्वका ख्यातिप्राप्त टेलिभिजन च्यानलहरूले भू–उपग्रहको माध्यमबाट उपलव्ध सूचनाको हवाला दिँदै ब्रेकिङ्ग न्यूज दिए–

‘हिमालय पर्बतमाथिको यमपुरीमा मृत्यु महा–सम्मेलन । सम्मेलनमा ब्रह्मा, विष्णु, महेश्वर, देवगण, ऋषिगण, वुद्ध, लगायत उपस्थित । यमराजद्वारा सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण ।

केहीबेरमा टेलिभिजनबाट सम्मेलनको श्रव्य–दृष्य प्रसारण भयो । यमलोकको आन्तरिक मामिला मन्त्री भाषण गर्दै गरेको देखियो । ऊ भन्दै थियो–

‘यमपुरीको अर्थतन्त्रको मुख्य आधार मर्त्यलोकबाट संकलन हुने मृत्यु कर हो । मर्त्यलोकबाट कर उठ्न बन्द भएको दिन यमपुरीको अर्थतन्त्र तहसनहस हुनेछ । हामीलाई लागिरहेको छ, त्यो दिन टाढा छैन । खुफिया सूत्र भन्छ, केही समययता मर्त्यलोकमा बिद्रोही स्वर सुनिन थालेको छ । मर्त्यलोकबासीहरू स्वर्ग–नर्कलाई चित्रगुप्तले खडा गरेको मायाजाल भन्दै यमराजको मृत्यु–सत्तामाथि चुनौती दिन खोजिरहेका छन् । हाम्रा लागि यो शुभ समाचार पटक्कै होइन ।’

भाषणवाजी चल्दाचल्दै आकाशमा पक्षीहरूको समुद्र उर्लेको देखिन लाग्यो । मर्त्यलोकबाट गएका पक्षीहरूले सम्मेलनस्थलको आकाश ढपक्कै ढाके । उनीहरू ‘आशाको सत्ता जोगाऔँ । यमलोकमाथि धाबा बोलौँ !’ भन्दै चर्को नाराबाजी गरिरहेका थिए । त्यो देखेर यमराज अति क्रुद्ध भए । उनले पक्षीहरूमाथि दिव्यास्त्र प्रहार गर्न प्रधान सेनापतिलाई आदेश दिए ।

‘जीव हिंसाको तमासे बन्नू या सम्मेलन बहिस्कार गर्नु ?’ छेवैमा बसेका गौतम बुद्धमाथि धर्मसंकट आइपर्‍यो । उनले बाध्य भई मुख खोले–

‘म प्राणी हत्याको साक्षी बन्न सक्दिनँ । म त जीवहरूको मृत्युमा उत्सव मनाउने यमपुरीको पुरातन सोचमा परिवर्तन ल्याउन यहाँ आएको हुँ । महाराजले दिव्यास्त्र प्रहारको आदेश फिर्ता लिनुस् । अन्यथा सम्मेलन बहिस्कार गर्छु ।’ बुद्धले अड्डी लिए ।

यमराजलाई फसाद पर्‍यो । उनले बाध्य भई दिव्यास्त्र प्रहारको आदेश फिर्ता लिए । त्यसपछि अनिश्चित कालसम्मका लागि सम्मेलन स्थगित गरे ।

मृत्यु महा–सम्मेलन स्थगित भयो । सम्मेलन भाँडिनुको मुख्य कारण मर्त्यलोकबाट गएका पक्षीहरू थिए । पक्षीहरू विजयी मुडमा मर्त्यलोक फर्किए । उनीहरूमा पहिलेभन्दा बढी उत्साह, उमंग र जोश देखिन्थ्यो । पक्षीहरू समस्त प्राणीलाई अकाल मृत्युबाट जोगाई यमराजको परम्परागत सत्तामाथि धावा बोल्ने अचूक अस्त्रको खोजीमा लागे । त्यसका लागि सर्बपक्षीय गोलमेच सम्मेलन आयोजना गरियो । सम्मेलनले जगतका सम्पूर्ण जीवहरूको सहभागितामा आशा–यज्ञ गर्ने निर्णय लियो ।

मर्त्यलोकमा आशा यज्ञ हुन लागेको खबर यमलोक पुग्यो । समाचारले सारा यमपुरीमा हल्लिखल्लि मच्चायो । यमराजलाई निद्रा पर्न छोड्यो । उनी चुप लागेर बस्ने पक्षमा थिएनन् । वैज्ञानिकहरूको बैठक बसाइयो । बैठकमा यमराजले जगतमा भयानक महामारी फैलाउन सक्ने भाइरसको सृष्टी गर्न वैज्ञानिकहरूलाई निर्देशन दिए । साथै आशा यज्ञका आयोजकहरूलाई पक्राउ गरी ल्याउन सैनिक टुकडी खटाए ।

निर्धारित समयमा मर्त्यलोकमा आशा-यज्ञ आरम्भ भयो । यज्ञमा ब्रह्माण्डभरका करोडौं जीवहरू उपस्थित थिए । मानवजातिको पूर्खा डाइनासोरले ‘आशा’ शब्दको उच्चारण गर्दै यज्ञ आरम्भको शंखघोष गर्‍यो ।

निर्धारित मितिमा मर्त्यलोकमा आशा-यज्ञ आरम्भ भयो । यज्ञमा ब्रह्माण्डभरका करोडौं जीवहरू उपस्थित थिए । मानवजातिको पूर्खा डाइनासोरले ! आशा !’ शब्दको उच्चारण गर्दै यज्ञ आरम्भको संखघोष गर्‍यो ।  करोडौँ प्राणीहरूले एकसाथ ‘आशा !’ शब्द दोहोर्‍याउँदै नारा लाए । नाचगान सुरू भयो । हरेकको मनभित्र आशाको मधुर ध्वनी झङ्कृत हुन थाल्यो ।

यज्ञ चलिरहेको थियो । मर्त्यलोक आउँदै गरेका यमराजका सैनिकहरूले टाढैबाट आशा सङ्गीतको ह्रृदयस्पर्सी गुञ्जन सुने । सैनिकहरूलाई त्यो गुञ्जन कर्णप्रिय लागिरहेको थियो  । जतिजति यज्ञस्थल नजिक आउँथ्यो, उतिउति सैनिकहरू आशा सङ्गीतको धुनले मोहित हुँदै जान्थे । त्यस्तो मनमोहक गुञ्जन उनीहरूले पहिलो पटक सुनेका थिए ।

विस्तारै विस्तारै आशा सङ्गीतको धुनले जादु, टुनाको काम गर्न थाल्यो । आजीवन मृत्यु, रोदन, दुःख, पीडाबाहेक नदेखेका यमपुरीका सैन्यहरू आशा सङ्गीत सुनेर आनन्द विभोर भए । सङ्गीतको नशामा लट्ठीएका सैनिकहरू हतियार बिसाई नाँच्न–गाउन थाले । उनीहरूको लडाकु मनोविज्ञानमा आमूल परिवर्तन आयो । सैनिकहरूले आफू आउनुको उद्देश्य बिर्सिँदै गए ।

यज्ञस्थलको चित्र पनि विचित्रको थियो । जताततै आशै–आशाको मधुरस बगिरहेको थियो । चारैतिर आशा सङ्गीतको मादक तरंग फैलिएको थियो । सङ्गीतको जादूमय प्रभावबाट ढाड कुप्रेकाहरू सिधा भइ हिँड्थे । वृद्धहरू जवानजस्ता देखिन्थे । दीर्घ–रोगीहरू रोग मुक्त हँदै जान्थे ।

यमराजका सैनिकहरू आशा–सङ्गीतको मधुरसमा बिलाए । महिनौँ बित्यो, यमलोक फर्केनन् । यमराजको रिश ऋषि दुर्वाशाको भन्दा चर्को भयो । उनले यज्ञ सञ्चालकहरूलाई गिरफ्तार गरी ल्याउन सेनापतिको नेतृत्वमा अर्को सैनिक टुकडी खटाए ।

सेनापति नेतृत्वको टुकडी विकट पहाड, खोलानाला पार गर्दै अघि बढ्यो । यात्रामा सेनापति सैनिकहरूको मनोबल उकास्न जोशिला उक्तिहरू सुनाउँथ्यो । बिद्रोहीहरूलाई पक्राउ गरेको दिन आकर्षक इनाम दिने आश्वासन बाँड्थ्यो ।

टुकडी यज्ञस्थलबाट आधा माइलको दूरीमा थियो । ‘आशा सङ्गीतको मधुर ध्वनि सुनिन थाल्यो । सङ्गीत निकै आनन्ददायक थियो । सङ्गीतको सम्मोहनमा परी पत्थर पग्लिएका, नदी बग्न छोडी रोकिएका देखिन्थे । मानौ ऊ कुनै दिवास्वप्न देखिरहेको छ । सेनापतिलाई ऋषि नारदले वीणा बजाउँदा चट्टान पग्लिएर वीणा चट्टानमा दबेको पौराणिक मिथक याद आयो । उसले भ्रमबाट मुक्त हुन झरनाको शीतल जलले टाउको भिजायो ।

तर अनुभूति हराएन । दृष्य पुरानै दोहोरियो । उसले साथमा रहेका सैनिकहरूलाई ‘तिमीहरूले के महसुस गरिरहेका छौ ?’ भनी सोध्यो ! सैनिकहरूले पनि सेनापतिले जस्तै दृष्य देखेको बताए । सेनापतिलाई कुनै अज्ञात मायाँजालले चौतर्फी रूपमा घेरेको आभास  हुनथाल्यो ।

पाइलापाइलामा यज्ञस्थल नजिक हुँदै थियो । सेनापति मदिराको नशामाजस्तै आशा सङ्गीतको धुनमा लट्ठीन थाल्यो । ऊ बेहोसीमैं नाँच्न थाल्यो । गाउन थाल्यो । सेनापति नाचे–गाएको देखेर सैनिकहरू पनि ‘आशा–आशा’ भन्दै नाच्न–गाउन थाले ।

उनीहरूले सैनिक भेष बदले । नदीको जलधारामा यमपुरीका हतियार सेलाए । त्यसपछि आम मानिसको भेषमा यज्ञस्थलमा प्रवेश गरे । उनीहरू यज्ञस्थल पुग्दा एकजना मानिस भाषण दिँदै थियो–

‘यस यज्ञको उद्देश्य आशा मन्त्रको जपमार्फत सम्पूर्ण जीवलाई दुःखको बैतरणी पार गराउनु हो । आजदेखि यज्ञमा सहभागी सबैले विशुद्ध चित्तका साथ ‘आशा’ मन्त्रको जप गर्नेछन् । जीवनका कस्तै कठिन मोडहरूमा आशा मन्त्रको जप भुल्ने छैनन् । हामीलाई विश्वास छ, यस मन्त्रको जपबाट रोगी रोगमुक्त हुनेछन् । उपचार खर्चमा भारी कटौति हुनेछ । सबैको मनमा आनन्दको बहार छाउने छ । करोडौँ प्राणी अकाल मृत्युबाट जोगिने छन् । सबै दीर्घजीवि हुनेछन् । मृत्युदर कम हुँदै जानेछ । औसत आयु बढ्नेछ ।

भोलिदेखि यो यज्ञ घरघरमा चलोस् । टोलटोल, बस्तीबस्ती, चोक–चौतारीहरूमा आशाको दियो बलोस् । सारा जगतमा आशाको ज्वतिर्मय किरण फैलियोस् ।’ भाषण यस्तो थियो ।

भाषण सकिनासाथ श्रद्धालुहरू ‘आशा–आशा’ भन्दै नाच्न थाले । सेनापति नेतृत्वको सैनिक टोली बर्मुडा त्रिकोणमा हराएको जहाजजस्तै आशा सङ्गीतको धुनमा बिलिन भयो ।

 

सेनापति स्वयं हराएपछि यमराजको क्रोधले अजङ्गको रूप धारण गर्‍यो । अब उनको कसैप्रति विश्वास रहेन । अन्ततः यमराज आफै सशस्त्र फौजसहित मर्त्यलोक प्रस्थान गरे ।

यमराजले त्यसअघि पनि कैयौँ पटक मर्त्यलोकको भ्रमण गरेका थिए । उनले यात्रामा लाखौं विधवाहरूको चित्कार सुनेका थिए । अनगिन्ती बटुकहरूले आँशु पुछ्दै अन्येष्टी कर्म गर्दै गरेको देखेका थिए । अस्पतालहरू रोगीले भरिभराउ देखिन्थे । तर यसपटकको मर्त्यलोक यात्राको दृष्य बिल्कुलै फरक थियो ।

यात्रा अवधिभर उनले कहीँ कतै शवयात्रा देखेनन् । अस्पताल, स्वास्थ्यचौकीमा बिरामीको अभाव थियो । सम्पूर्ण जलचर, स्थलचर र उभयचरहरू आशा मन्त्रको जप गरिरहेका भेटिन्थे । सबै हँसिला–खुशीला र प्राणी–प्राणीबीच प्रेम–भाइचाराको सम्बन्ध थियो ! सर्बत्र आशा मन्त्रको जप सुनिन्थ्यो ! यमराजको दिमागमा अनौठो घण्टी बज्न थाल्यो ।

यमराज यज्ञस्थलमा पुगे । प्रवेशद्वारबाट भित्र छिर्नासाथ भिडन्त सुरूभयो । यमराजले भएभरका शस्त्र–अस्त्र छोडे । दुई पक्षबीच घमासान युद्ध भयो । मर्त्यलोकबासी युद्धमा रक्तवीजझैँ लडे । जति थोपा रगत यज्ञस्थलमा खस्थ्यो, मर्त्यलोकबासी तीनगुणा संख्यामा आशा ! आशा ! भन्दै यमराजलाई ललकार्थे ।

यमराजका लागि युद्ध फलामको च्यूरा चपाए बराबर हुन थाल्यो । यमलोकबाट ल्याएका गोली–गठ्ठा, रसद–पानी सकिए । उनीसँग शब्द–बाणबाहेक अरू अस्त्र बचेन ।

यमराजले धम्क्याउन सुरू गरे –

‘म मृत्यु देव हुँ ।’

‘हामी आशाका पूजारी हौँ ।’

‘म तिमीहरूलाई एकै निमेसमा भष्म गरिदिन सक्छु ।’

‘हामी तिम्रा हातमा हतकडि लगाउन सक्छौँ ।’

यमराज र मर्त्यलोकका योद्धाबीच वाकयुद्ध चल्यो । यमराजसंग धम्कीबाहेक कुनै सस्त्र बाँकी थिएन । त्यही मौकामा मर्त्यलोकका युवाहरूले मृत्युराजलाई गिरफ्तार गरी जेलमा हाले ।

०००

कथाको समाप्तिपछि दुईजना पाठकबीच समीक्षा सुरूभयो । एउटालाई उति सारो चित्त बुझेको थिएन ।

‘इज इट पोसिबल ?’ निधार खुम्च्याउँदै सोध्यो उसले ।

जवाफ आयो, ‘ह्वाइ नट, एभ्रिथिङ इज पोसिबल इन ड्रिम ! यो त लेखकले देखेको आशावादी सपनाको अंश थियो ।’

(यस व्यंग्य-कथामा व्यक्त विचार लेखकका निजी हुन्)

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?