+
+
Shares

विमानस्थलबाट कसरी भित्रियो ९ करोडको कोकिन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते २०:१०

१३ भदौ, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ‘अपरेशन कोक–२’ चलाएर झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अफ्रिकी नागरिक ३० वर्षीय स्रिले गेमा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारो छन् ।

पक्राउ परेकामध्ये गामाले महँगो लागूऔषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ३ भदौमा नेपाल प्रवेश गराएको पाइएको छ । हालै कतारबाट काठमाडौंसम्म कोकिन आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचमाथि प्रश्न उठेको छ ।

ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार विमानस्थलबाट कोकिन कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार हाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधको जाँच नै हुँदैन ।

‘एक्सरेबाट हुने जाँचमा लागूऔषध र खानेकुरा उस्तै देखिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘एउटै देखिने भएपछि लागूऔषध पत्ता लगाउन गाह्रो छ ।’

लागूऔषध पत्ता लगाउनका लागि विमानस्थलमा तालिम प्राप्त कुकुर र मानवीय इन्टलिजेन्स प्रयोग हुने उनी बताउँछन् । विमानस्थलमा कार्यरत अर्का एक अधिकृतका अनुसार कतिपय अवस्थामा एक्सरेबाट पनि लागूऔषध पत्ता नलाग्ने होइनन् ।

तर लागूऔषध तस्करले विभिन्न शैली अपनाएर एक्सरेबाट बच्ने गरेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी चाहिँ विमानस्थलमा लागूऔषध पत्ता लगाउन छुट्टै उपकरण राख्नुपर्ने बताउँछन् ।

‘अन्य मुलुकका विमानस्थलमा लागूऔषध पत्ता लगाउने छुट्टै उपकरण राखिन्छन्’ पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) मल्ल भन्छन्, ‘विमानस्थलमा त्यो उपकरण नराखिँदा नेपाल लागूऔषध तस्करीको ट्रान्जिट बनिरहेको छ ।’

आइतबार ब्यूरोले सार्वजनिक गरेको घटनामा लागूऔषध तस्करहरुले सुटकेशभित्र फल्स बटम बनाएर ल्याएका छन् । र, यो ब्यूरोको सूचनाकै आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा खटिएको टोलीले समातेको हो ।

ब्युरोका अनुसार सूचना प्राप्त नहुने हो भने नेपालको विमानस्थलबाट आउने लागूऔषध समातिन गाह्रो छ ।

भारत जाँदै थियो काकिन

ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार ३ भदौमा कतार एयरवेजमार्फत लागूऔषध कोकिन आउँदैछ भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यही आधारमा खटिएको टोलीले गामालाई पछ्याउँदै उनी बसेको होटलसम्म पुगेको थियो ।

कमलादीस्थित एक होटलमा जब कोकिन लिन भारतीय नागरिक विजय सिंह आए, प्रहरीले दुवैलाई पक्राउ गर्‍यो । ‘उनको जिम्मेवारी भारतीय नागरिकलाई कोकिन डेलिभर गर्ने थियो’ श्रेष्ठले भने, ‘उनीहरुबाट कोकिन कारोबारमा किमारो पनि संलग्न रहेको खुल्यो ।’

श्रेष्ठका अनुसार दुई वर्षदेखि काठमाडौं बस्दै आएकी किमारो भारत भाग्न लागेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट समातिइन् ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसन्धान जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले बताए ।

ब्युरोले यसअघि १८ साउनमा ६ किलो कोकिनसहित लागूऔषध तस्करको एउटा गिरोहलाई समातेको थियो ।

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?