+

डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?

२०७८ भदौ  १४ गते १५:०४ २०७८ भदौ १४ गते १५:०४
डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?

महिलाहरुमा देखिने पाठेघरको सिस्ट धेरैमा देखिने साझा समस्या हो । कतिपयमा यो सामान्य रुपमा देखिन्छ भने कतिपयमा यो जटिल रुपमा समेत देखिन्छ । तर चिकित्सकहरु पाठेघरको सिस्टको समस्यालाई लिएर धेरै भयभीत हुनुनपर्ने बताउँछन् । यही पाठेघरको सिस्ट, सेतो पानी बग्ने समस्या र अनियमित महिनावारीको विषयमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साहसँग गरिएको कुराकानी :

पाठेघरमा देखिने सिस्ट के हो ?

अण्डाशयमा पलाउने फोका (सिस्ट) लाई नै पाठेघरको सिस्ट भन्ने गरिन्छ । ईन्डाेमेट्रियम अर्थात पाठेघरमा हुने तीन तह मध्ये सबैभन्दा भित्री तह हो । ईन्डाेमेट्रियम महिनावारीको समयमा झर्छ, जसबाट रगत निस्कन्छ । यो ईन्डाेमेट्रियम झर्ने क्रममा अण्डाशयमा समेत रगत बग्छ र त्यही रगतवाहिनी क्षेत्रमा फोका पलाउँछ त्यसैलाई चिकित्साको भाषामा सिस्ट भनिन्छ ।

यो त्यस्तो ठूलो कुरा पनि होइन । सामान्यतया अण्ड उत्पादनको क्रममा कुनै बेला सिस्ट हुन सक्छ । यो बेलामा आत्तिनुपर्ने कारण छैन । धेरै जसो त मान्छेमा साना सिस्टहरु पलाउँछ, जुन आफैँ फुटेर जान्छन् । बढीमा ६० एमएम भन्दा कम आकारका सिस्टहरु आफैँ हराएर जाने गर्छन् । त्योभन्दा ठूला सिस्टहरु भने संकलन भएर बसेका हुन्छन् । जसले गर्दा अरु रोग देखिन थाल्छ । यदि सिस्ट भएको थाहा भएमा सानो भए पनि ठूलो भए पनि फलोअप भने गर्नुपर्छ । कहिलेकाहीँ सिस्टले सम्भावित पाठेघरको क्यान्सरको हुन लागेको सूचना पनि दिने गर्छ । ठूलो सिस्ट भएको खण्डमा भने शल्यक्रिया गर्नुको विकल्प छैन ।

पछिल्लो समय पाठेघरको सिस्टको समस्या बढ्दो छ भनिन्छ, यसको कारण के होला ?

पाठेघरको सिस्टको समस्या बढ्नुको पछि विभिन्न कारणहरु हुन्छन् । कहिलेकाहीँ अण्डाशयमा हुने खराबीका कारण पनि यस्तो समस्या हुन्छ भने कहिलेकाहीँ वंशाणुगत कारणले पनि समस्या सिर्जना हुन्छ । कुनैकुनै बेला कुनै प्रष्ट कारण नभए पनि यस्तो समस्या देखिन सक्छ । त्यसैले समयसमयमा यसको उपचार गरिरहनुपर्छ ।

अर्काेतर्फ केही अध्ययनले बच्चा कम पाउने महिलाहरुमा पनि सिस्टको समस्या बढी हुने गरेको देखाएको छ । यो पूरा प्रमाणित तथ्य नभए पनि यसमा पनि केही बहस भने गर्न सकिन्छ । कुनै पनि महिलामा गर्भ बसेपछि १५ महिनासम्म पाठेघरमा अण्डा उत्पादन हुँदैन । अर्थात् यो अण्डा उत्पादन गर्न नपर्ने भएकोले आरामको समय हो । अण्डा उत्पादन नहुँदा सिस्टको सम्भावना पनि रहँदैन । तर थोरै बच्चा जन्माउने आमामा धेरै बच्चा जन्माउनेको तुलनामा धेरै अण्डा उत्पादन हुने र अण्डाशयले आराम नपाउने भएकोले पनि यस्तो समस्या सिर्जना हुन्छ भन्ने मान्यता कतिपयको छ ।

यसको उपचार कसरी गरिन्छ ?

सिस्टको प्रकृतिअनुसार यसको उपचार विधि तय गरिन्छ । यदि सिस्ट सानो खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफैँ फुटेर जान्छ । तर सिस्ट सानै छ भने पनि यसले कुनै साइड इफेक्ट गरेको छ कि भनेर समय समयमा परीक्षण गरिरहनुपर्छ । सानै सिस्टलाई पनि ३ देखि ६ महिनासम्ममा फलोअप गर्नुपर्ने हुन्छ ।

ठूला सिस्टको उपचार भनेको शल्यक्रियाबाट नै हुन्छ । यसको लागि विभिन्न प्रविधिहरु हुन्छन् । जुनसुकै विधिबाट भए पनि शल्यक्रिया गरेर ठूलो सिस्ट हटाउन सकिन्छ ।

कुन अवस्थामा यो खतरनाक हुन सक्छ ?

सानो सिस्ट धेरै खतरनाक हुँदैन । यद्यपि सिस्ट धेरै ठूलो भयो भने यसले अण्डाशयमा धेरै अवरोध वा इन्फेक्सन हुन सक्छ । जसका कारण ठूला सिस्ट भएको थाहा पाउने बित्तिकै यसलाई शल्यक्रिया गरेर निकाल्नुपर्छ ।

सेतो पानी बग्ने समस्या किन हुन्छ ?

योनीमा सेतो पानी बग्ने समस्या पनि त्यस्तो जटिल समस्या होइन । योनीमार्गलाई सुख्खा हुन नदिन समयसमयमा थोरै पानी बगिरहेको हुन्छ । तर यही प्रक्रियामा पनि धेरै पानी जाने, योनी गह्नाउने जस्ता समस्याहरु थपियो, पानी बाक्लो हुने  जस्ता समस्या देखियो भने चाहिँ यो समस्या समाधानको उपाय खोज्नै पर्छ । यो पनि कतिपय इन्फेक्सनको कारणले पनि हुन सक्छ । कुनैपनि इन्फेक्सनको समयमा उपचार भएन भने यसले निःसन्तान हुने जस्ता जोखिम समेत बढ्छ ।

पिसाब संक्रमणको कारण के हो ?

पिसाबको संक्रमण पनि जीवाणुहरुको कारण हुन्छ । योनीमार्गमा रहेका जीवाणुहरु पिसाब थैलीमा गयो भने पिसाबमा संक्रमण हुने गर्छ । पिसाब संक्रमण यौनअंगको समयमा सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने यस्तो समस्या हुने गर्छ ।

यसका साथै पानी तथा झाेलकुराकाे कमि भएमा पिसाबथैलिमा थाेरै पिसाब हुने हुन्छ र पिसाब राम्रोसँग बग्न पाउदैन । जसले गर्दा पिसाब थैलिमा व्याक्टेरियाकाे वृद्धि हुने र संक्रमण हुन्छ ।

मासिक स्राव गडबडी वा अनियमित हुनुको कारण के होला ?

मासिक स्रावमा हुने गडबडी कुनै हर्माेनको सन्तुलनको अभावमा हुने गर्छ । कतिपयमा इन्फेक्सनको कारणले पनि मासिक स्रावमा समस्या निम्तिन सक्छ । परिवार नियाेजनका साधनहरुकाे राम्रोसँग प्रयाेग नहुनु, दिर्धराेग, कुपोषण, हर्मोनहरुका समस्या जस्ता विविध समस्याहरुले महिनावारीमा समस्या ल्याउन सक्छ । विभिन्न किसिमका दीर्घरोग आदिका कारण पनि समस्या सिर्जना हुन्छ ।

मासिक स्राव रोकिएको अवस्था छ भने यसमा सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ । सबै समस्याको कारण देखिने खालको मात्रै हुँदैन । यस्तो अवस्थामा हर्माेनको मात्रालाई ध्यान दिएर पनि मासिक स्राव नियन्त्रणमा लिन सकिन्छ ।

 

डा. बालकृष्ण शाह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?