Comments Add Comment

वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

फाइतल तस्वीर

१८ साउन, काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको चुचुरो चुमेका थिए ।

पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका थिए ।

यसमध्ये सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

नेपालबाहेक विश्वभरका ४३ मुलुकका आरोहीले यो सिजनमा सगरमाथा चढेका हुन् । सो सिजन सगरमाथा चढ्न भने ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए ।

उनीहरुलाई सगरमाथाको चुचुरोसम्म लैजान थप त्यति नै संख्यामा नेपाली सहयोगी आरोहीहरु समेत खटिएका थिए । तर, सगरमाथाको सफल आरोहण गर्नेमा भने अनुमति प्राप्त आरोहीमध्ये १८२ जना मात्र रहेका थिए । अन्य आरोही भने सहयोगीका रुपमा हिमाल चढेका हुन् ।

सगरमाथा आरोहणमा यो वर्ष सफलता प्राप्त दर ५० प्रतिशतभन्दा पनि कम रहृयो । यसो हुनुमा सगरमाथा आरोहणका दौरान भएको मौसम परिवर्तन र भारतमा आएको आँधी थियो ।

नेपालीपछि अमेरिकी, चिनियाँ र भारतीय 

नेपालीपछि सगरमाथा चुचुरो पुग्नेमा अमेरिकी नागरिकको संख्या धेरै छ । यो सिजनमा ३२ जना अमेरिकी नागरिक चुचुरो पुगेका छन् ।

तथ्यांक अनुसार दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । यो सिजनमा २४ जना चिनियाँले सगरमाथा चढेका थिए । सफल आरोहण गर्ने भारतीय नागरिकको संख्या २० रहेको छ । बेलायतबाट १३ जनाले सफल आरोहण गरेका छन् ।

यो वर्षको चर्चित आरोही दल बहराइनका १० नागरिकले सगरमाथाको चुचुरो चुमेका छन् । यो टीममा बहराइनका राजपरिवारका एक सदस्य समेत समावेश थिए । यो सिजनमा रुसबाट ६, स्वीट्जरल्याण्ड, युक्रेन, रुस र ब्राजिलका ५/५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

क्यानडा र नर्वेका ४/४ आरोही सफल भए । तथ्यांक अनुसार रोमानिया र जर्मनीका ३/३ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । अष्ट्रिया, बेलारुस, आइसल्याण्ड, जापान, नेदरल्याण्ड्स, पाकिस्तान र पोल्याण्डका २/२ आरोहीले चुचुरो चुमेका छन् ।

उज्वेकिस्तान, तान्जानिया, ताजकिस्तान, ताइवान, स्वीडेन, दक्षिण अपि|mका, मोरोक्को, मोल्दोभा, मेक्सिको, लक्जेम्वर्ग, लात्भिया, कीर्गिन रिपब्लिक, इटली, इजरायल, इरान, हङकङ, फिनल्याण्ड, इस्टोनिया, क्रोएसिया, अष्ट्रेलिया र अर्जेण्टिनाका १/१ आरोही चुचुरो पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

अनुमति लिएका २२६ आरोही चुचुरो चुम्न असफल

विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये २२६ जना आरोही भने चुचुरोसम्म पुग्न असफल भएका थिए । दुई अनुमति प्राप्त आरोहीको आरोहणकै दौरान निधन भएको थियो । निधन हुनेमा एक अमेरिकी र एक स्वीस नागरिक थिए ।

कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । यो वर्ष एक सिजनमा सगरमाथाका लागि सबैभन्दा बढी संख्यामा आरोहण अनुमति जारी भएको थियो । महामारी जारी रहेकै समयमा भएको उत्साहजनक सहभागिताबाट व्यवसायी र सरकार भने उत्साहित भएका छन् ।

मौसमको चूनौती

यो वर्ष आरोहीले मौसमको चूनौति बढी नै सामना गर्नुपरेको थियो । जेठ पहिलो साताबाटै मौसमले भने चुनौती दिइरहृयो । जल तथा मौसम विज्ञान विभागले २ जेठमा एक सूचना जारी गरी ताउ-ते नामक शक्तिशाली चक्रवातको चेतावनी दियो । त्यसबेला विभागले हिमाल आरोहण नगर्न सिफारिस गरेको थियो । यो आँधीको प्रभाव एक साता रहेको थियो । लगत्तै अर्को आँधिको चेतावनी १४ जेठमा विभागले दियो । त्यसपछि भने चुचुरो जान अनुकूल मौसम कुरेका धेरै आरोही र्फकनु परेको थियो ।

१६ हिमाल चढ्न अनुमति जारी, ६ वटामा मात्र सफल आरोहण

यो वर्षको वसन्त ऋतुमा कूल १६ वटा हिमाल आरोहण गर्न अनुमति जारी भएको थियो । तर, सफल आरोहण भने मात्र ६ वटा हिमालमा प्राप्त भएको छ ।

यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा चढेका थिए । सगरमाथापछि दोस्रो स्थानमा ल्होत्से रहृयो । यहाँ ४ टीम लिडर, २१ आरोही र ४७ जना सहयोगी स्टाफ गरी कूल ७२ आरोहीले चुचुरो चुम्न सफल रहे । माउण्ट अन्नपूर्ण प्रथममा यो वर्ष २ टिम लिडर, २७ आरोही र ३९ सहयोगी स्टाफ गरी कुल ६८ जना चुचुरो पुगे ।

अमादब्लम हिमालमा २ टीम लिडर, १५ सदस्य र ६ सहयोगी गरी २४ आरोहीले सफल आरोहण गरेका छन् । माउन्ट पुमोरीमा १ टीम लिडर, ३ आरोही र ६ सहयोगीका साथ कुल १० आरोही चुचुरो पुगे । बरुण त्से हिमालमा एक लिडर र एक आरोही गरी कूल २ जना चुचुरो पुगेको विभागको तथ्यांक छ ।

यो वर्ष कुल १६ हिमाल चढ्न ८४ समूहका ७४२ जना आरोहीले अनुमति लिएका थिए । तर, सबै हिमालमा गरी ३० समूहका २६० आरोहीले मात्र चुचुरो चुम्न सकेको तथ्यांकले देखाएको छ । अर्थातः कूल अनुमति प्राप्त आरोही संख्याको ३५ प्रतिशत आरोहीले मात्र सफलता प्राप्त गरेका छन् ।

अनुमति प्राप्त आरोहीबाहेक ३७३ जना सहयोगी स्टाफले यी हिमाल चढेका छन् । यसअनुसार हिमाल चुचुरो पुग्ने कुल आरोहीको संख्या ६३३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment