
२१ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ ।
बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका छन् ।
नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।
एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले साउन १८ गते ९ वटा विभाग गठन गरेका थिए ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको थियो ।
त्यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अन्तर्गत असोज ३ गते वडा र ९ गते सबै गाउँ तथा नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4