
२२ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटेलले कुल ३६१२ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ । पर्यटन विभागमा दर्ता भएका यी होटेलले आफ्नो कर्मचारी विवरणमा उक्त संख्या टिपाएका छन् ।
विभागको तथ्यांकअनुसार नेपालको आतिथ्य उद्योगमा सबैभन्दा बढी सोल्टी होटेलले रोजगारी सिर्जना गरेको छ । विभागसँग रहेको तथ्यांक अनुसार सोल्टी होटेलले कुल ५५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
यो होटेलमा कुल २८२ वटा कोठा छन् । यी कोठामा कुल ४३५ सैया रहेका छन् । २०२९ सालमै पाँचतारे स्तरको वर्गिकरणमा परेको यो होटेल नेपालको पुरानो होटेलमध्ये एक हो ।
कोठा संख्याको हिसावले ठूलो होटेल हायात हो । तर, यो होटेलले प्रत्यक्ष रोजगारी भने ४१० जना मात्र सिर्जना गरेको विभागको तथ्यांकमा देखिएको छ । सबैभन्दा कम रोजगारी सिर्जना गरेको पाँचतारे होटेल भने कोहलपुरको होटेल सेन्ट्रल प्लाजा हो ।
यो होटेलले ७० जनालाई मात्र प्रत्यक्ष रोजगारी दिएको छ । कुल ८० वटा कोठा रहेको यो होटेलमा ९९ वटा सैया छन् । सरकारले उपत्यका बाहिर स्तरीय होटेल खुलेमा १ सय भन्दा कम कोठा संख्या भएको होटेललाई समेत पाँचतारे मान्यता दिने नीति लिएसँगै पछिल्लो समय मोफसलमा उच्चस्तरीय होटेल खेल्ने क्रमः शुरु भएको हो ।
१६ वटा पाँचतारे मध्ये नविकरण नभई संचालनमा आउन नसकेको पोखराको द फुलबारीले भने अहिलेको कर्मचारी संख्या अपडेट गरेको छैन ।
पाँचतारेमा एकै दिन ३९३९ जना पाहुनाले सेवा पाउने
नेपालमा दर्ता भएका पाँचतारे होटेलले एक दिनमै कम्तिमा ३९३९ जनालाई बास दिन सक्ने भएका छन् । विभागका अनुसार यी होटेलमा कुल २६४२ वटा कोठा छन् । ती कोठामा सैया संख्या भन ३९३९ रहेको छ ।
पाँचतारे होटेलमा कुनमा कति रोजगारी ?
होटेल | कोठा संख्या | बेड संख्या | कामदार संख्या |
दी सोल्टी काठमाडौं | २८२ | ४३५ | ५५० |
होटेल डेला अन्नपूर्ण | १५३ | २३० | ३४४ |
होटेल एभरेष्ट | १६० | २८० | १५५ |
पोखरा ग्राण्ड | १४० | २४७ | १७३ |
होटेल द फुलबारी | १६५ | २०० | उल्लेख छैन |
र्याडिसन होटेल | २६० | ३५० | ४०० |
हायात होटेल | २९० | ४२६ | ४१० |
याक एण्ड यति | २४७ | ३५० | ३०५ |
द मल्ल होटेल | १०० | १६३ | १५३ |
होटेल सांग्रीला | १०० | १६९ | २१० |
टाइगरवान प्राली, रुपन्देही | १०२ | १४६ | २०२ |
सोल्टी वेस्टेण्ड पि्रमियम | ८० | ९९ | ८० |
होटेल मेरियट | २१५ | ३४४ | ३०० |
होटेल अलफ्ट | १६७ | २१६ | १८० |
होटेल मेची क्राउन | १०१ | १८५ | ८० |
स्रोत : पर्यटन विभाग
याक एण्ड यति, एभरेष्ट र फुलबारीको दर्ता नवीकरण छैन
नेपालमा खुलेका पाँचतारे होटेलमध्ये तीन वटा होटेल अहिलेसम्म नवीकरण भएका छैनन् । विभागका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेल र दरवारमार्गस्थित होटेल याक एण्ड यति पछिल्लो समय २०७० सालमा नवीकरण भएका थिए ।
होटेलहरु प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्छ । तर, यो होटेल नवीकरण नभएको विभागले जनाएको छ । पोखराको फुलबारी होटेल समेत नवीकरण नभएको विभागले जनाएको छ । अन्य होटेल भने कोरोना महामारीका बीचमै समेत नवीकरण भएर नियमित संचालनमा छन् ।
चार तारेमा १७८० जनालाई रोजगारी
विभागमा १९ वटा चार तारे होटेल छन् । विभागका अनुसार चार तारेले १७८० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । चारतारे होटेलले अहिले एकसाथ २४८७ जनालाई सेवा दिन सक्ने भएका छन् । चार तारे होटेलमध्ये कुपण्डोलस्थित होटेल हिमालयले सबैभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
यो होटेलमा २४० जनालाई रोजगारी दिएको छ । ताहाचलस्थित ग्राण्ड होटेल प्रालिले १५० जनालाई रोजगारी दिएको छ । सबैभन्दा कम बाँकेको होटेल स्नेह प्रालिले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रुपन्देहीको नान्स होटेलले ३० जनालाई रोजगारी दिएको छ ।
तीन तारेमा १७९२ प्रत्यक्ष रोजगार
विभागमा अहिले ३३ वटा तीन तारे होटेल दर्ता भएका छन् । यी होटेलमा कुल २०६२ वटा कोठा छन् । यी कोठामा सैया संख्या ३४१२ रहेको छ । यी होटेलले कुल १७९२ जनालाई रोजगारी सिर्जना गरेका छन् ।
तीन तारे होटेलमध्ये सबैभन्दा बढी रोजगारी कुपण्डोलको समिट होटेलले सिर्जना गरेको छ । समिटमा १५२ जनाले रोजगारी पाइएका छन् । रोयल सिंघि होटेलले कुल ११८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
दुई तारेमा १२३९ लाई रोजगारी
पर्यटन विभागका अहिलेसम्म ४१ वटा दुइ तारे होटेल दर्ता भएका छन् । यी होटेलमा १५९८ कोठा रहेका छन् । दुई तारे होटेलमा एकसाथ २८८० जना पाहुनाले सेवा दिन सक्छन् । दुई तारे होटेलले कुल १२३९ जनालाई रोजगारी दिएका छन् । दुई तारे होटेलमध्ये होटेल फिस्टेल लजले सबैभन्दा धेरै १२० जनालाई रोजगारी दिएको छ ।
एकतारेमा ५९७ लाई रोजगारी
विभागमा दर्ता भएका एकतारे होटेलको संख्या ३४ वटा छ । यी होटेलमा कुल ७६२ वटा कोठा रहेका छन् । एक तारेमा एकसाथ १३४४ जनाले सेवा लिन सक्छन् । एकतारे होटेलले अहिले कुल ५९७ जनालाई प्रत्यक्ष रोजगारी दिएको पाइएको छ ।
प्रतिक्रिया 4