Comments Add Comment

साताका १० गीतः ‘प्रमोदको ‘आशा’देखि एलिनाको ‘भाग्यमै नभएको मान्छे’सम्म

हरेक दिन नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भईरहेका हुन्छन् । सातामा दुई दर्जन बढी गीतहरु सार्वजनिक भएको पाईन्छ । पछिल्लो सात दिनमा पनि दुई दर्जन बढी गीतका भिडियोहरु युट्युबमा सार्वजनिक भए । यससाता केहीले औपचारिक कार्यक्रमको समेत आयोजना गरेर भिडियो सार्वजनिक गरे भने कतिपयले सोझै युटुबमा गीत सार्वजनिक गरे ।

सार्वजनिकमध्ये सिमित गीतले राम्रो चर्चा पाए, । केही गीत राम्रो भएर पनि युट्युबमा राम्रो भ्युज पाउन सकेनन् । केही भिडियो सार्वजनिक भएको त श्रोता एवं दर्शकले पत्तो पनि पाएनन् । हामीले यहाँ यो साता सार्वजनिक भएका १० गीत प्रस्तुत गरेका छौं ।

तीज भर्सनमा ‘सम्झिनी पानी छम्किनी’

पाँच महिना अगाडि सार्वजनिक गीत ‘सम्झिनी पानी छम्किनी’को तीज भर्सन गत शनिबार सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको गीतमा सम्राट चौलागाई, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर छ । गीतमा सम्राट चौलागाँइकै शब्द तथा संगीत छ ।

विक्रम स्वाँरको निर्देशन रहेको गीतको भिडियोमा भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, गायक चौलागाँइ, जेभिष–जोभिन श्रेष्ठ, आयुषी ढकाल लगायतको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई वीरबहादुर थारुले सम्पादन गरेका हुन् । यो गीतको भिडियोले एक साता नपुग्दै युट्युबमा ५२ लाख बढी भ्युज पाएको छ । गीतको भ्युजलाई लिएर धेरैले विभिन्न टिका टिप्पणी समेत गरिरहेका छन् । रेकर्ड ब्रेक गर्ने धुनमा निर्माताले भ्यूज खरिद गरेको आरोप समेत यो गीतलाई लाग्ने गरेको छ ।

प्रमोद खरेलको ‘आशा’

गायक प्रमोद खरेलले दुई दिन अगाडि ‘आशा’ शीर्षकमा गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा प्रमोद स्वयंमले अभिनय गरेका छन् । स्नेहा थापासँग प्रमोदलाई फिचरिङ गरिएको छ ।

मनोजको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारी र उनको टिमको छायाँकन, जिवन थापाको सम्पादन छ । भिडियोले ३ लाख १५ हजार बढी भ्युज बटुलेको छ ।

रामकृष्णको स्वर, प्रकाशको अभिनयमा ‘नयाँ जीवन’

रामकृष्ण ढकाल र बेनिशा पौडेलको स्वरमा रहेको ‘नयाँ जीवन’ बोलको गीत गत शुक्रबार सार्वजनिक गरियो । निशा अर्यालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । विक्रम स्वाँरको निर्देशन रहेको भिडियोमा प्रकाश सपूत, कालु राना, मोनिका बुढाथोकी लगायतको अभिनय छ । कथावाचन शैलीमा निर्माण गरिएको भिडियोले विगतका कुरा बिर्सिएर आगामी जिवनलाई सुन्दर तरिकाले अगाडि बढाउनुपर्ने सन्देश दिएको छ ।

यस गीतको भिडियोको भ्युज भने निकै कम छ । एक सातामा भिडियोको भ्युज ३६ हजार मात्र छ । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई तारा थापाले सम्पादन गरेका हुन् ।

पल र गरिमाको ‘एउटा सपना छ’

अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय रहेको ‘एउटा सपना छ’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा मुन प्रसाइँले स्वर दिएकी छिन् । उत्तम हुमाँगाईको छायाँकन रहेको भिडियोलाई हरि हुमागाइँले निर्देशन एवं सम्पादन गरेका हुन् । गीतको भिडियोले युट्युबमा २ लाख ४६ हजार बढी भ्यूज पाएको छ ।

प्रकाशको ‘जिन्दगी यस्तै नै रहेछ’

एक साताअगाडि ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भयो । अजय कार्कीको शब्द, संगीत रहेको गीतमा अजय कार्की र सुरक्षा सेञ्चुरीको स्वर छ । दर्पण राईको निर्देशनमा बनेको यो भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेतको अभिनय छ ।

अनिल के.मानन्धरको छायाँकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । सार्वजनिक भएको एक सातामा भिडियोलाई ९० हजार पटक हेरिएको छ ।

बद्रीको तीज गीत ‘माया भन्न मिल्दैन होला’

लोकगायक बद्री पंगेनीको तीज गीत ‘माया भन्न मिल्दैन होला’ एक साता अगाडि उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा बद्री र संगीता पौडेलको स्वर छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

शंकर बिसीको निर्देशनमा बनेको गीतको भिडियोमा अञ्जली अधिकारी, प्रिया अधिकारी, वविन ठकुरी लगायतको अभिनय छ । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यो गीतको भिडियोले एक सातामा १ लाख भ्युज पाएको छ ।

पूजाको अभिनयमा ‘तिमी आउने जाने बाटो’

टंक बुढाथोकीको शब्द तथा संगीत, अस्मिता अधिकारी र अविनाश न्यौपानेको स्वरमा ‘तिमी आउने जाने बाटो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा पूजा शर्मा र आनन्द सिंहको अभिनय छ । यो गीतको भिडियोलाई सशान कंडेलले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ । एक साता अगाडि टंक बुढाथोकीकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले १ लाख ३० हजार भ्युज बटुलेको छ ।

मलिकाको ‘तिम्रो माया’

निशान भट्टराई र बेनिशा पौडेलको स्वर रहेको ‘तिम्रो माया’ बोलको गीतको भिडियो बिहीबारमात्रै सार्वजनिक भएको हो । रोमान्टिक गीतको भिडियोमा मलिका महत र कुन्साङ बोमजनको अभिनय छ । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।

राजेश पुमा राईको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायांकन तथा विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोले एक दिनमा ३५ हजार भ्युज पाएको छ ।

एलिनाको ‘भाग्यमै नभएको मान्छे’

एलिना चौहानको स्वरमा बिहीबारमात्रै ‘भाग्यमै नभएको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत र एरेन्ज छ । श्रिजन बरालको निर्देशनमा बनेको गीतको भिडियोमा जिबी चिरन, रोशनी कार्की, समिर खान लगायतको अभिनय छ । दिपक गिरी र उनको टिमले छायाँकन गरेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।


‘ईकु’को निर्देशनमा ‘जिउनु छ साथमा’

हास्य कलाकार सुलेमान शंकर ‘ईकु’को निर्देशनमा ‘जिउनु छ साथमा’को भिडियो सार्वजनिक भयो । ज्ञानेन्द्र गिरीको शब्द एवं संगीत रहेको गीतमा प्रदाप दास र अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा पुष्प खड्का र प्रकृति घिमिरेलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । साथमा छत्र श्रेष्ठको समेत भिडियोमा अभिनय हेर्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन, सन्देश शाहको सम्पादन छ । ४ दिनअघि सार्वजनिक भिडियोले १ लाख १० हजार बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment