Comments Add Comment

डोटीको छहरा झरना आन्तरिक पर्यटकको रोजाइमा

२४ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–२ मा पर्ने छहरा झरनामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको जोरायल गाउँपालिका–२ को छहडा गाउँ नजिकै रहेको छहरा झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् ।

अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न छहरा झरना पुगेको बताएका छन् ।

शनिबार परिवारसहित झरनामा पुगेकी कैलालीको धनगढी उपमहानगरपालिका–५ की गरिमा योगीले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताइन् । ‘फेसबुक र टिकटकमा फोटो देख्दा घुम्न मन लागेको थियो,’ योगीले अनलाइनखबरसँग भनिन्, ‘शनिबारको फुर्सदको मौका पारेर आएँ । झरनामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

उनीहरु धनगढीबाट करीब ८६ किलोमिटरको दूरीमा रहेको डोटीको बुडर हुँदै त्यहाँबाट झण्डै ८ किलोमिटरको यात्रापछि छहरा झरना पुगे । काठमाडौं घर भएर हाल धनगढीमा आफन्तकहाँ आएका विकासकुमार अग्रवालले पनि झरना घुम्ने अवसर मिलेकोमा खुशी लागेको बताए । ‘म काठमाडौं हुँदाखेरि नै सामाजिक सञ्जालबाट छहरा झरनाको बारेमा थाहा पाएको थिएँ,’ अग्रवालले भने, ‘धनगढी आएका बेला किन नघुम्ने भनेर आफन्तसँगै आएको हुँ । धेरै रमाइलो भयो ठाउँ पनि राम्रो रहेछ ।’

छहरा झरनामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाँके, बर्दियासहित भारतीय सीमावर्ती क्षेत्रबाट समेत पर्यटकहरु घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ ।

दुई हप्ता अगाडि टिकटकबाट झरनाको बारेमा थाहा पाएपछि धनगढीका १० वर्षीय रिदम श्रेष्ठले झरनामा पुगेर नुहाउँदै फोटो खिच्ने रहर देखाए । उनकी आमा रक्षा श्रेष्ठले शनिबार झरना घुमाउँदै छोराको इच्छा पूरा गरिदिएकी छन् । ‘मैले टिकटक हेरेर दुई हप्ता अघि थाहा पाएको थिएँ । त्यही बेलादेखि मामुलाई घुम्न जाउँ भनेको थिए,’ बालक रिदमले भने, ‘आज मेरो इच्छा पूरा भयो । साह्रै रमाइलो लाग्यो । रमाउन पाउँदा निकै आनन्द भयो ।’

अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरकाअनुसार झरना घुम्नकै दैनिक कम्तीमा १५ सय जना आउने गरेका छन् । तर शुक्रबार र शनिबार भने चारदेखि पाँच हजार मानिस झरनाको अवलोकनका लागि आउने गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले शनिबार १२ देखि १३ सयसम्म मोटरसाइकल, ३० वटा हायस गाडी, तीन सय जति बोलेरो जीप, प्राइभेट गाडी झरनासम्म पुगेको तथ्यांक रहेको बताए ।

एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि जोरायल गाउँपालिकाले झरनालाई व्यवस्थित बनाउन थालेको छ । जोरायल गाउँपालिका–२ का वडा सदस्य शंकर रावलले छहरा झरनामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका छौं,’ रावलले भने । गाउँपालिकाबाट पूर्वाधार विकास गर्नकै लागि १८ करोड बजेट विनियोजन गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले पनि छहरा झरनालाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार तथा निर्माणको काम अघि बढाउने योजना रहेको बताए । ‘भगवान् विष्णुले पनि त्यो ठाउँमा नुहाउनुभएको हो भन्ने किम्वदन्ती छ । धार्मिक रुपमा समेत महत्वपूर्ण स्थल भएकाले यहाँ विगतदेखि नै विवाह, ब्रतबन्ध गरिँदै आएको छ,’ ओझाले भने, ‘हामी त्यो क्षेत्रको पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धनका लागि कटिबद्ध छौं । पालिकाले सडकको ट्रयाक खोल्दै ग्राभेल गरिसकेको छ । डीपीआर बनाइसकेकाले चाँडै त्यो ठाउँलाई व्यवस्थित गर्छौं ।’

जोरायल युथ स्पोर्टस क्लबले पनि झरनामा आउने पर्यटकको सहजताका लागि सहजीकरणको काम गरिरहेको छ । छहरा झरना भएको ठाउँ तीर्थस्थल समेत भएकाले संरक्षण र पर्यटकको सहजीकरणका लागि काम गरिरहेको क्लबका अध्यक्ष दीपेन्द्र मल्लले बताए ।

तस्वीर : दीपेन्द्र ली, कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment