Comments Add Comment

दाम्पत्य सुख र यौनको समीकरण

पछिल्ला केही घटनाक्रमलाई नियाल्ने हो भने धेरै दम्पतीबीचको कलह सतहमा छताछुल्ल भएका छन् । श्रीमान–श्रीमतीले एअर्कालाई धोका दिने, सम्बन्ध विच्छेद गर्ने, विवाहेत्तर सम्बन्धमा रहने जस्ता क्रियाकलप बढ्दो छ । बालबच्चालाई बिल्लीबाठ पारेर उनीहरुको दाम्पत्य जीवन कलहको आँधीबेहेरीमा परेको छ । यसमा अहिले सामाजिक सञ्जाल, युट्युब जस्ता माध्यामहरुले आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।

मुलुकमा गरिखाने मेलो नभएपछि थुप्रै युवा विदेशिएका छन् । कलिला बालबच्चा, मायालु श्रीमती, पाको आमाबुवा छाडेर उनीहरु विदेशमा रगत र पसिना चुहाइरहेका छन् । दुःखजिलो गरेर पूर्ख्यौली ऋण तिर्ने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने, पाको आमाबुवाको औषधि–उपचार गरिदिने, घरको दुनो सोझ्याउने अभिलाषासँगै परदेशिएका युवाहरुको सपना भने सोचेजस्तै फलिफापयुक्त छैन ।

श्रीमान र श्रीमती भौतिक रुपमा टाढिएसँगै उनीहरुमा अविश्वास, भ्रम, शंकाले ठाउँ पाएको छ । यसरी उनीहरुबीच मतभेद सुरु भएको छ । अर्कोतर्फ श्रीमान वा श्रीमती दोस्रो व्यक्तिसँग नजिकिने प्रवृत्ति व्यापक छ । विदेशिएका कति श्रीमानले उतै अर्कोसँग सम्बन्ध बनाएर आफ्नो घर–परिवारलाई बेवास्ता गरेका छन् भने, कति श्रीमतीले दोस्रो पुरुषलाई आफ्नो मनपेट दिएर हुँदाछँदाको घरबार विथोलेका छन् ।

यस किसिमको घटनाले धेरैको पारिवारिक संरचना ध्वस्त भएको छ । छोराछोरीको बिजोग भएको छ, घर–व्यवहार लथालिंग भएको छ ।

वैदेशिक रोजगारी एउटा पाटो भयो । अर्कोतिर स्वदेशमै एकसाथ बसिरहेका कतिपय दम्पतीबीच पनि प्रेमिल सम्बन्ध छैन । विवाहेत्तर सम्बन्धले उनीहरुको घरबार टुट्दैछ । अग्नीलाई साक्षी राखेर सात जुनीसम्म नछुट्ने वाचा गर्दै लगनगाँठो कसेकाहरु विवाहको केही वर्षमै अलग–अलग भएका छन् ।

जीवनभर एकअर्काको साथ दिने भन्दै जोडिएका सम्बन्धहरु किन यति कमजोर र कमसल हुँदैछ ? किन दाम्पत्य जीवन धरापमा पर्दैछ ? यसमा अनेकन कारण हुनसक्छन् । व्यक्तिगत प्रवृत्ति, पारिवारिक स्थिती, सामाजिक व्यवहार, आर्थिक अवस्था । त्यसबाहेक एउटा मूख्य कारण मानिएको छ, उनीहरुको यौन जीवनलाई ।

दम्पतीबीच आशंका, अविश्वास पैदा हुनुमा यौनको मूख्य भूमिका रहेको मनोविद्हरु बताउँछन् ।

अतृप्त यौनले नै दम्पतीबीचको सौहाद्र्धपूर्ण सम्बन्धमा भाँजो हालेको उनीहरुको ठम्याई छ । मनोविद्हरु भन्छन्, ‘दाम्पत्य सुखको कुञ्जी हो यौन । जब उनीहरुको यौन जीवन अपूर्ण हुन्छ, आपसी मतभेद बढ्न थाल्छ ।’

यौनमा बढी लिप्त हुने वा आफ्नो यौन जीवनबाट सन्तुष्ट नहुनेहरु दोस्रो सम्बन्ध बनाउन हतारिन्छन् । उनीहरु आफ्ना श्रीमान वा श्रीमतीलाई थाहै नदिई दोस्रो व्यक्तिसँग शारीरिक सुखभोग लिन थाल्छन् । यो क्रम जति–जति बढ्दै जान्छ, दाम्पत्य जीवनमा आशंका र अविश्वासले जरा गाड्दै जान्छ । अन्ततः उनीहरुको पारिवारिक जीवनको लय टुट्छ । एकअर्काको साथ, भरोसा, प्रेम फिका हुँदै जान्छ । र, दाम्पत्य जीवन नै तहसनहस हुन्छ ।

बेस्ट सेलर उपन्यास ‘हाउ टु गेट द मोस्ट आउट अफ सेक्स’का लेखक डेविड रुबेनको भनाई यहाँ सान्दर्भिक हुन्छ । उनी भन्छन्, ‘यदी यौन सही छ भने, सबैकुरा ठिकठाक हुन्छ । यदी सेक्स सही छैन केही पनि सही हुँदैन । यही कारण हो कि, सही–गलतको समीकरण धेरैको जीवनमा हावी भइरहेको छ ।’

मनोविज्ञहरुका अनुसार दाम्पत्य सुखमा यौनको अहंम् भूमिका हुन्छ । क्षणिक सन्तुष्टको माध्याम मात्र होइन यौन । न, सन्तान जन्माउने शारीरिक क्रिया मात्र हो । यसले दम्पतीको शारीरिक तथा भावनात्मक ति आवश्यक्ताहरु पुरा गर्छन्, जो जैविक जीवनका लागि अपरिहार्य मानिन्छ ।
जुन श्रीमान र श्रीमती आपसी यौनमा उदार छन् र त्यसबाट पूर्णत सन्तुष्ट प्राप्त गर्छन्, उनीहरुको मनमा शंका, उपशंका, गुनासो केहीपनि रहँदैन । एकअर्कामा पूर्ण रुपले समर्पित हुन्छन् । यौनले उनीहरुलाई शारीरिक रुपले मात्र जोड्दैन, भावनात्मक रुपले पनि एकाकार गराउँछ ।
केही अध्ययनहरुले यो पुष्टि गरिसकेको छ कि, सक्रिय यौन जीवनमा रमाउने दम्पतिलाई यौनजन्य र अरु थुपै किसिमको रोगले गाँज्न सक्दैन । उनीहरुमा प्रतिरक्षा क्षमता बलियो हुन्छ ।

अर्को कुरा चाहि, सामाजिक संजाल तथा स्मार्टफोनले पनि अहिले दम्पतीको शयनकक्षा चिसो बनाइरहेको छ । श्रीमान र श्रीमती एउटै ओछ्यानमा सुतेपनि उनीहरु सामाजिक सञ्जालमार्फत आ–आफ्नो दुनियाँमा भुलिरहेका हुन्छन् । यसरी भर्चुअल दुनियामा आ–आफ्नै ढंगले रमाइरहेका दम्पतीबीच अन्र्तसंवादको वातावरण त हुँदैन नै, यौन क्रियाको दर पनि पातलिदै गएको छ ।

अहिले यौन सम्पर्क शहरीकरणको ठूलो समस्या बन्दैछ । दोहोरो आयस्रोत, आलीशान जीवनशैली, उच्च पारिश्रमिकयुक्त जागिर जस्ता कारणले पनि यौन जीवनमा भाँजो हाल्दैछ । उच्च आय भएका दम्पती अक्सर शयन कक्षामा भन्दा कार्यथलोमा समय विताउन थालेका छन् । दिनभरको कार्यव्यस्तताले थाकेको ज्यान लिएर राती घर पुग्छन् । घरमा पुगेपछि एकछिन टेलिभिजन वा फेसबुकमा रमाउने प्रवृत्तिले पनि दम्पतीबीच रसरंगको वातावरण विथोलिदैछ ।

मनोविदहरु भन्ने गर्छन्, ‘सक्रिय र नियमित यौनले दाम्पत्य सम्बन्धलाई सुमधुर एवं मिठासपूर्ण बनाउँछ ।’ त्यसैले नियमित तालिका अनुसार दम्पतीले यौन क्रियामा सहभागी हुनुपर्नेमा उनीहरुको जोड छ । यद्यपि यौन सम्पर्कका लागि रुटिन बनाएर मात्र पुग्दैन, दुबै पार्टनर त्यसका लागि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । सुखमय यौन जीवनले दाम्पत्य सम्बन्धलाई मधुर र बलियो राख्ने मनोविदहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment