+
+
Shares

एसिड बेच्नेलाई सफाइ दिने फैसला विरुद्ध सरकारी वकीलले पुनरावेदन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १५:२१
प्रतीकात्मक तस्वीर

२६ साउन, जनकपुरधाम । एसिड बेच्नेलाई सफाइ दिने धनुषा जिल्ला अदालतको फैसला विरुद्व सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

आफ्नी श्रीमती आरती साहमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई अदालतले दोषी ठहर गरे पनि एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिने फैसला जिल्ला अदालतले सोमबार सुनाएको छ ।

यो फैसला विरुद्व उच्च अदालतमा पुनरावेदन गरिने मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए । सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने उनले बताए ।

अहिलेको कसूर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसूर ठहर गर्नुपर्छ त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको बताउँदै अर्यालले भने, ‘दोषी ठहर भएकाको हकमा आफूहरुको दाबी १५ वर्ष ६ महिना कैद नै हुनुपर्छ भन्ने रहनेछ ।’

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउँदै आरती साह मंगलबार जिल्ला अदालत पुगेकी थिइन् । एसिड बेच्नेलाई किन सफाइ दिएको भन्न अदालत गएकी उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?