Comments Add Comment

अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

फाइल तस्वीर

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

राज्यमन्त्री श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताएका छन् ।

हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको भन्दै उनले असोज मशान्तसम्म थप १ करोड २ लाख खोप प्राप्त हुने बताए ।

त्यस्तै माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप आउने पनि उनले बताए । ‘ माघसम्म आपूर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ’ राज्यमन्त्री श्रेष्ठले भने ।

अहिले दैनिक १ लाख ५० हजारदेखि २ लाख जनासम्मलाई खोप दिएको उनले बताए । ‘वर्तमान सरकारले खोपलाई अभियानको रुपमा प्रत्येक दिन १ लाख पचासहजार देखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्त सम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ’ राज्यमन्त्री श्रेष्ठले भने ।

विगत एक हप्ताको आँकडा हेर्दा कोरोना संक्रमण बढेको भन्दै उनले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गरे । अहिले ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको भन्दै राज्यमन्त्री श्रेष्ठले आगामी पाँच महिनामा थप १ लाख ९३ हजार जना संक्रमित हुन सक्ने अनुमान रहेको सुनाए ।

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न विद्यार्थीलाई खोप लगाउने तयारी भइरहेको पनि उनले बताए । ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडि बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहन्छु’ राज्यमन्त्री श्रेष्ठले भने ।

उनले खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पूरा गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment