+
+

कोभिड-१९ नियन्त्रण तथा रोकथाम : किन गर्नुपर्छ सेरोप्रिभेलेन्स अध्ययन ?

कमल रानाभाट कमल रानाभाट
२०७८ साउन २८ गते १९:३७

कोभिड-१९ गराउने भाइरसको संक्रमणपछि सामान्यतया हाम्रो शरीरको सुरक्षा प्रणालीले प्रतिक्रिया स्वरूप भाइरस विरुद्ध एन्टिबडीको निर्माण गर्दछ । कोभिड-१९ संक्रमणको अवस्था देशको विभिन्न भौगोलिक क्षेत्र, समुदायस्तरमा तथा विभिन्न उमेर समूहमा के कस्तो अवस्थामा छ भनेर निर्क्यौल गर्न एन्टिबडी टेस्टको आधारमा वैज्ञानिक तवरले गरिने अध्ययन नै सेरोप्रिभेलेन्स अध्ययन हो ।

देशमा कोभिड-१९ संक्रमणको अवस्था अध्ययनको आधारमा प्राप्त तथ्यको विश्लेषण गर्दा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका रणनीतिहरु तय गर्न सरकारलाई वैज्ञानिक आधार प्राप्त हुन्छ । मानौं कुनै विशेष भौगोलिक क्षेत्र या समुदायका व्यक्तिहरुमा सेरोप्रिभेलेन्स दर न्यून छ भने रफ्तारमा सरकारले उक्त क्षेत्रमा कोभिड-१९ रोकथामका उपायहरु अवलम्बन गर्नुपर्दछ ।

नेपालमा पहिलो पटक गरिएको सेरोप्रिभेलेन्स सर्भेको नतिजा अनुसार कुल जनसंख्याको औसत १३ प्रतिशत जनसंख्यामा कोभिड-१९ भाइरसको संक्रमण भइसकेको पुष्टि भएको थियो । यद्यपि देशव्यापी प्रतिनिधित्व गर्ने पर्याप्त नमूनाको आधारमा अध्ययन नभएको हुँदा देशभरिको जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने पर्याप्त नमूना संकलनको आधारमा दोस्रो राष्ट्रिय सेरोप्रिभेलेन्स सर्भे भइरहेको छ । महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्ण पौडेलका अनुसार दोस्रो राष्ट्रिय सेरोप्रिभेलेन्स सर्भेमा देशभरिका ७६ जिल्लाहरुबाट नमूना संकलन गरिएको छ । कुल १३ हजार ५०० नमूनामध्ये ९० प्रतिशतको नमूना संकलन भइसकेको छ भने करीब ७० प्रतिशत नमूनाको प्रयोगशालामा परीक्षण भइसकेको छ ।

कमल रानाभाट
कुल जनसंख्यामा जति धेरै एन्टिबडीको लेभल देखिन्छ सोही अनुपातमा कोभिड-१९ विरुद्ध सुरक्षाको तह बढ्दै जान्छ । हाम्रो शरीरमा कोभिड-१९ विरुद्ध एन्टिबडीको निर्माण हुँदैमा कोभिड-१९ बाट पूरै सुरक्षित हुन्छ भन्ने हुँदैन यद्यपि गम्भीर हुनबाट जोगिने सम्भावना भने उच्च रहन्छ ।

सेरोप्रिभेलेन्सको प्राविधिक पक्ष

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कोभिड-१९ को संक्रमण पश्चात् देखिएको एन्टिबडी शरीरमा कम्तीमा ६-८ महीनासम्म रहने बताएको छ । विश्व प्रसिद्ध जर्नल द ल्यान्सेटको नयाँ अध्ययन अनुसार निश्चित समयको अन्तरालमा कोभिड-१९ खोपको माध्यमबाट शरीरमा बनेको एन्टिबडीको लेभल घट्दै जाने अहम् तथ्यको उजागर गरेको हुँदा सेरोप्रिभेलेन्स सर्भे निश्चित समयको अन्तरालमा गर्नुपर्ने आवश्यकतालाई थप जोड दिएको छ । भारतमा गरिएको सेरो सर्भे अनुसार पहिलो सेरोप्रिभेलेन्स ०.७ प्रतिशत,  दोस्रो ७.१ प्रतिशत तथा तेस्रो २४.१ प्रतिशत र चौथो ६७ प्रतिशत रहेको भेटियो । त्यसैले सेरो सर्भे निश्चित समयको अन्तरमा गर्नुपर्ने तथ्यलाई थप उजागर गरेको छ ।

नेपालमा भएको पहिलो सेरोप्रिभेलेन्स अध्ययन कोभिड-१९ को दोस्रो लहर अगावै गरिएको थियो । अहिले नेपालमा कोभिडको दोस्रो लहर सकिएर तेस्रो लहरको शुरुआती अवस्थामा रहेको छ । अत: दोस्रो लहर पछि गरिएको सेरोप्रिभेलेन्स अध्ययनको नतिजा कोरोनाको तेस्रो लहरको रोकथाम तथा कोभिड-१९ मा स्रोत र साधनको उचित परिचालन गर्न, योजना बनाउन तथा नीति तय गर्नको लागि अत्यन्त महत्वपूर्ण देखिन्छ । विशेषगरी घना बस्ती तथा जनघनत्व धेरै भएको शहरी क्षेत्रहरूमा सेरोप्रिभेलेन्सको अध्ययन अत्यन्त आवश्यक देखिछ ।

कुल जनसंख्यामा जति धेरै एन्टिबडीको लेभल देखिन्छ सोही अनुपातमा कोभिड-१९ विरुद्ध सुरक्षाको तह बढ्दै जान्छ । हाम्रो शरीरमा कोभिड-१९ विरुद्ध एन्टिबडीको निर्माण हुँदैमा कोभिड-१९ बाट पूरै सुरक्षित हुन्छ भन्ने हुँदैन यद्यपि गम्भीर हुनबाट जोगिने सम्भावना भने उच्च रहन्छ । पहिलो पटक सन् २०१९ मा देखिएको कोभिड-१९ भाइरसलाई नियन्त्रण गर्न कुल जनसंख्याको ६०-७० प्रतिशत नागरिकले कोभिड-१९ को खोप लगाएमा या प्राकृतिक संक्रमण पश्चात् एन्टिबडी उत्पन्न भएमा हर्ड इम्युनिटी (सामूहिक सुरक्षाकवच) प्राप्त हुने वैज्ञानिकहरूले बताएका थिए ।

अहिले विश्वमा अधिकांश नयाँ संक्रमण डेल्टा भेरिएन्टले गराएको छ । साथै, डेल्टा भेरिएन्टको संक्रमण दर चीनको वुहानमा देखिएको भाइरसभन्दा दोब्बर भएको हुँदा हर्ड इम्युनिटी प्राप्त गर्न कुल जनसंख्याको ८५ प्रतिशत व्यक्तिहरूमा एन्टिबडी उत्पन्न हुन जरूरी रहेको वैज्ञानिकहरूले आकलन गरेका छन् । हाम्रो शरीरमा कोभिड-१९ विरुद्ध एन्टिबडी कोभिड-१९ को प्राकृतिक संक्रमणबाट या कोभिड-१९ खोपको माध्यमबाट पैदा हुन सक्दछ । सेरोप्रिभेलेन्स अध्ययनले कुल जनसंख्याको कति हिस्सामा एन्टिबडीको निर्माण भएको छ भन्ने तथ्य उजागर गर्दछ । यद्यपि उक्त एन्टिबडी कोरोनाभाइरस विरुद्ध लड्न कत्तिको प्रभावकारी छ या छैन भनेर ठोस मापन गर्न सक्दैन ।

सेरोप्रिभेलेन्स अध्ययनको व्यावहारिक पक्ष

छिमेकी राष्ट्र भारतमा अहिलेसम्म चौथोपटक राष्ट्रिय सेरोप्रिभेलेन्सको अध्ययन भइसकेको छ । चौथो सेरो सर्भे अनुसार ६७ प्रतिशत भारतीय नागरिकमा कोभिड-१९ भाइरसको संक्रमण भइसकेको अध्ययनको नतिजाले बताएको छ । यस तथ्यांकलाई आधार मान्दै कोभिडको अन्य नयाँ भेरिएन्टहरू नदेखिएको खण्डमा कोभिड-१९ को तेस्रो लहर भर्खर आएको दोस्रो लहर जस्तो घातक नहुने भारतका वैज्ञानिकहरूले बताएका छन् । साथै, सेरो पोजिटिभ दर ६-१७ वर्ष उमेर समूहमा करीब ६० प्रतिशत रहेको छ । अध्ययनको नतिजा अनुसार त्यहाँका बालबालिकामा तेस्रो लहरको असर सोसल मिडियामा दाबी गरे जस्तो घातक नहुने सेरोप्रिभेलेन्सको नतिजाले स्पष्ट देखाएको छ । त्यस्तै, भारतका वैज्ञानिकहरूले बालबालिकामा देखिएको सेरोप्रिभेलेन्सको नतिजा अनुसार जनस्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय र कलेज खोल्न सकिने सुझाव पेश गरेका छन् ।

नेपालको विभिन्न सोसल मिडिया, पत्रपत्रिकाहरूमा विभिन्न विज्ञहरूले तेस्रो लहर बालबालिकाको लागि घातक हुने भनेर भन्दै आएका छन् । केही विज्ञ समूहले सरकारलाई तेस्रो लहरबाट बालबालिकालाई जोगाउन लिखित सुझाव समेत पेश गरिसकेका छन् । साथै विद्यालय तथा कलेज खोल्ने या नखोल्नेबारे निर्णय लिन सरकारसामु कुनै वैज्ञानिक आधार या तथ्य उपलब्ध छैन । यस परिस्थितिमा दोस्रो राष्ट्रिय सेरोप्रिभेलेन्सको अध्ययनबाट आएको नतिजा सरकारलाई आगामी दिनमा कोभिड-१९ को तेस्रो लहर विरुद्ध थप रणनीति तय गर्न तथा कुनै निश्चित स्थानका नागरिकहरूमा कोभिड-१९ को विशेष सचेतना कार्यक्रम सञ्चालन गर्न, तत्काल विद्यालय खोल्ने या नखोल्ने बारे निर्णय लिन महत्वपूर्ण आधार प्राप्त हुनेछ ।

(रानाभाट नेपाल पब्लिक हेल्थ एसोसिएसनका केन्द्रीय सदस्य हुन् ।)

लेखकको बारेमा
कमल रानाभाट

कमल रानाभाट डब्ल्यूएचओका रिसर्च फेलो एवम् जनस्वास्थ्य अनुसन्धानविज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?