Comments Add Comment

अब अफगानिस्तानको सत्ता कसले सम्हाल्ला ?

तालिबानी नेता हिब्तुल्लाह अखुन्दजादा (बायाँ) र मुल्ला अब्दुल गनी बरादर

३२ साउन, काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएपछि अब सत्ता कसले सम्हाल्ला भन्ने चासो छ । अफगानिस्तान सरकारको नेतृत्व गर्ने भनेर हाल तालिबानका दुई नेताको नाम बढी चर्चामा छ । उनीहरु हुन् मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।

मुल्ला अब्दुल गनी बरादर तालिबानको संस्थापक नेता हुन् । सन् १९९४ मा तालिबान गठन भएपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका खेलेका थिए ।

सन् २००१ मा जब अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरी तालिबानलाई सत्ताबाट हटाइयो, त्यतिबेला नेटो सैन्य बलविरुद्ध विद्रोहको नेतृत्व यिनैले गरेका थिए । सत्ताबाट हट्ने बेलामा उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए ।

सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको एक संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए । सन् २०१२ सम्म मुल्ला बरादरबारे धेरै जानकारी थिएन । अफगानिस्तान सरकारसँग शान्ति वार्ताको कुरा चल्दा तालिबानको बन्दी रिहाइको सूचीमा बरादरको नाम नै प्राथमिकतामा पर्थ्यो ।

सेप्टेम्बर २०१३ मा पाकिस्तान सरकारले उनलाई रिहा गर्यो । रिहा भएपछि उनी पाकिस्तानमै रहे या त्यहाँबाट अन्त गए भन्ने स्पष्ट हुन सकेन ।

मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरको सबैभन्दा विश्वासपात्र सिपाही थिए । पक्राउ पर्ने बेला उनी तालिबानको दोस्रो ठूलो नेता थिए । अफगानिस्तान प्रशासनका वरिष्ठ अधिकारीहरुलाई सधैं लाग्थ्यो बरादर जत्तिको वरिष्ठ नेताले तालिबानलाई शान्ति वार्ताका लागि मनाउन सक्छन् ।

सन् २०१८ मा जब कतारमा अमेरिकासँग वार्ताको ढोका खुल्यो तब उनी तालिबानको पार्टी प्रमुख बने । उनले सधैं अमेरिकासँग वार्ताको समर्थन गर्दथे ।

मुल्ला उमर जिउँदो रहँदासम्म उनले तालिबानको लागि फण्ड जुटाउने र दैनिक गतिविधिको नेतृत्व गरे । उनले अफगानिस्तानको सबै युद्धमा तालिबानको तर्फबाट अहम् भूमिका निभाए । खासगरी हेरात र काबुल क्षेत्रमा उनी सक्रिय रहे ।

उनी पक्राउ परेपछि अफगानिस्तानका एक अधिकारीले बीबीसीसँग भनेका थिए, ‘बरादरकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिबानको सबै खर्चको हिसाब उनैले राख्दथे । उनले अफगान सुरक्षा बलविरुद्ध सबैभन्दा खतरनाक आक्रमणको नेतृत्व गर्दथे ।’

तालिबानका अन्य नेताहरुलाई जस्तै बरादरलाई पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा गर्न र हतियार खरिद गर्न रोक लगाइएको थियो ।

सन् २०१० मा पक्राउ पर्नुभन्दा अगाडि उनले न्यूजविक पत्रिकालाई दिएको अभिव्यक्ति चर्चित थियो । अफगानिस्तानमा अमेरिकाको बढ्दो उपस्थितिबारे उनले भनेका थिए– तालिबानले अमेरिकालाई धेरैभन्दा धेरै क्षति पुर्‍याउन चाहन्छ । जबसम्म हाम्रो भूमिबाट दुश्मनहरु समाप्त हुँदैन, तबसम्म हाम्रो विद्रोह जारी रहन्छ ।’

इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्लाको विटमाक गाउँमा सन् १९६८ मा भएको थियो । उनको सम्बन्ध दुर्रानी कबिलेसँग छ । पूर्वराष्ट्रपति हामिद कारजाई भन दुर्रानीबाटै हुन् ।

हिब्तुल्लाह अखुन्दजादा

तालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । भनिन्छ उनैले तालिबानको दिशा बदले र तालिबानलाई अहिलेको अवस्थामा पुर्याए ।

उनी अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारका हुन् । कान्दाहार तालिबानको गढ मानिन्छ । उनकै कारण कान्दाहारमा तालिबानले पकड जमाउन सकेको बताइन्छ ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनी सैन्य कमाण्डरको रुपमा भन्दा एक धार्मिक विद्वानको रुपमा चिनिन्छन् ।

उनी अफगान तालिबानको प्रमुख बन्नुभन्दा पहिलेदेखि नै तालिबानका शीर्ष नेताको रुपमा चर्चित थिए । धर्मसँग सम्बन्धित आदेश उनैले जारी गर्दथे । अपराधका दोषी र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या तथा चोरी गर्नेहरुको हात काटिदिने आदेश उनैले दिन्थे ।

हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए । मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।

भनिन्छ पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेटवार्ता जुन तालिबान शीर्ष नेतासँग भयो, उनैले नै हिब्तुल्लाहलाई तालिबानको प्रमुख बनाएका थिए । ‘हिब्तुल्लाह’को अर्थ हो ‘भगवानबाट प्राप्त पुरस्कार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment