Comments Add Comment

विद्यार्थी आन्दोलनले उद्वेलन पैदा गर्न सक्यो ?

परिदृश्य एक

२०६५ चैत २३ गते स्ववियु सभापति चुनिएपछि काठमाडौं इन्जिनियरिङ कलेजको प्रांगणमा उभिएर मैले भनेको थिएँ– ‘हाम्रो आन्दोलनको एजेण्डा एउटा बास्केटबल कोर्ट बनाउने होइन, एउटा जीम सेन्टर बनाउने होइन । हाम्रो आन्दोलनको एजेण्डा शिक्षामा आमूल परिवर्तनको हो । शैक्षिक माफियाले चलाउँदै गरेको लुटतन्त्रका विरुद्ध हो । पिठ्युँमा बालुवा–इँटाको भारी बोक्ने र छातीमा नानी च्यापेर तिनको भविष्यका लागि तर्–तर् पसिना चुहाउँदै काम गरिरहेकी एउटी श्रमिक आमाको अवस्था परिवर्तन तथा तिनै नानीहरुको शिक्षा–स्वास्थ्यमा समान हकको ग्यारेन्टी नहुँदासम्म अनवरत संघर्ष गरिरहने हाम्रो अठोट हो ।’

परिदृश्य दुई

२०७८ साउन २४ गते संयुक्त विद्यार्थी संगठनका तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई विज्ञप्ति बुझाइयो । विज्ञप्तिमा लेखिएको छ- ‘देशभरका विद्यार्थीलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको छ । परीक्षा दिने विद्यार्थीलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसूस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन । देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न जोडदार माग गर्दछौं ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिसम्म आइपुग्दा यी १३ वर्षमा स्वयम् म आवद्ध संगठनको आन्दोलन शिक्षामा ‘आमूल परिवर्तनका एजेण्डा’बाट शिक्षा क्षेत्रका व्यापारी भनेर प्रतिष्ठित व्यक्तिलाई ज्ञापनपत्र बुझाउने रोटेपीङ हुन पुगेको छ । यो त्यस्तो मुकाम हो, जसले विद्यार्थी संगठनहरुलाई मात्र होइन स्वयं विद्यार्थीप्रति अट्टहास गरिरहेको छ । संयोग नै भन्नुपर्छ त्यतिबेला पनि इन्जिनियरिङ क्षेत्रमा भएको शुल्कवृद्धि विरुद्ध आन्दोलन चलिरहेको थियो र आजका दिनमा पनि त्रिविका करीब आधा दर्जन इन्जिरियरिङ क्याम्पसका गेटहरुमा आन्दोलन चलिरहेको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई विज्ञप्ति बुझाउने विषयमा विद्यार्थी संगठनबीच छलफल हुँदै गर्दा अखिल छैटौंका अध्यक्ष पोखरेलले भनेको सम्झन्छु, ‘विद्यार्थी आन्दोलनले शैक्षिक माफिया करार गरेर जसका विरुद्ध संघर्ष गरेको थियो, आज तिनैलाई विद्यार्थीका एजेण्डा पूरा गरिदिनु पर्‍यो भनेर बिन्तीभाउ बिसाउँदै, उनको समय पाएकोमा खुशी मनाउँदै एउटा विज्ञप्ति बुझाउनुले हामीलाई कहाँ पुर्‍याउला ?’ पोखरेलको प्रश्न त्यहाँ उपस्थित आफ्ना चार समकक्षी अध्यक्षतर्फ मात्र लक्षित थिएन । वास्तवमा उनले यो प्रश्न समग्र विद्यार्थी आन्दोलनमाथि उठाएका थिए ।

हिजो जुन एजेण्डा र मुद्दाका लागि विद्यार्थी आन्दोलन संगठित गरिएको थियो, आज त्यो एजेण्डा र मुद्दाको राजमार्ग हामीले छाडिसकेका छौं । बहुदल, लोकतन्त्र, गणतन्त्रका लागि विद्यार्थी आन्दोलित थिए भनिए पनि मूलतः त्यो शैक्षिक एजेण्डासँग गाँसिएको थियो । तर, आजको विद्यार्थी आन्दोलन शैक्षिक एजेण्डाका लागि हो भनियो भने सामान्य विद्यार्थीले पनि ठट्टा ठान्छ । विद्यार्थी संगठनमाथि गरिने यस्ता व्यंग्य उसले स्वयं आमन्त्रित गरेको हो । शान्ति प्रक्रियाका १५ वर्षयता हामीले शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि कुनै आन्दोलन संगठित गर्न सकेनौं मात्र होइन कि हामीले त्यसको कुनै पहल पनि गर्न सकेनौं । अनि विद्यार्थी आन्दोलनको गरिमा कायम रहन्छ ?

आजको विद्यार्थी आन्दोलनले समाजका कुनै पनि ज्वलन्त विषयमा बहस निम्त्याउन सकेको छैन । पछिल्लो पटक संसद विघटनको मुद्दामा सडक तताएर खरो उत्रिएको विद्यार्थी आन्दोलन मुलुकका अधिकांश कलेज दशक अघिदेखि स्ववियू अभ्यासबाट बञ्चित रही आफ्नै मिनी संसद अपहरणमा परेको गम्भीर विषयबाट बेखबर छ । बहसको कुन पक्षमा आफूलाई उभ्याउने भन्ने त धेरै परको विषय भयो । गरिमा गुमाएको आन्दोनल र नुर गिरेको नेतृत्वले गर्ने भनेकै गफ हो, बहस होइन ।

गरिमा गुमाएकै आन्दोलनको परिणाम भन्नुपर्छ समाजको सानो भन्दा सानो इकाइले पनि विद्यार्थी आन्दोलनका नेतामा आफ्नो भावी राजनीतिज्ञको अनुहार देख्दैन । यो परिस्थिति पक्कै पनि यसै निर्माण भएको होइन । जब झण्डै ८५ लाख विद्यार्थीको नेतृत्व गर्ने आन्दोलनले भावी नेता जन्माउन सक्दैन, तब तपाईंले सहजै विद्यार्थी आन्दोलनको अवस्थाबारे बुझ्न सक्नु हुन्छ ।

शैक्षिक एजेण्डाको बहसलाई बिट मारेर मन्त्रालयमा तर मार्न अथवा आफ्नो जीविकालाई महत्वपूर्ण ठान्दै अघि बढेको विद्यार्थी नेतामा समाजले आफ्नो भावी राजनीतिज्ञको अनुहार कस्तो देख्ला रु आजका दिनमा पनि तमाम विद्यार्थी संगठनमा उनका केन्द्रीय अध्यक्षपछिको नेतृत्वमा को(को छन् भनेर सम्झन खोजियो भने पनि नाम सम्झन गाह्रो पर्छ । यो नै विद्यार्थी आन्दोलनको वास्तविक दुःखको भारी हो । जुन हामी विद्यार्थीले र हाम्रो पार्टीका नेतृत्वहरुले छिट्टै बिसाउनुपर्नेछ । यो दुःखको भारी बोकेर हामी न त विद्यार्थीका शैक्षिक एजेण्डामा बोल्न सक्छौं न समाजका ज्वलन्त मुद्दामा प्रखर हुन सक्छौं । बोल्न नसक्ने नेतृत्वबाट हामीले कस्तो परिवर्तनको अपेक्षा गर्ने हो ?

‘फलानोलाई भर्ना गरिदिनुस्’ भन्ने शब्दको बोझले हामीलाई कतिसम्म थिचेको छ भने हामी शुल्क वृद्धिका बारेमा बोल्न सक्दैनौं, कुनै कमिटीका विद्यार्थीले बोलिहालेमा हामी त्यसमा सहमति खोज्न हतारिन्छौं । त्यसैले त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले विद्यार्थी आन्दोलनलाई आफ्नो भरोसाको आन्दोलन ठान्दैन । बरु उ त्यस मुद्दामा नागरिक आन्दोलन र गोविन्द केसीले बोलिदिउन् भन्ने ठान्छ । जबकि यस विषयमा संयुक्त विद्यार्थी आन्दोलनले आफूलाई प्रखर रुपमा उभ्याउँदै उपकुलपति सहित पदाधिकारीको राजीनामाको माग गरिसकेको छ । के यो हाम्रा लागि सडकबाट गरिएको प्रश्न होइन रु यसको जवाफ समग्र विद्यार्थी आन्दोलनले दिनुपर्छ ।

माथि भने झैं विद्यार्थी आन्दोलनले गरिमा गुमाएकै कारण यसले आफ्नो नेतृत्व जन्माउन समेत हम्मे–हम्मे परेको छ । कर्मचारी पैदा गर्ने साँचोबाट मृत सपनाका मलामी पैदा गर्न सकिन्छ आन्दोलनका भावी नेता पैदा गर्न सकिंदैन । समग्रमा आन्दोलन पैदा गर्न सकिंदैन । आन्दोलन भनेको सडकमा उफ्रिने, मूल गेटमा ताल्चा लगाउने र नारा भट्टयाउने मात्र होइन । आन्दोलन भनेको भावी पुस्ताको, आम जनताको मनमा उद्वेलन पैदा गर्ने हो । समाजका जकडिएका मुद्दा हल गर्न प्रगतिशील बाटो समाउनु हो । तर, के आजको विद्यार्थी आन्दोलनले आम मानिसका मनमा र विद्यार्थीको मनमा उद्वेलन पैदा गर्न सकेको छ ?

यस्ता अनेकौं प्रश्नको जवाफ नदिइकन विद्यार्थी आन्दोलनले भावी नेतृत्वको बीउ रोप्न सक्दैन । भावी नेतृत्वको बीउ राजनीतिक संगठनबाट नरोपिने हो भने टिभी शोबाट छानिने नेताले हाम्रो भविष्यको जोखना हेर्नेछ र हाम्रो संघर्ष, बलिदान, त्याग र सपनाको घाँटी निमोठ्दै बडो ठट्टापूर्वक दक्षिणपन्थी बाटोमा हामीलाई हिंडाउने निश्चित छ । त्यसको एउटा सानो झल्को रवीन्द्र मिश्रले दिइसकेका छन् ।

फ्रान्सेली साहित्यकार माइकल अल्थसुलरको भनाइ यतिबेला सान्दर्भिक हुन आउँछ– ‘बख्तरबन्द ट्याङक सहितको सैन्य हमलालाई रोक्न सम्भव छ, तर जुन विचारको समय आइसकेको छ त्यसलाई रोक्न कदापि सम्भव छैन ।’

(मैनाली अखिल (क्रान्तिकारी)का प्रवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment