+
+
आईएमई समूहको रणनीति :

स्थानीय व्यवसायीसँगको साझेदारीमा सबै जिल्लामा उद्योग-व्यवसाय

सेवा क्षेत्रसँगै उत्पादनमूलक उद्योगमा पनि प्रवेश

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ १६ गते ९:२१

१६ भदौ, काठमाडौं । सेवामूलक क्षेत्रमा निकै ठूलो लगानी रहेको नेपालकै सफल र प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनेको आईएमई समूहले उत्पादनमूलक उद्योगमा लगानी विस्तार गरेको छ । शुरुआतमा यो समूहले नेपालकै ठूलो नेपाल पल्स एण्ड पेपर उद्योगमा लगानी गरेको छ ।

उद्योगमा स्थानीय उद्योगी केके सर्राफ समेतको लगानी रहने गरी आईएमई समूहले लगानी गरेको छ । अहिले नेपालमै कागज उत्पादन हुने भए पनि ‘फाइन पेपर’, फोटोकपी पेपर लगायतका -पि्रन्ट योग्य) कागजहरू भने अन्य मुलुकबाट आयात हुने गरेको छ ।

यहाँ उत्पादन भएका कागजहरू पनि अन्य मुलुकमा निर्यात हुने गरेको छ । तर फाइन पेपर भने बाहिरैबाट आयात हुन्छ । अब यो उद्योगले फाइन पेपर नै स्वदेशमै उत्पादन गर्ने आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । यसले कागज आयात घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

उद्योगले आगामी एक वर्षभित्रै उत्पादन शुरु गर्ने योजनाका साथ काम भइरहेको छ । उद्योगको उत्पादन क्षमता दैनिक ७० टन हो । एक वर्षभित्र दैनिक १५० टन फाइन पेपर उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ ।

म्यानुफ्याक्चरिङमा पेपर उद्योग बाहेकका क्षेत्रमा समेत आईएमईले लगानी गर्ने योजना बनाएको छ । शुरूमा पेपर उद्योग त्यसपछि विभिन्न उत्पादनमूलक उद्योगहरूमा लगानी गर्ने र यसका लागि अहिले अध्ययन भइरहेको अध्यक्ष ढकालले बताए ।

सेवा क्षेत्रमा जमाएको पकड

आईएमई समूह सेवा क्षेत्रमा अत्यन्त सफल व्यावसायिक समूह हो । यो समूहको आधा दर्जन बढी क्षेत्रका झण्डै दुई दर्जन कम्पनीहरूमा लगानी रहेको छ । कम्पनीको निकै राम्रो र बलियो उपस्थिति रहेको क्षेत्र वित्तीय हो । वित्तीय क्षेत्रमा आईएमई समूहको लगानीमा ग्लोबल आईएमई बैंक, आईएमई रेमिट्यान्स, आईएमई जनरल इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लगायत विभिन्न संस्था सञ्चालनमा रहेका छन् ।

ऊर्जा क्षेत्रतर्फ यस समूहको लगानीमा हिमालय पावर पार्टनर र माउन्टेन इनर्जी लगायत सञ्चालनमा रहेका छन् भने सत्कारतर्फ चन्द्रागिरि हिल्स, आईएमई ट्राभल्स लगायतमा लगानी गरेको छ ।

प्रविधितर्फ डिसहोम, स्विफ्ट टेक्नोलोजिज्, मिडास टेक्नोलोजिज्, आईएमई पे लगायतका कम्पनीहरूमा यसको लगानी रहेको छ भने अटोमोबाइल, रिटेल, इन्फोटेनमेन्ट तथा लजिष्टिक क्षेत्रमा समेत लगानी रहेको यो समूह देशका कुना कन्दरासम्म समेत परिचित ब्राण्ड हो ।

आईएमईको सेवा देशभर पुगिसकेको छ भने गाउँका भीरपाखा र कुनामा रहेका घरका छानाहरूमा समेत यस समूहको लगानी रहेको डिसहोमका छाताहरू भेटिन्छन् ।

नेपालमा यति धेरै परिचित ब्राण्ड यस समूहले केवलकार क्षेत्रमा पनि निकै ठूलो लगानी गरिरहेको छ । काठमाडौंको चन्द्रागिरिमा मात्रै नभएर नवलपरासीको मौलाकालिका, बुटवलदेखि पाल्पाको बसन्तपुर, कर्णालीको चिसापानीमा समेत यस समूहको केवलकार योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

आईएमई समूहका तीन रणनीति

कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा निकै ठूलो असर पर्‍यो । नेपाल पनि यो समस्याबाट अछुतो रहन सक्ने कुरा भएन । कोरोनाले थिलथिलो परेको अर्थतन्त्रलाई उकास्न आईएमई समूहले अहिले मूलतः तीन वटा रणनीतिक योजना अघि सारेको छ ।

समूहका अध्यक्ष ढकालका अनुसार सेवा क्षेत्रबाट ‘म्यानुफ्याक्चरिङ’ क्षेत्रमा लगानी गर्ने एउटा रणनीति हो । यो योजना अनुसार महोत्तरीको गौशालामा स्थानीय उद्योगीहरूसँगको साझेदारीमा पेपर उद्योगमा लगानी शुरु गरिएको हो ।

करीब डेढ अर्ब रुपैयाँ लगानीमा सञ्चालन हुने उक्त उद्योगको एक महीना अघि मात्र शिलान्यास गरिएको थियो । उक्त उद्योगले शुरुमा दैनिक ७० टन फाइन पेपर उत्पादन गर्ने र २०० जना भन्दा बढीलाई रोजगारी दिनेछ ।

त्यसैगरी, यो समूहले देशैभरका स्थानीय उद्योगी व्यवसायहरूसँग सहकार्य गरेर जिल्लामा आफ्नो कुनै न कुनै उद्योग व्यवसाय शुरु गर्ने रणनीति बनाएको छ ।

यसका लागि कुनै एक स्पेसिफिक क्षेत्र भने समूहले तोक्ने छैन । उत्पादनमूलक उद्योग, पर्यटन वा अन्य सेवा क्षेत्रहरू हुन् ! जिल्ला जिल्लामा लगानी गर्ने समूहले योजना बनाएको छ । यसको मुख्य उद्देश्य भनेको स्थानीय सम्भावनालाई जोडेर स्थानीयलाई नै उद्यमशील बनाउने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने हो ।

अध्यक्ष ढकाल भन्छन्, ‘हामी अब जुन क्षेत्रमा लगानी गर्छौं, त्यो क्षेत्रले राज्यलाई केही देओस्, स्थानीय व्यवसायीलाई पनि व्यवसायमा जोड्न सकियोस् र उद्यमशील वा रोजगार बन्ने अवसर पाउनुहोस् भन्ने हाम्रो चाहना छ ।’

तेस्रो भनेको, कोरोना महामारीपछि व्यवसाय विस्तार गर्न चाहने जुनसुकै क्षेत्रसँग पनि सहकार्य गर्ने हो । मानौं, कुनै व्यवसायीले आफ्नो व्यवसाय थप विस्तार गर्ने सोच बनाउनुभएको छ । तर त्यहाँ लगानी लगायतका अन्य समस्याले गर्दा त्यो योजना अगाडि बढ्न सकेको छैन भने उहाँहरूसँग साझेदारीका लागि आईएमई समूह तयार रहेको अध्यक्ष ढकाल बताउँछन् ।

‘कुनै उद्योग व्यवसायमा समस्या छ वा क्षमता थप विस्तार गर्न लगानी आवश्यक पर्छ, हो त्यस्ता साझेदार खोजिरहेका कोही हुनुहुन्छ भने हामी उहाँहरूसँग सहकार्य गर्नेछौं’ अध्यक्ष ढकालले भने । यसका लागि कुनै उद्योग, होटल, रिसोर्ट, प्रविधि लगायतका जुनसुकै क्षेत्र पनि हुनसक्ने उनले बताए । विदेशी प्रविधि तथा लगानी भित्र्याउन सकिने ठाउँहरू समेत यो समूहले हेरिरहेको छ । यस्तो कुनै क्षेत्र भेटिए त्यसका लागि पनि आफूहरूले लगानी गर्ने उनले बताए ।

म्यानुफ्याक्चरिङमा जानुको कारण

सेवामूलक क्षेत्रमा निकै राम्रो सफलता हासिल गरेको आईएमई ग्रुप उत्पादनमूलक क्षेत्रमा चाहिं किन जान खोज्दैछ त ? यस विषयमा हामीले अध्यक्ष ढकालसँग जिज्ञासा राख्यौं । मुलुकभित्रै रोजगारी सिर्जना, उद्यमशीलता विकास र राज्यको नीतिलाई समेत सघाउ पुर्‍याउने गरी आफूहरूले यो क्षेत्रमा पनि लगानी शुरू गरेको उनको भनाइ छ ।
मुलुकको व्यापार घाटा बढ्दो क्रममा छ । नेपालबाट अन्य मुलुकहरूमा निर्यात हुने वस्तु तथा सेवा आयातको तुलनामा अत्यन्तै न्यून रहेको छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने पनि आयात र निर्यातबीचकोे खाडल ठूलो रहेको छ ।

कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो घाटा १६.८ प्रतिशत बढेको थियो । गत आर्थिक वर्षमा निर्यात-आयात अनुपात ९ः२ छ, जुन आर्थिक वर्ष २०७६/७७ मा ८ः२ थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

नेपालबाट भारतमा ५१.७ प्रतिशत, अन्य मुलुकमा २७.७ प्रतिशत र चीनमा १४.७ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ । बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि राज्यले निर्यातजन्य उद्योग प्रवर्द्धन गर्ने नीति लिएको छ । राज्यको यो नीतिको सहयोगका लागि पनि आफूहरूले उत्पादनमूलक क्षेत्रमा लगानी शुरू गरिएको र अब अन्य उद्योगहरूमा पनि विस्तारै लगानी गर्दै जाने ढकालले बताए ।

‘नेपाल सरकारको प्राथमिकता अनुसार ठूलो जनसंख्यालाई प्रत्यक्ष सुविधा पुग्ने क्षेत्रमा हामीले लगानी विस्तार गर्नेछौं, अध्यक्ष ढकालले भने ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?