+
+

काबुलकी मेकअप आर्टिस्टको डर : तालिबानले म जस्ता महिलालाई निशाना बनाइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १८:३०

काठमाडौं । तालिबानले नियन्त्रण लिएसँगै अफगानिस्तानको राजधानी काबुलमा ब्युटी पार्लर अगाडि विज्ञापन गर्न राखिएको ब्राइडल भेषमा सजिएका महिलाको तस्वीर रङ्ग लगाएर बिगारिएको छ । सहरका सैलुन बन्द छ । केही व्यवसाय छिटै पूर्णरुपमा सुचारु हुनेमा आशावादी देखिएपनि धेरैमा भने भविष्यको विषयलाई लिएर चिन्ता बढ्दो क्रममा छ ।

अफसून (परिवर्तित नाम) एक मेक अप अर्टिस्ट हुन् । उनी अहिले तालिबानसँग लुकिरहेकी छिन् । उनले अफगानी महिलाको लागि सौन्दर्य उद्योगको महत्व कति थियो भन्ने बताएकी छिन् ।

दारी भाषाको ‘टकान खोर्डुम’ लाई अन्य भाषामा अनुवाद गर्दा वास्तविक अर्थ आउँदैन । यो शब्दको सामान्य अर्थ जीवनको ठूलो घटना, जसले तपाईंलाई ठूलो धक्का पुग्छ । तपाईंको जीवन सधैंको लागि परिवर्तन हुन्छ । जस्तो कि सबभन्दा धेरै माया गर्ने मानिसको मृत्यु हुनु ।

अफसूनले अगष्ट १५ मा पहिलोपटक ‘टकान’ को अनुभव गरेकी थिइन् । त्यो दिन बिहान १० बजे उनी बिउँझिन् । उनलाई आफ्नो ब्युटी सैलुनमा काम गर्ने सहकर्मीले फोन गरेका थिए । अफसून सैलुनकै कामले फोन गरेको होला भनेर मख्ख थिइन् ।

‘आज काममा नआउनू’, फोन उठाउने बित्तिकै उनकी सहकर्मीले भनिन्, ‘हामीले यो बन्द गर्दैछौं । अब सबै सकियो ।’

तालिबानहरुले घुम्टो नलगाई महिलालाई हिँड्ने दिने कुनै सम्भावना छैन । उनीहरुको सधैं स्पष्ट विश्वास के छ भने महिलाले कसैलाई पनि आकर्षित गर्नुहुँदैन । यो अफगानिस्तानको सौन्दर्य उद्योगको अवसान हो ।- -अफसून

अफसूनले मोबाइल हेरिन् । उनलाई परिवार र साथीहरुले दर्जनौं म्यासेज पठाएका थिए । सामाजिक सञ्जालमा धेरै पोस्टहरु आएका थिए । उनले सबै हेर्न थालिन् । त्यसपछि उनको जीउ सिरिङ्ग भयो । मनमा चिसो पर्‍यो । उनलाई एकैपटक ठूलो झड्का लाग्यो ।

उनलाई आएका सबै म्यासेज एकै किसिमका थिए । तालिबान अफगानिस्तानको राजधानी सहर काबुल छिरिसकेको छ । विदेशी सेना र कूटनीतिक अधिकारीले अफगानिस्तान छाड्न थालेको छोटो समयमा तालिबानले काबुललाई नियन्त्रणमा लिएको हो ।

‘अब सबै सकियो’, उनी एक्लै बर्बराइन्, अब लुक्नुको विकल्प छैन ।’

अफसून अहिले २५ वर्षको हाराहारीमा छिन् । उनी आफूलाई आधुनिक अफगान महिला भन्न रुचाउँछिन् । उनलाई सामाजिक सञ्जाल चलाउन, फिल्म हेर्न मन पर्छ । कार चलाउन आउँछ र उनी आफ्नो करियरलाई भविष्यमा निरन्तरता दिन चाहन्छिन् ।

अफसून आफ्नो जन्म भएको १९९० को दशकको समय राम्रोसँग सम्झिन सक्दिनन् । जतिबेला अफगानिस्तानमा तालिबानले शासन चलाएको थियो र उसले मुलुकमा ब्युटी सैलुनमा प्रतिबन्ध लगाएको थियो । यद्यपि अफसून यस्तो समाजमा हुर्किइन्, जहाँ ब्युटी पार्लर उनको जीवनको एक भाग बन्न पुगेको थियो । अमेरिकाले तालिबानमाथिको आक्रमण सुरु गरेको दुई दशकमा काबुलमा मात्र दुईसयभन्दा धेरै ब्युटी पार्लर खुलेका छन् । देशका अन्य स्थानमा पनि सयौं ब्युटी पार्लर खुलेका छन् ।

किशोरावस्थामा उनी म्यागाजिन र सामाजिक सञ्जालमा ग्लामर्स लुकको कारण छाउने गरेकी थिइन् र उनी आफ्नो परिवारका अन्य महिलासँग सैलुनमा जान्थिन् । उनलाई त्यतिबेलाको सबै कुरा मन पर्थ्यो । उनलाई ब्युटी पार्लरका अधिकांश कामहरु मन पर्थ्यो ।

उनले सफल मेक अप आर्टिस्ट बन्दै आफ्नो सपना पनि पूरा गरिन् । उनको योभन्दा ठूलो सपना केही थिएन । काबुलका अन्य ब्युटीपार्लरजस्तै अफसूनको ब्युटीपार्लरका झ्यालमा विज्ञापनको लागि ग्लामरस महिलाको तस्वीर भएको पोस्टर राखिएको थियो । यी पोस्टर राख्नुको अर्थ बाहिरका मानिसले भित्रको दृश्य नदेखून् भन्ने हो ।

यस्ता ब्युटी पार्लरमा कहिलेकाहीँ एकैपटक एक दर्जनभन्दा धेरै महिला उपस्थित पनि हुन्थे । यस्ता महिलाहरु विभिन्न पेशामा आबद्ध भएका हुन्थे भने किशोरीहरु पनि आफ्ना आमालाई लिएर ब्युटी पार्लरमा आउँथे । ब्युटी पार्लरको व्यवसाय राम्रो चलिरहेको थियो । विवाह तथा चाडपर्वको समयमा ब्युटी पार्लर निकै व्यस्त हुन्थ्यो । त्यो अवस्थामा मानिसहरुले अप्वाइन्टमेन्ट लिनुपर्ने हुन्थ्यो । ‘मलाई महिलाको माया लाग्छ । म महिलाले स्वतन्त्र र प्रफुल्ल हुन सक्ने स्थान बनाउनका लागि काम गर्न चाहन्थेँ’, अफसून भन्छिन्, ‘हामी पुरुष नभएको स्थानमा स्वतन्त्र भएर बस्न सक्छौं ।’

सौन्दर्य उद्योगमा काम गर्ने महिला विशेषगरी मजस्ता खुला रुपमा देखिने र आम मानिससँग सम्बन्ध भएकाहरु अहिले तालिबानको निसानामा छन्- अफसूनले भनिन् ।

अगष्ट १५ मा तालिबानले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएसँगै अफसूनको वर्षौंको मेहनतको पनि अन्त्य भएको छ । अहिले आफ्नो घर छाडेर अर्को सुरक्षित घरमा सरेकी छिन् । ‘सौन्दर्य उद्योगमा काम गर्ने महिला विशेषगरी मजस्ता खुला रुपमा देखिने र आम मानिससँग सम्बन्ध भएकाहरु अहिले तालिबानको निसानामा छन्’, उनले भनिन् ।

अफसूनलाई उनकी साथीले काममा नआउन भन्दै फोन गरेको केही समयमा उनले काबुलका डराएका बासिन्दाले ब्युटी पार्लरको तस्वीरलाई रङ्गले पोतिदिएको सुनिन् । उनका एक साथीले नै उनको ब्युटी पार्लरको तस्वीरमा रङ्ग पोतिदिएका थिए, जसको उद्देश्य तालिबानको आँखा ब्युटी पार्लरमा नपरोस् र त्यहाँका महिला सुरक्षित होउन् भन्ने थियो ।

‘उनीहरुले घुम्टो नलगाई महिलालाई हिँड्ने दिने कुनै सम्भावना छैन । उनीहरुको सधैं स्पष्ट विश्वास के छ भने महिलाले कसैलाई पनि आकर्षित गर्नुहुँदैन’, अफसून भन्छिन् ।

‘यो अफगानिस्तानको सौन्दर्य उद्योगको अवसान हो ।’

अफसूनसँग मुलुक छाड्न कागजात पनि थिएन र सिफारिस पनि थिएन । त्यसैले उनले मुलुक छाड्न पनि पाइनन् । उनी दैनिकरुपमा आफ्ना साथीहरुसँग नियमित सम्पर्कमा छिन् । उनीहरुले अन्तिम पटक अगष्ट २४ मा तलब लिएका थिए । अब उनीहरुले थप भुक्तानी पाउने छैनन् । उनीहरुलाई काममा फर्किन पाउँदैनौं भन्ने थाहा भइसक्यो ।

अफसून अब के होला भन्ने विषयमा केही भन्न सक्दिनन् । उनले अब कस्तो लुगा लागाउने हो भन्ने पनि सोच्न सकेकी छैनन् । अहिले उनलाई यो घटनाले ठूलो धक्का लागेको छ र यसबाट बाहिर आउन कति समय लाग्ने भन्ने उनी आफैंलाई पनि थाहा छैन । ‘अहिले म जीवित कसरी रहने भन्ने मात्र सोच्न सक्छु । मलाई मर्नमा कुनै डर छैन, तर यसरी भयभीत र आशाहीन भएर होइन’, मेक अप अर्टिस्ट अफसूनले भनिन्, ‘मलाई प्रत्येक पल तालिबान मलाई खोज्दै आउँछन् कि भन्ने लाग्छ ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?