
१८ भदौ, काठमाडौं । न्युजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा ६ जनालाई चक्कु आक्रमण गर्ने एक व्यक्ति न्युजिल्याण्ड प्रहरीबाट मारिएका छन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले यो आक्रमणलाई ‘आतंकवादी आक्रमण’ भएको बताएकी छिन् । आक्रमणकारी श्रीलंकाली नागरिक रहेको उनको भनाइ छ । यसअघि नै आक्रमणकारीलाई निगरानीमा राखिएको अर्डनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आक्रमणकारी आतंकवादी संगठन (आईएस)बाट प्रेरित व्यक्ति थिए । प्रधानमन्त्री अर्डनका अनुसार न्युजिल्याण्डका सुरक्षाकर्मीले ती व्यक्तिलाई ६० सेकेण्डभित्रै मारेका थिए ।
शुक्रबार न्युजिल्याण्डमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्डनले यो घटना निन्दनीय रहेको बताएकी छिन् । उनले आक्रमणकारीको पहिचान भने गोपनीयताको कारण बताउन नमिल्ने बताएकी छिन् । अर्डनका अनुसार आक्रमणकारी सन् २०११ मा न्युजिल्याण्ड आएका थिए र २०१६ सम्म आउँदा उनी न्युजिल्याण्डको सुरक्षाको लागि जोखिम बन्न थालेका थिए ।
प्रहरीले उनीमाथि निरन्तर निगरानी गरेपनि सधैं ती व्यक्तिको पिछा गर्न नसकिने भएकाले सकेसम्म छिटो उनीमाथि कारबाही गरिएको बताएको छ । प्रहरीका अनुसार यो आक्रमणमा घाइते ६ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये एकजनाको अवस्था गम्भीर छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4