
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत ढंगले चलाउनका लागि आफूले महामन्त्रीमा उम्मेद्वारी दिएको बताएका छन् । चार वर्षमा पार्टीको अधिवेशन गराउने र नेता कार्यकर्तालाई अनसन बस्नुपर्ने अवस्था आउन नदिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
सोमबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले पार्टीका आन्तरिक समस्यालाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने बताए । पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने उनको भनाइ छ ।
‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ,’ उनले भने, ‘मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिति सिर्जना गर्न दिन्न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ ।’
देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनुपर्ने बताए । अहिले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको उनले दाबी गरे ।
प्रतिक्रिया 4