+
+
निजामती सेवा दिवस :

३४ वर्षे जागिरको रोमाञ्चक संस्मरण वर्तमान पुस्तालाई अर्पण

कृष्णहरि बास्कोटा कृष्णहरि बास्कोटा
२०७८ भदौ २२ गते १०:०४

२०३७ साल जेठमा नायब सुब्बामा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आरम्भ गरेको सरकारी जागिरे जीवन २०७१ साउनमा सचिवबाट अवकाश भएसँगै समाप्त भयो । तर, आज उप्रान्त सोही जागिरको आधारमा मासिक पेन्सन खाएर सेवा निवृत्त जीवन व्यतीत गरिरहेको छु । करीब ३४ वर्षको जागिरे यात्रा निकै रोमाञ्चक रहृयो । आज निजामती सेवा दिवसका दिन केही संस्मरण उल्लेख गर्दैछु ।

गाइड कण्ठ गरें

मेरो पिता सरकारी जागिरे भएकाले त्यसतर्फ झुकाव बढ्यो । आईए पास भएको अर्को दिन डबल दस्तुर तिरेर ना.सु.को विज्ञापनको अन्तिम दिन लोक सेवा आयोगमा फारम बुझाएँ । त्यसको तीन महीनापछि हुने परीक्षामा पास भएरै छोड्ने दृढता लिएँ । यसका लागि एक जानकार दाइ नाता पर्नेलाई परीक्षामा सफल हुने जुक्ति सोधें । उहाँले ना.सु.को गाइड किन्ने र कण्ठ पार्ने सल्लाह दिनुभयो ।

त्यसबेला रत्न पुस्तक भण्डारबाट प्रकाशित लेखकको नाम नभएको ना.सु. गाइडको मूल्य रु.२८ थियो । करीब ७०० पृष्ठको सो गाइड एक महीनामा सिध्याएँ । प्रायः सबै कुरा कण्ठ पारें । त्यसपछिका बाँकी दुई महीनामा पुनः कण्ठलाई दोहोर्‍याएँ र तेहर्‍याएँ पनि । यसरी एकै पटकको परीक्षाबाट सरकारी सेवामा स्थायी कर्मचारी हुन सफल भएँ ।

जागिरे किताब लेखें

दिउँसो ना.सु.को जागिर र साँझ पाटन क्याम्पसमा बीए पढ्न थालें । बी.ए.पास गरेपछि शा.अ.को तयारी गर्नु पर्‍यो । यसका लागि सामान्य ज्ञानको गहन अध्ययन गरें । यसबाट सामान्य ज्ञानको पुस्तक नै तयार गरेर बिक्रीमा ल्याएँ ।

सो बखत लोक सेवाको परीक्षामा निबन्धको पनि परीक्षा हुन्थ्यो । यसर्थ, निबन्धहरू लेखेर अभ्यास गर्न थालें । यो अभ्यासबाटै जागिरे नाम गरेको निबन्ध संग्रह प्रकाशित भयो ।

यसैबीच लोक सेवाको परीक्षामा सामेल हुने दिन आयो । आफैंले लेखेको सामान्यज्ञान र जागिरे निबन्ध संग्रह मेरा प्रतिद्वन्द्वीहरूले पनि हात-हातमा लिएर मिहिनढंगले पढिरहेको देख्दा लाज लागेर आउँथ्यो । आखिर परीक्षा सकियो । म शाखा अधिकृत उत्तीर्ण भएँ ।

ना.सु र शा.अ.भएर तत्कालीन सामान्य प्रशासन मन्त्रालयमा काम गरी प्रशासन क्षेत्रको कथित विज्ञ हुन पुगें । सरकारी संगठन तालिका निर्माण गर्न, कार्य विवरण तयार गर्न, कर्मचारी प्रशासन र आन्तरिक कार्य संचालन दिग्दर्शन तयार गर्न म निकै दक्ष थिएँ । आज उप्रान्त यही दक्षताले प्रतिष्ठा पाइरहेको छु ।

भूमिसुधारको हर्ताकर्ता

२०४८ सालमा सहायक सचिवमा बढुवा भएर भूमिसुधार मन्त्रालयमा पुगें । म त्यस मन्त्रालयको प्रशासनको प्रमुख बनें । पछि उपसचिव भएँ । सो मन्त्रालय मतहतका विभागका महानिर्देशकहरू विभिन्न कारणले मसँग परामर्श नगरी प्रशासनिक काम गर्न नसक्ने हुनुभयो ।

म एक प्रकारले मन्त्री र सचिवको नजिक भएँ । सचिव र सहसचिव बीच समन्वयकर्ता भएर पनि काम गर्थें । मैले सम्झेसम्म कुनै खराब मनसायले कुनै पनि काम गरिनँ । कसैको कुभलो पनि चिताइनँ । तर, समय बलवान हुने रहेछ । सो मन्त्रालयमा करीब दुई वर्ष काम गर्दा म निकै शक्तिशाली देखिएँ । रा.प.द्वितीय श्रेणीमा पदोन्नति भएको एक डेढ वर्षमै तक्मा पनि पाएँ । त्यहाँबाट म अछामको सिडिओ भै हिंडें ।

नामूद सिडियो

२०५१ सालमा अछाममा सिडिओ भएँ । साफेबगरमा हवाईजहाज ओर्लिएपछि जब जहाजको ढोका खुल्यो तब एकजना प्रहरीले जहाजभित्र चियाएर यहाँ कृष्णहरि बास्कोटा को हुनुहुन्छ, पहिला ओर्लिनुस् भने । मैले अनायासै मलाई प्रहरी पक्रन आएछ भन्ठानें । यथार्थमा उनी मेरो बडीगार्डका लागि खटिएका रहेछन् । ती प्रहरी हबल्दार असल मानिस र स्थानीय रहेछन् । उनले साफेबगर बजारमा नयाँ सिडिओ आएको हल्ला फैलाइदिए । एकप्रकारले मेरो सिन्दूर-जात्रै भयो ।

मैले अछामको सिडिओ हुँदा बिहान-बेलुकी पनि नागरिकता दिने गरेको थिएँ । अछामको जानकारी दिने पुस्तिका प्रकाशित गरेको थिएँ । जिल्लामा प्रधानमन्त्रीको भ्रमण गराएको थिएँ । नेपालगञ्जबाट प्रत्येक हप्ता मंगलसेनमा हेलिकप्टर उडानको सेवा मिलाएको थिएँ ।

त्यस्तै मदिरामुक्त जिल्ला बनाएको थिएँ । गाउँमा झाडापखाला फैलिंदा डाक्टर सहितको टोली लिएर घर-घर पुग्ने गरेको थिएँ । जसको कारण मेरो सरुवा भएर मंगलसेनदेखि साफेबगरसम्म पुग्दा करीब सय स्थानमा जनता गौंडा गौंडामा मलाई कुरेर बसी बिदाइ गरेका थिए ।

आजउप्रान्त म अछाममा परिचित छु भन्दा गर्व लाग्छ । अछामबाट फर्किएपछि म सहसचिव भएँ । यो लच्छिनको जिल्ला रहेछ, जहाँ मैले आफ्नो प्रसिद्धि फैलाएँ र बढुवा भेट्टाएँ ।

यूरोपेली शैलीको विभाग

२०५६ सालदेखि करीब चार वर्ष म वाणिज्य विभागको महानिर्देशक भएँ । सो बखत वाणिज्य विभागको सजावट र सेवा प्रवाहको शैली यूरोपेली मापदण्डको भनी प्रशंसा हुने गर्दथ्यो । केन्द्रीयस्तरबाट बजार अनुगमनको आरम्भ सोही बखतबाट भएको हो ।

मैले वाणिज्य विभागमा आरम्भ गरेको नागरिक वडापत्र नै नेपालभरिका सरकारी कार्यालयमा फैलिएको थियो । यस्तो लाग्छ, आजको मेरो पहिचान वाणिज्य विभागको महानिर्देशकले तयार गरिदिएको हो । तत् बखतका विभागका कर्मचारी, उपभोक्ता अधिकारकर्मी र संचारकर्मीको जति नै प्रशंसा गरे पनि कम हुने ठान्दछु ।

भन्सारमा संघर्ष

वाणिज्य विभागमा उत्कृष्ट काम गरेबापत हुनसक्छ मेरो सरुवा सीधै भन्सार विभागको महानिर्देशकमा भयो । सो विभागमा करीब साढे दुई वर्ष महानिर्देशक हँुदा राजश्व असुली वाषिर्क डेढीका दरले बढाएँ । पहिलो पटक भन्सार सुधार योजना लागू गरंे । आसिकुडा प्रणालीलाई व्यापकता दिएँ । पहिलो पटक एकीकृत ट्यारिफ बूक प्रकाशित गरें ।

मेरो नेतृत्वमा तयार भएको भन्सार कार्य संचालन आन्तरिक निर्देशिकालाई अख्तियारले सबै विभागका लागि नमूना ठहर गरिदियो र ४८ वटा विभागले यसको अनुसरण गरे । मैले सबै भन्सार जाँचकीलाई दुई घण्टाभित्र जाँचपासको काम सम्पन्न गरी सेवाग्राहीको दस्तखत लिने गरी लकबूक प्रणाली आरम्भ गरें ।

तर, भन्सारको संसारमा मैले संघर्ष पनि गर्नु पर्‍यो । अर्थ मन्त्रालयमा केही समयदेखि रजगजका साथ बसेका केही मानिसलाई मेरो भन्सार विभागमा भएको सरुवा शुरूदेखि नै मन परेको थिएन । घुस्याहा प्रवृत्तिका मानिसले भित्रभित्रै मलाई असहयोग गरिरहे । कलमजीवीको आवरणमा भ्रष्टाचारको पक्षपोक्षण गर्ने दुईचार जना पनि मेरो सानोतिनो गल्तीरूपी तिललाई पहाड बनाउन अघि सरे ।

केही खराब प्रवृत्तिका मानिसले अब तपाईं भन्सार विभागको महानिर्देशक हुनुभएकाले बाँचुन्जेल मुलुकका भ्रष्टाचारीको सूचीमा हामी जस्तै सूचीकृत हुनुभयो सम्म भन्न भ्याए । यसरी, केही मानिसले पाइला पाइलामा मलाई हतोत्साही गर्न खोजे ।

तर, मेरो स्वच्छता र भ्रष्टाचार विरुद्धको अभियानलाई नजिकबाट चियाइरहेका आम संचारकर्मीको साथले म भन्सार विभागको सफल महानिर्देशकका रूपमा समाजमा परिचित भएँ । सुशासनका क्षेत्रमा कार्यक्षेत्र बनाई भ्रष्टाचार विरुद्ध काम गरिरहेका संघसंस्थाबाट म भन्सार विभागको महानिर्देशक हुँदा नै सार्वजनिक रूपमा पटक-पटक अभिनन्दित भएँ । यसरी भन्सारको संघर्ष पनि जितें ।

मुलुकको ढुकुटी चलाएँ

जनआन्दोलन-२ को सफलतापछि गठन भएको सरकारले मलाई अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बनायो । यसरी, म मुलुकको ढुकुटी संचालकको भूमिकामा पुगें । यसपछि मेरो जागिरे जीवनमा ठूलो तरक्की भयो ।

बिहान ८ बजे टिफिनमा भात लिएर अर्थ मन्त्रालय पुग्न थालें । राति करीब १० नबजी घर फर्किदैनथें । बजेट निर्माणका करीब तीन महीना दिनको १६/१८ घण्टा काम गर्नु सामान्य लाग्दथ्यो । आज यही काम गर्ने बानी परेका कारण अवकाश जीवन पनि भ्याई-नभ्याई गरी विताइरहेको छु ।

बजेट महाशाखाको प्रमुख हुँदा स्वयं मन्त्री पनि बजेट थप गरिदिन सोर्स लगाउन कार्यकक्षमा आउँथे । केही मन्त्रीले औपचारिक बैठकमै कुटौंला झैं गर्थे । सो बखतको मेरो फुर्ती देखेर राष्ट्रिय योजना आयोगका केही सदस्यहरू मुर्मुरिएको, केही सचिवहरूले नै विरोध गरेको, संसदको समितिमा घोचपेच गरेको स्मरण ताजा नै छ । तर, सो बखत आफूले सहयोगी भावनाले काम गरेबापत हजारौं शुभचिन्तक बनाएकोमा गर्व गरेको छु । सोही बखत मुलुकको सबै क्षेत्रलाई मिहिन रूपमा बुझ्ने मौका पाएँ ।

राजश्व असुलीको रेकर्ड

बजेट महाशाखा प्रमुखबाट म राजश्व सचिवमा बढुवा भएँ । प्रत्येक वर्ष बजेट वक्तव्यका आधारमा राजश्व नीति सम्बन्धी छुट्टै पुस्तिका प्रकाशित गर्ने प्रचलन बसाएँ । राजश्व असुलीमा यति धेरै मिहिनत गरें कि राजश्व ३३.३ प्रतिशतले वृद्धि भयो । संभवतः २००८ सालमा सुवर्णशमशेरले नेपालमा बजेट प्रणालीको आरम्भ गरेपछि सर्वाधिक राजश्व वृद्धिको रेकर्ड म राजश्व सचिव हँुदा नै बन्यो ।

अर्थ सचिवका कठिनाइ

राजश्व सचिव पछि म अर्थ सचिव भएँ । सचिवमा नियुक्ति भएदेखि नै कठिनाइ भोग्दै गएँ । तथापि, राजश्व र खर्चका कोड नम्बरहरू विश्वव्यापी प्रचलन अनुसार बदल्न सफल भएँ ।

मुलुकलाई सम्पत्ति शुद्धीकरण र अन्तर्राष्ट्रिय आतंकवादमा लगानी विषयमा कालोसूचीमा पर्नबाट जोगाएँ । राम्रो गर्न नसके पनि केही बिगारिनँ । तर, पनि अर्थ सचिव भएसँगै केही सचिव पछि लागे । केही कलमजीवीले अनायासै मेरो विरोधको खेमामा रही पैरवी आरम्भ गरे ।

कालान्तरमा पूरै सरकार नै विपक्षमा उभियो भन्नु पर्‍यो, म प्रधानमन्त्री कार्यालयमा सरुवा भएँ । बजेट चुहिएको दोष लाग्यो । तर, निष्ठापूर्वक काम गर्दै आएकाले प्रधानमन्त्री कार्यालयको सचिवमै जमें ।

सचिवको सचिव

प्रधानमन्त्री कार्यालयमा सचिव हुँदा एउटा हातमा डायरी र एउटा हातमा टोपी लिएर सडक विस्तारको नामी अनुगमनकर्ताको पहिचान बनाएँ । काठमाडौंभित्र मेरो अनुगमनमा १२९ किमि सडक फराकिलो भई कालोपत्रे पनि भयो । नौबिसे नागढुंगा सडक मर्मत गराएँ ।

डा. गोविन्द केसी लगायत ५/७ जनाको अनशन तोडाएँ । राष्ट्रिय गौरवको आयोजनाको अनलाइन अनुगमन गर्ने प्रणाली विकास गरें । प्रधानमन्त्री कार्यालयमा हेलो सरकार संचालन गरेर मुलुकव्यापी पहिचान बनाएँ ।

सुशासन ऐन बमोजिम क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू गराएँ । तर, यस कार्यालयमा रहँदा सचिवहरूलाई कज्याउनु पर्‍यो । यस वापत सचिवहरूको पनि सचिव हुन खोज्ने व्यक्ति भनी आलोचना व्यहोर्न बाध्य भएँ ।

यसरी, ३४ वर्षको सरकारी सेवाका केही रोमाञ्चक क्षणहरू आफ्नो स्व-प्रशंसाका लागि नभई वर्तमान पुस्ताका प्रशासकहरूको उत्प्रेरणाका लागि अर्पण गरेको हुँ । निजामती सेवा दिवसको शुभकामना ।

लेखकको बारेमा
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?