+
+

गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १६:१९

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।

‘ग्याङ्स अफ वसेपुर, फुकरे, मसान, बरेली कि बर्फी, एक्सट्रेक्सन, स्त्री, लुका छिपी, कागज, मिमी’ लगायतका चलचित्रमा काम गर्दासम्म पंकज पहिलो नम्बरको कलाकार बनिसकेका छन् । उनलाई दर्जनौ चलचित्रबाट अफर आइरहेको छ । तर, कुनै समय उनी कामको खोजीमा मुम्बइका सडकमा भौतारिएका थिए ।

पंकजको जन्म गोपालगञ्ज, बिहारमा भएको हो । उनका पिता बनारस त्रिपाठी खेतमा काम गर्थे । घरमा आर्थिक सहयोग गर्नका लागि पंकजले ११ बर्षको उमेरमा नै खेतमा काम गर्न सुरु गरेका थिए । तिहारको मौका पारेर गाउँमा आयोजना हुने नाटकमा उनी यूवती बनेर अभिनय गर्थे । उनको अभिनयलाई गाउँका मानिसहरुले प्रशंसा गर्थे । उनलाई गाउँका साथीहरुले अभिनयमा करिअर बनाउन सुझाव समेत दिएका थिए ।

१२ कक्षा पास गरेपछि पंकज होटल म्यानेजमेन्टको अध्ययनका लागि पटना पुगे । उनी कलेजमा पनि नाटकमा अभिनय गर्थे भने राजनीतिमा पनि उनको रुची थियो । एक र्यालीमा सहभागी हुँदा उनी एक सातासम्म जेलमा समेत परेका थिए । उनले सात बर्षसम्म पटनाको एक पाँचतारे होटलमा समेत काम गरे ।

सात बर्षसम्म पटनामा बसेपछि उनी मुम्बई पुगे । पंकजलाई सन् २००४ मा एक चियाको विज्ञापनमा नेता बन्ने अवसर मिल्यो । यही बर्ष नै उनलाई अभिषेक बच्चन र भूमिका चावलाको चलचित्र ‘रन’मा समेत काम गर्ने अवसर मिल्यो । यो चलचित्र रिलिज भएपछि पनि पंकजलाई कुनै फाइदा भएन ।

सन् २००४ मा उनले अभिनेत्री मृदुलासँग बिहे गरे । मृदुलालाई उनले एक बिहे समारोहमा देखेका थिए । पंकजले भारतीय मिडियालाई दिएको एक अन्तरवार्तामा सन् २००४ देखि सन् २०१० सम्म आफूले केही पनि कमाउन नसकेको बताएका छन् । मृदुलाले नै घरको सबै खर्चको जिम्मेवारी सम्हालेको पंकज बताउँछन् । अन्धेरीको बाटोमा हिड्दै पंकजले अभिनयका लागि धेरै बलिउडकर्मीसँग आग्रह समेत गरेका थिए ।

६ बर्षसम्म काम नपाएर निराश बनेका पंकजलाई अनुराग कश्यपको चलचित्र ‘ग्याङ्स अफ वासेपुर’मा अभिनयको मौका मिल्यो । यो चलचित्रमा उनले निर्वाहा गरेका भूमिकालाई दर्शकले रुचाए । यसपछि भने उनी लगातार हिट चलचित्रमा काम गरिरहेका छन् ।

चलचित्रमा अभिनय गर्दा केही टेक खाएपछि उनलाई एक्सन निर्देशकले गाली समेत गर्थे । सो समयमा पंकजलाई ती निर्देशकको टाउको फोडेर गाउँ फर्किने सोच समेत नआएको होइन । पंकजले एक अन्तरवार्तामा भनेका छन्–‘पहिला काम नपाएर हैरान थिएँ । अहिले काम धेरै भएर चलचित्र छाड्नु परेको छ । जब म घर जान्छु, तब मलाई मेरो पार्किङमै एक नयाँ चलचित्रको अफर आउँछ ।’

पंकज केही हप्तादेखि चलचित्र ‘ओ माई गड २’को छायांकन गरिरहेका छन् । यसअघि उनले ‘८३ र बच्चन पाण्डे’को छायांकन सकिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?