+
+
विचार :

कुण्ठा र स्वार्थप्रेरित राजनीति

बीबी श्रेष्ठ बीबी श्रेष्ठ
२०७८ भदौ २५ गते १३:३७

राजनीति साह्रै निकृष्ट हुँदोरहेछ । लामो समय माधव नेपालको टिममा रहेर काम गरेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य संस्थापन पक्षमा रहेर मुख्यमन्त्री बने । त्यो संस्थापनको स्वार्थ थियो कि आवश्यकता; समयले मूल्याङ्कन गर्ला तर त्यही बीचमा बनेको मुख्यमन्त्री पद अहिले धरापमा परेको छ । यो विषयलाई सूक्ष्म विश्लेषण गर्ने हो भने संस्थापनको मुख्यमन्त्री र एकीकृत समाजवादीको विरोधको बीचमा वैचारिक भिन्नता पाउन सकिंदैन । मुख्यमन्त्रीमा दुवैको पदवहाली सँगैको एकीकृतको विरोध र जसरी पनि मुख्यमन्त्रीबाट हटाउने रणनीतिमा राजनीतिक र वैचारिक कारण देखिंदैन ।

किनकि मुख्यमन्त्रीमा दुवैजना अयोग्य पनि होइनन्, यद्यपि कुनैबेला पार्टी अध्यक्ष केपी ओलीले उनीहरूलाई मुख्यमन्त्री बन्न अयोग्य सम्झिएका थिए । अहिले एकीकृत समाजवादीको विरोध भनेको आफूलाई धोका दिएको भन्दा अन्य चित्तबुझ्दो कारण देखिंदैन । यो सबैले पुष्टि हुन्छ, नेपालको राजनीति आवश्यकताको आधारमा हैन, कुण्ठा र स्वार्थबाट प्रेरित छ । जुन पटकपटक पटाक्षेप भइसकेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्री बन्न अथवा पार्टीको मूल संस्थापन धारमा रहने निर्णय अवाञ्छनीय छैन, किनकि लामो समय पार्टीमा गरेको त्याग, तपस्या र योगदानको आधारमा त्यसलाई पदलोलुपता भन्न सकिंदैन । उनीहरूको त्याग पार्टी विभाजन भएपछि मात्रै देख्ने अध्यक्ष ओलीको भूमिकामा पनि कुनै दिन समीक्षा होला । तर, नेताद्वय मुख्यमन्त्री बन्न मात्रै संस्थापनमा नबसेका हुनसक्छन् । पार्टी फुटको औचित्य नदेख्नु, वैचारिक र कार्यदिशा फरक नदेखेपछि एमालेमा रहनुलाई पदको आसक्ति भनिहाल्न नमिल्ला ।

एक्काइसौं शताब्दी, विश्वमा विकासको लहर चलिरहँदा हामी भने कसैको पिछलग्गु बनेर समाज र देश बन्धक बनाइरहेका छौं । आम जनता र कार्यकर्तामा चेतनास्तर हुने, विवेकको स्वतन्त्र प्रयोग र स्वनिर्भर बन्ने हो भने नेताहरूको यो नांगो नाच हामीले देख्नुपर्ने थिएन ।

जिम्मेवारी लिनु–दिनु भनेको तपसिल हो । तर संस्थापनमा रहँदा वित्तिकै हिजोसम्म अब्बल नेता सम्झने माधव नेपालले जसरी पनि मुख्यमन्त्रीबाट हटाउने अभिव्यक्ति र व्यवहार भनेको स्वार्थ केन्द्रित मात्र हो । फगत यो कुण्ठा मात्र हो । यसमा कुनै पनि विचार र सिद्धान्तको कुरा छैन । यसले गर्दा पनि माधव नेपालको राजनीति केका लागि भन्ने कुराको पुष्टि भएको छ ।

शक्ति र सत्ताका लागि कालोलाई सेतो र सेतोलाई कालोसम्म भन्न सक्नेहरूको अभिव्यक्ति हेर्दा लाग्दछ, यस्ता नेताहरूको पछाडि लाग्ने भनेको हामी नै मूर्ख हौं । पद, शक्ति र सत्ताका लागि लड्नेहरूका कारण आम कार्यकर्ता र जनता भने विभाजित बनेका छन् । त्यो विभाजित केका लागि भन्ने नेताहरूले समेत भन्न नसकेको बेलामा कार्यकर्ता र जनता नै विभाजित हुँदा सामाजिक सद्भाव नै धरापमा परेको छ । अब यो सबैको कारण खोज्ने बेला भएको छ ।

कार्यकर्ता नै विभाजित भएर बोलचाल र ज्यान नै धरापमा रहने अवस्था सिर्जना हुनुको मुख्य विषय के हो ? देश परिवर्तन कि समाज ? आम जनताको व्यवहारमा के परिवर्तन रहला ? कार्यकर्ताको जीवनस्तरका लागि हो कि समाज रूपान्तरणका लागि ? गन्तव्यविहीन यात्रा र सीमित नेतालाई पदमा आसीन गराउनका लागि गरिएको तिकडमका मतियार हामी किन बनिरहेका छौं ?

समाज र समग्र परिवर्तनका लागि जनयुद्ध गरेका तत्कालीन माओवादीको अहिलेको अवस्था के छ ? समृद्ध नेपालको नारा सहित जनयुद्धमा होमिएको कार्यकर्ताको जीवन बलिदानी, अंगभंग, बेपत्ताको अहिलेको अवस्था के हो ? माओवादी सबैभन्दा ठूलो पार्टी बनेर त्यो सबै आम कार्यकर्ताको भावनाको कदर ग¥यो कि गरेन ? यावत् उदाहरण हुँदाहुँदै पुनः राजनीतिको नाम भजाएर कार्यकर्ता भड्काउने नेता र भड्किने जनताको जमात रहेसम्म नेपाल न परिवर्तन हुन्छ, न नेपालीको जीवनस्तर ।

यही छेलोखेलोमा धकेलिएको नेपालको राजनीति नेताको क्रीडास्थल तबसम्म भइरहन्छ, जबसम्म कार्यकर्ता र जनतालाई आफ्नो भूमिकाको महसूस हुँदैन, चालिएका पाइलाको अनुभूति हुँदैन ।

निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टी र लोसपाको दर्ता सँगसँगै नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने नेपालको समग्र व्यवस्थालाई त पूर्ण रूपमा असर ग¥यो, जसरी सर्वोच्चले नेकपा विभाजन गराउँदा होस् वा ओलीले संसद विघटन गर्दा असर गरेको थियो । यो बीचमा संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिहरूलाई भने धेरै नै तरंगित बनायो । यति धेरै समग्रतामा देशलाई धु्रवीकृत गर्ने अवस्थाको अन्तर्य के त ? यति धेरै धु्रवीकृत मानसिकताको परिणाम के हो ? के यसले समाज र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दछ ?

विचारमा विविधता हुनु स्वाभाविक हो, तर त्यो विविधता समाज र देशप्रति उत्तरदायी छ कि छैन भन्ने निर्णय गर्न नसक्नु आम कार्यकर्ता र जनताको चेतना विहीनताको पराकाष्ठा हो । स्वार्थी र अयोग्य नेताहरूको जस्तोसुकै निर्णयको बचाउ गर्ने र आँखा चिम्लिएर पछि लाग्ने स्वभावले देश आजको अवस्थामा पुगेको हो ।

राजनीतिका अर्थ नबुझ्नेहरू राजनीतिकर्मी बने । जनता कम विवेकविहीन नेता र कार्यकर्ता धेरै भएको नेपालका सन्दर्भमा जबसम्म राजनीतिको मूल मर्म बुझ्न सक्दैनन् तबसम्म नेपाल विदेशीको स्वार्थको क्रीडास्थल बनिरहनेछ । सीमित नेताहरूको स्वार्थको खेलौना बन्ने हामी कार्यकर्ता नै अहिलेको सन्दर्भमा सबैभन्दा ठूलो समस्या हौं । विवेक नै बन्धक राखेर गरिने क्रियाकलापले सीमित व्यक्तिको जीवनस्तर परिवर्तन हुन सक्ला, तर आम नेपाली र नेपालमा परिवर्तन ल्याउन सक्दैन । यो प्रक्रिया ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथि बन्न सक्दैन ।

पद र शक्तिका लागि यति धेरै बिकाउ नेताहरूको पछाडि आम कार्यकर्ता विभक्त हुनुको कारण के हो ? व्यक्ति चिन्नका लागि जुगै बिताउनु पर्दैन । को नेता के चाहन्छ, त्यसको योग्यता, चेतनाको मापन गर्न उमेर ढल्काउनु पर्दैन । यति धेरै नाङ्गो नाच नाचिरहँदा पनि राम्रो देख्ने हाम्रो नजर भनेको दोषी हो, बन्धक चेतनास्तर हो र पदप्रतिको आसक्ति हो । जसले व्यक्तिको स्वार्थ भन्दा केही देख्दैन । हाम्रो व्यवहारले नेताहरूको यो हर्कतलाई अरू प्रश्रय दिइरहेको छ, थप हौसला दिइरहेको छ ।

जबसम्म आम कार्यकर्ता र जनतामा चेतनाको विकास हुँदैन, नेताहरूले प्रयोग गर्ने क्रम निरन्तर चलिरहन्छ । परनिर्भरतामा बाँचेका हामीहरू जबसम्म स्वनिर्भर बन्न सक्दैनौं, हामी प्रयोग भइरहने हो, विषयवस्तु जे भएतापनि । एक्काइसौं शताब्दीमा विश्वमा विकासको लहर चलिरहँदा हामी भने कसैको पिछलग्गु बनेर समाज र देश बन्धक बनाइरहेका छौं ।

आम जनता र कार्यकर्तामा चेतनास्तर हुने, विवेकको स्वतन्त्र प्रयोग र स्वनिर्भर बन्ने हो भने नेताहरूको यो नाङ्गो नाच हामीले देख्नुपर्ने थिएन । डर, धाक, धम्की र स्वार्थमा देशका जनप्रतिनिधि नै हुने हो भने आम जनताको हविगत के होला ? सोच्न ढिला भइसकेको छ । आम जनता र देश के चाहन्छ भन्ने सोच समेत नभएका नेताहरू जबसम्म नेपालको राजनीतिमा हावी भइरहन्छन्, तबसम्म समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा हुन सक्दैन । यसका लागि आम जनता र कार्यकर्ता विवेकशील, स्वनिर्भर र देशप्रति जिम्मेवारीबोधले युक्त हुनैपर्दछ । नत्र भने नेताको स्वार्थमा आफ्नै दाजुभाइ लड्ने र लडाउने प्रक्रिया निरन्तर चलिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?