
२५ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोग विकास योजना तथा तर्जुमामा सल्लाह दिने सरकारको उपल्लो निकाय हो । प्रधानमन्त्री अध्यक्ष रहने भए पनि उसले अर्थ मन्त्रालयलाई पनि उत्तिकै सहयोग गर्छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भने अर्थ मन्त्रालयमा योजना आयोगकै भूमिका अर्को निकाय ‘थिंक ट्यांक’ बनाउने घोषणा गरेका छन् । संसदमा बजेट प्रतिस्थापन विधेयक पेश गर्दै उनले अध्ययन, अनुसन्धान र विश्लेषण गरेर आर्थिक नीति बनाउन मन्त्रालयमा ‘थिंक ट्यांक’ बनाउने बताएका हुन् ।
जबकि यो काम अहिले योजना आयोगले गर्दै आएको छ । आयोगले बजेट निर्माणदेखि आयोजना कार्यान्वयनको अनुगमनसम्ममा सक्रिय छ । विकास नीति र कार्यक्रम कार्यान्वयनमा सहजीकरणको काम पनि आयोगले गर्दै आएको छ ।
योजना आयोगको समानान्तर हुने गरी थिंक ट्यांक बनाउने अर्थमन्त्रीको घोषणालाई अर्थविज्ञहरुले संस्थाहरुप्रतिको अविश्वास भनेका छन् । ‘नीति निर्माण, अध्ययन–अनुसन्धानमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई सहयोग गर्ने स्थायी निकाय राष्ट्रिय योजना आयोग क्रियाशील छँदाछँदै अर्को थिङ्क ट्यांक बनाउन खोज्नु भनेको भएका संस्थाहरुमाथि अविश्वास नै हो,’ पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन् ।
प्रतिक्रिया 4