+
+

स्थाननाममा राजनीति

यमबहादुर दुरा यमबहादुर दुरा
२०७८ भदौ २७ गते ७:५६

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ २०७८ मा संसदमा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को ‘पपुलिष्ट’ बजेट एउटा सांस्कृतिक कारण थपिएर पनि चर्चित भयो ।

बजेटको बुँदा नम्बर ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरिएको उद्घोष थियो ।

लोकले जानेकै कुरा हो, वाइडबडी जहाज खरीद घोटाला प्रकरणमा मुछिएका तत्कालीन पर्यटनमन्त्री अधिकारीलाई निलम्बन गरी छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले सिफारिश गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी शेर्पा राज्य संचालकलाई अनुचित प्रभावमा पारी सार्वजनिक सम्पत्तिको दोहनमा लिप्त रहेको भनेर आलोचित थिए । दुवै जना प्रधानमन्त्री केपी शर्मा ओली निकट भनेर चिनिन्थे । पाथीभराबाट र्फकने क्रममा दुर्भाग्यवश भएको हेलिकप्टर दुर्घटनामा परेर ती दुवैको निधन भएको थियो ।

पछिल्लो समय भ्रष्टाचार सम्बन्धी विवादमा परिरहेका विवादास्पद मन्त्री र व्यवसायीको नाममा विमानस्थलको पुरानो नाम परिवर्तन गर्ने ओली सरकारको निर्णयले सांस्कृतिक वृत्तमा मात्र नभई राजनीतिक वृत्तलाई समेत तरंगित बनायो । अधिकारीपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराईले समेत यो निर्णयप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाए । भट्टराई ताप्लेजुङबाटै निर्वाचित सांसद हुन् ।

कुनै पनि हिसाबले असम्बन्धित व्यक्तिहरूका नाममा विना छलफल हठात् सुकेटार र चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयको विरोध हुनु विल्कुलै स्वाभाविक थियो ।

बजेट भाषण मार्फत आएको स्थाननाम परिवर्तन सम्बन्धी विवादले सुषुप्त अवस्थामा रहेको एउटा सांस्कृतिक मामिलालाई पनि बहसमा ल्याएको छ ।

स्थाननामको शास्त्र

अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार व्युत्पत्ति, ऐतिहासिक तथा भौगोलिक जानकारीका आधारमा स्थाननामको अध्ययन गर्ने ज्ञानको एक विधा स्थाननाम शास्त्र (टोपोनमी) हो ।

स्थाननामसँग स्थानीय इतिहास, भूगोल, जनभाषा, संस्कृति, पुरातत्व, लोकजीवन, लोकसाहित्य लगायत बहुआयामिक पक्ष जोडिएको हुन्छ । स्थाननाम ज्ञानको एउटा व्यापक क्षेत्र हो भन्ने प्राज्ञिक दृष्टिकोण पनि छ ।

स्थाननामको वर्गीकरणका कैयौं आधार छन् । टोथ भ्योरियाको अनुसन्धानमूलक आलेख ‘थ्योरिटिकल इस्सुज इन टोपोनेम टाइपोलोजी -सन् २०१९)’ अनुसार, स्थाननामका मुख्यतः तीन वटा दायरा छन् ! पहिलो- मानिसको पेशा, क्रियाकलाप, जातजाति र व्यक्ति वा समूहको नामबाट बनेको स्थाननाम, दोस्रो- मानव जातिले निर्माण गरेको भौतिक वस्तु (गढी, पुल, मन्दिर, विमानस्थल, बस्ती आदि) बाट बनेको स्थाननाम र तेस्रो, प्राकृतिक वस्तु (पानी, वनस्पति, पहाड-पर्वत-मैदान आदि)बाट बनेको स्थाननाम ।

भ्योरियाका अनुसार, स्थाननाम वर्गीकरणका यी सामान्य आधार हुन् । यसका अनेकन् भेद र उपभेद छन्, जसलाई पर्गेल्न गम्भीर अध्ययन र विचार-विमर्श आवश्यक पर्छ ।

स्थाननाम परिवर्तनको लहर

राष्ट्रिय विभूति र देश-समाजको लागि अविस्मरणीय योगदान गरेका व्यक्तित्वहरूको सम्झनालाई चिरस्थायी बनाउन, उनीहरूप्रति कृतज्ञता जनाउन विमानस्थल, नयाँ शहर, नदी, पहाड-पर्वत आदिको नामकरण गर्ने चलन संसारभर छ । तर, प्रतीकात्मक प्रतिरोध -सिम्बोलिक रिटि्रव्युसन) लिन वा लहडको भरमा स्थाननाम परिवर्तन गरिनुहुँदैन भन्ने पक्षमा संसारभरका स्थाननाम मर्मज्ञहरूले आवाज उठाउँदै आएका छन् ।

स्थाननाम परिवर्तन हुनुका पछाडि अनेक कारण छन् । आधुनिक बन्ने नाममा पहिलेका स्थाननाम बदल्ने, बसाइँ सरेर आउनेहरूले नयाँ ठाउँको इतिहास नबुझी लहडको भरमा आफूअनुकूल नयाँ नाम राख्ने, राजनीति (शासक)ले पहिलेको इतिहास-संस्कृति मेट्ने नियतले जानीबुझी नयाँ नाम राख्ने लगायत कारणले स्थाननाम उन्मूलन हुने अवस्था आउँदैछ ।

धेरैजसो अवस्थामा स्थाननाम परिवर्तनमा राजनीति नै चालक शक्तिको रूपमा देखापरेको छ । शासनको बागडोर सम्हालेका राजनीतिक शक्तिहरूबाटै स्थाननामलाई आफू अनुकूल बनाउने घटना धेरै छन् ।

बि्रटिश साम्राज्यले भारत, दक्षिण अपि|mका लगायत संसारका विभिन्न देशमा शासन गर्दा स्थाननाम परिवर्तन गरेका अनेकन् दृष्टान्त छन् । अमेरिका र क्यानडामा बसाइँ सरेका युरोपेलीहरूले स्थानीय नाम मेटेर आˆनै किसिमका नामहरू राखेका कैयौं उदाहरण भेटिन्छन् ।

अरूबाट शासित हुनु नपरेको नेपालमा पनि स्थाननाम परिवर्तनको रोग चर्कै छ । यसको पछिल्लो उदाहरण सुकेटार र चुहानडाँडा विमानस्थल हो । नेपालमा स्थाननाम परिवर्तनबाट मूलतः आदिवासी जनजाति समुदायको पहिचान सङ्कटमा पर्ने गरेको छ । जनजाति समुदायको चिनारीसँग गाँसिएका स्थाननाम मेटाइएका वा अपभ्रंशित भएका कैयौं उदाहरण छन् ।

विश्वको सर्वोच्च शिखर पत्ता लागेपछि ‘माउण्ट एभरेष्ट’ भनेर त्यसको नामकरण बि्रटिशकालीन भारतीय सर्भेयर जनरल जर्ज एभरेष्ट -सन् १७९०-१८६६) को नामबाट गरियो । पछि इतिहास शिरोमणि बाबुराम आचार्यले राष्ट्रवादी भावनाबाट ओतप्रोत भएर ‘सगरमाथा’ भन्ने काल्पनिक नामकरण गरेर सर्वोच्च चुचुरोको स्थानीय नाम ‘चोमोलुङ्मा/झोमोलुङ्मा’ मेटाउन ठूलो योगदान गरे ।

अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामाले ‘माउण्ट म्याकिन्ले’ नाम खारेज गर्दै स्थानीय भाषामा पुनः ‘देनाली’ नामकरण गरेर ११९ वर्षअघिको सरकारी निर्णय सच्याउँदै कोयुकोन आदिवासीप्रति भ्रातृत्व र सम्मानभाव प्रकट गरेका थिए

प्रदेश-१ को एक जिल्ला पान्थर (पान्थरु) को अपभ्रंशित रूप हो, पाँचथर । लिम्बू भाषामा ‘पान्थर’ को अर्थ ‘कुरा थामेको’ (सहमति भएको) भन्ने हुन्छ । तर, अहिले पाँचवटा थरमा सहमति भएको अवस्था देखिएको छ ।

यही क्रममा ताप्लेजुङस्थित लिम्बू समुदायको ‘मुक्कुमलुङ’लाई पाथीभारा बनाइएको चर्चा पनि छ । उता गण्डकीमा स्थानीय तहको पुनर्संरचना गर्दा लमजुङको दुराडाँडावासीले साविकका ६ वटा गाविसलाई मिलाएर दुराडाँडा गाउँपालिका बनाउन माग गरे । तर, राजनीतिक शक्ति हातमा लिएकाहरूले त्यो मागलाई अल्पसंख्यक दुराहरूको नचाहिने गनगन भन्दै दुराडाँडालाई सुन्दरबजार नगरपालिकामा मिसाए ।

केही नलागेपछि गाउँपालिकाको नाम ‘दुराडाँडा-सुन्दरबजार’ राख्न माग भयो, तर वास्तविक नामलाई लत्याएर काल्पनिक नाम ‘सुन्दरबजार’ मा दुराडाँडाको पहिचान सेलाउने नाकाम नै गरियो ।

स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा लमजुङको छिमेकी जिल्ला तनहूँमा पनि यस्तै प्रकृतिको घटना भयो । तनहूँका १० स्थानीय तहमध्ये एउटाको नाम ‘रिसिङ’को साटो ‘ऋषिङ’ गाउँपालिका राखियो । भाषा विज्ञानका अध्येता डा. तारामणि राईका अनुसार, मगर भाषामा ‘रिसिङ’ को अर्थ रूखमा बेरिने लहरा हो । तर, ‘ऋषभ ऋषिले तपस्या गरेको’ भन्दै ‘रिसिङ’ शब्दको भ्रामक व्युत्पत्ति गराई नाम ‘ऋषिङ’ गाउँपालिका राखियो (नयाँ पत्रिका, कात्तिक २२, २०७७) ।

विगतमा पाल्पाको आरेक भञ्ज्याङमा पनि यस्तै भएको थियो । मगर भाषामा ‘आरेक’ भनेको लसुन हो । धेरै लसुन उत्पादन हुने भएकाले त्यस भञ्ज्याङको नाम विगतमा आरेक रहन गयो । तर, पछि अपभ्रंश गरेर आर्यभञ्ज्याङ भन्न थालियो ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा पर्ने ‘आरुङ खोला’ यतिबेला ‘अरुण खोला’ हुन पुगेको छ । मगर भाषामा ‘आरुङ’ को अर्थ ‘तीन चुलो’ भन्ने हुन्छ । अहिले आएर ‘आरुङ खोला’को मौलिक चिनारी नै मेटिएको छ । एवम् रीतले हाम्रा रैथाने स्थाननामहरूले मौलिक पहिचान गुमाउँदै गएका छन् । काठमाडौंको ठमबहिल ‘ठमेल’, गुच्चात्वा ‘गुच्चाटोल’ तथा फिबो ख्या ‘माइतीघर’ बन्न पुगेका छन् । यसैगरी, धादिङको सुकौरा ‘सुनौलोबजार’ र पूर्वी हिमशिखर कानचेन्जोङा ‘कञ्चनजङ्घा’ हुन पुगेका छन् ।

नेपालमा स्थाननाम परिवर्तनका केही उदाहरण हुन् यी । नियतवश वा लहड वा अज्ञानतावश शब्दको भ्रामक व्युत्पत्ति गरिनु कुनै पनि अर्थमा हितकर भने हुँदैन । हरेक स्थाननामको आफ्नै विशिष्ट अर्थ र महत्त्व हुन्छ, जसलाई जोगाउँदा इतिहास र सांस्कृतिक विविधता जोगिन्छन् ।

गुमेको स्थाननाम फर्काउने सवाल

नेपालको बहुसांस्कृतिक पहिचान जोगाइराख्ने हो भने नामेट पारिएका स्थाननामको पहिचान पूर्ववत् अवस्थामा फर्काउन अत्यावश्यक छ । स्थान नामकरण तथा परिवर्तन सम्बन्धी विश्व घटनाक्रम हेर्दा यो सम्भव र जायज पनि छ । स्थाननामलाई पूर्ववत् अवस्थामा फर्काएका केही विशिष्ट उदाहरण छन् ।

अलस्काको सर्वोच्च हिमशिखर देनालीलाई सन् १८९६ मा पच्चीसौं अमेरिकी राष्ट्रपति विलियम म्याकिन्ले (१८४३-१९०१) को नाममा ‘माउण्ट म्याकिन्ले’ राखियो । त्यहाँका आदिवासी कोयुकोनहरूको थलोकिलोमा रहेको हिमशिखरको पुरानो नाम राष्ट्रपतिको नाममा पारिएको घटनालाई राम्रो मानिएको थिएन ।

अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामाले आफ्नो दोस्रो कार्यकालमा ‘माउण्ट म्याकिन्ले’ नाम खारेज गरेर स्थानीय कोयुकोन आदिवासीहरूकै भाषामा पुनः ‘देनाली’ नामकरण गरिदिए । उनले २०१५ मा अलास्का नै पुगेर ११९ वर्षअघिको अमेरिकी सरकारको गलत निर्णय सच्याउँदै कोयुकोनहरूप्रति भ्रातृत्व र सम्मानभाव प्रकट गरेका थिए ।

दक्षिण अफ्रिकामा गोरा जातिको रङ्गभेदी राज्यप्रणाली अन्त्य भएसँगै पुरानो स्थाननाम फर्काउने लहर आयो । यसबारे थुप्रै आलेख पाइन्छन् । ‘साउथ अपि|mकन हिस्ट्री अनलाइन’ का अनुसार राजधानीको गोराकालीन नाम ‘पि्रटोरिया’ बदलेर स्थानीय सेटवाना आदिवासीको भाषामा ‘च्वेन’ राख्ने प्रस्ताव अघि सारियो । च्वेनको अर्थ ‘समानता’ हुन्छ । लामो समयदेखि जनजिब्रोमा पि्रटोरिया बसेकाले यो पुरानो नाम प्रचलनमा आउन भने सकेको छैन ।

सडकको नामकरणमा हुने राजनीतिलाई लिएर अध्येताद्वय डङ्कन लाइट र क्रेग योङलेे प्रकाशित गरेको आलेखमा सोभियत संघ विघटन भएपछि रूसी र पूर्वसोभियत संघको समाजवादी छातामुनि रहेका मुलुकहरूले व्यापक रूपमा स्थान र मुख्य सडकहरूको नाम परिवर्तन गरेका दृष्टान्त पेश गरिएको छ ।
नेपालकै छिमेकी भारतमा पनि स्थाननाम परिवर्तनका अनेकौं प्रकरण छन् । सन् १९४७ मा अंग्रेजले स्वराज दिएपछि शुरू भएको स्थाननाम बदल्ने शृङ्खला भारतमा आजपर्यन्त जारी छ ।

कलकत्तालाई बङ्गाली भाषामा कोलकाता, मद्रासलाई तेलुगुमा चेन्नई, बम्बईलाई मराठीमा मुम्बई र बैङ्लोरलाई कन्नड भाषामा बेङलुरु भन्ने औपचारिक निर्णयहरू गरियो । स्वतन्त्रतापछि संघीय राजधानी नयाँदिल्लीका सडक-गल्लीहरूका बि्रटिशकालीन नामहरू मजैसँग बदलिए । किङ्सवे रोड राजपथ, किङ एडवर्ड रोड मौलाना आजाद रोड र कर्जन रोड कस्तुरबा गान्धी मार्ग भए ।

क्यानडाको सरकारी वेबसाइट अनुसार त्यहाँ ३० हजार जति रैथाने स्थाननाम छन् । तीमध्ये धेरैलाई पछि बसाइँ आएका युरोपेलीहरूले आफूअनुकूल परिवर्तन गरेका थिए । अहिले त्यहाँ पुराना स्थाननाम स्थापित गर्ने अभियान नै चलेको छ । यो काममा लागेका अभियन्ताहरूलाई विश्वविद्यालयका प्राध्यापकहरूले साथ दिएका छन् ।

यी दृष्टान्तहरूले अनेक कारणले विस्मृत बनाइएका स्थाननामलाई पुनर्स्थापित गर्न सम्भव छ भन्ने देखाउँछ । यहाँनेर विचारणीय पक्ष पनि छ । त्यो के भने, स्थाननाम परिवर्तन गर्दा प्रतीकात्मक प्रतिरोध विल्कुलै देखिनु हुन्न ।

अबको बाटो

नेपाल बहुभाषिक-बहुसांस्कृतिक मुलुक भए पनि हाम्रो सामाजिक मनोविज्ञानलाई एकल संस्कृतिवादले गाँजेको देखिन्छ । नयाँ संविधानले बहुलवादी समाजलाई आत्मसात् गरेको सन्दर्भमा एकल चिन्तन त्यागेर इतिहास सुहाउँदो सहअस्तित्वपूर्ण समाज निर्माणमा हाम्रा प्रयास केन्दि्रत हुन आवश्यक छ ।

लामो समयदेखि चलिआएको स्थाननामलाई जस्ताको तस्तै रहन दिनु धेरै हिसाबले श्रेयस्कर हुने भएकोले दुराशय वा लहडमा परिवर्तन गर्ने कार्यलाई विराम दिनुपर्छ । भइरहेको नामलाई नयाँ-नयाँ कारण खोजेर वा अकारण नै बदल्दा स्थानीय इतिहास, लोकभाषा र संस्कृतिप्रति बेइमानी हुन्छ ।

अवश्यंभावी कारणले कुनै ठाउँको नयाँ नाम जुराउनैपर्ने अवस्था आए त्यहाँको इतिहास, भाषा, संस्कृति, जीवनशैली आदि पक्षमा अध्ययन हुुनुपर्छ । सोही आधारमा रैथानेपन नमर्ने गरी नयाँ नाम राख्न सकिन्छ । स्थाननामको अर्थ बहुआयामिक हुने भएकाले यो गम्भीर विषय हो, जसप्रति सम्बन्धित पक्षहरू विवेकशील बन्नैपर्छ ।

अविवेकी किसिमले स्थाननाम परिवर्तन गर्दा युगौंको इतिहास त मेटिन्छ नै, स्थानीय भाषा, संस्कृति र समुदायको अपमान पनि हुन जान्छ । कतिको लागि यो घाउ बनेर रहन सक्छ ।

स्थाननाम कोश (२०६७) का सम्पादक कृष्णप्रसाद श्रेष्ठ (वि.सं. १९९५-२०७८) ले पुस्तकको भूमिकामा लेखेका छन्- जनता जनार्दन नै स्थाननामको स्रष्टा हो । त्यसैले स्थाननाम हाम्रो भाषिक तथा सांस्कृतिक निधि हो र यो कुनै न कुनै जातजातिको सिर्जनाको परिचायक हुन्छ ।

त्यसैले, अब सरकारीस्तरबाटै स्थाननाम जोगाउने अभियान शुरू हुनुपर्छ । यसक्रममा भौगोलिक नामहरूको आधारभूत तथ्याङ्क (डेटाबेस) तयार पारिनुपर्छ । योसँगै, हामीमा सांस्कृतिक सहअस्तित्वको भावना जाग्नु पनि उत्तिकै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?