+
+

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ २७ गते ९:२७

२७ भदौ, काठमाडौं । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पुनः एक सय रुपैयाँले बढाए ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

सनफ्लो नामक तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बेढेर २५ सय रुपैयाँ पुर्‍याइएको छ भने धारा हेल्थको मूल्य २८ सयबाट बढाएर २९ सय रुपैयाँ प्रतिकार्टुन पुर्‍याइएको संघले जनाएको छ । ‘ठीक १२ दिनमा तेलको मूल्य फेरि बढेर आयो, अहिले लिटरमा १० रुपैयाँ मूल्य बढेको छ,’ असनमा किराना पसल चलाउने संघका सदस्य कबिन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने । महँगिएका कारण धारा नामक तेल बिक्री गर्नै नसकिएको उनले बताए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सार विभागको विवरणमा देखिएको छ

‘एक वर्षमा तेलको मूल्य दोब्बर भएको छ, उपभोक्तालाई हरेक साता मूल्य बढ्यो भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो,’ श्रेष्ठले भने । गत वर्ष भदौंमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि रहेको उनले बताए ।

नेपालमा अभाव, भारततर्फ ९ अर्बको तेल निकासी

वाणिज्य विभागले गरेको एक अध्ययनअनुसार उद्योगीहरुले कार्टेलिङ गरेर तेलको कारोबार गरिरहेका छन् र त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् । नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम् मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको विवरण वाणिज्य विभागलाई प्राप्त भएको एक अधिकारीले बताए ।

घरेलु कच्चा पदार्थमा आधारित स्वदेशी लगानीको उद्योगले न्युनतम् सामाजिक दायित्व समेत पूरा नगरी तेलमा नाफा कामाउने उद्देश्य राखेको विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् । विभागलाई प्राप्त सूचना र विभागले तेल उद्योगसँग मागेको तेल उत्पादन र बिक्रीको विवरण अध्ययन भइरहेको पौडेलले जानकारी दिए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सारको विवरणमा देखिएको छ । चालु आर्थिक वर्षको एक महिनामा मात्रै नेपालबाट भारततर्फ भटमास र सूर्यमुखी गरेर ९ अर्ब रुपैयाँ भन्दा बढीको तेल निर्यात भएको देखिएको छ । आर्थिक वर्षको पहिलो एक महिनामा ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँ बराबरको ४ करोड ४८ हजार ७०१ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । यस्तै ७९ करोड १९ लाख २३ हजार रुपैयाँ बराबरको ४० लाख १६ हजार ३७४ लिटर सूर्यमुखी तेल पनि व्यापारीले भारतमा बेचेका छन् ।

तेलमा उद्योगीको तीन प्रकारका झेल

सरकारी अध्ययनअनुसार तेल उद्योगीले नेपाली उपभोक्ता र बजारमाथि तीन प्रकारका झेल गरेका छन् । एक वर्षमा खाने तेलको मूल्य शतप्रतिशत वृद्धि हुनुमा खुल्ला बजारले मूल्य निर्धारण गर्ने बजारको स्वतन्त्रता खोसिएको वाणिज्य विभागको बुझाइ छ । ‘विदेशबाट तेलको कच्चा पदार्थ प्रशस्त मात्रामा नेपाल भित्रिएको छ, अधिक मात्रामा आएपछि त खुल्ला बजारमा मूल्य सस्तो हुनुपर्ने हो तर मिलोमतोमा झनै मूल्य उचालिएको छ,’ विभागका महानिर्देशक पौडेलले भने ।

विभागले गरेको अनुसन्धानमा तेल उद्योगीहरुको कैफियत देखिएको छ । तेलको आपूर्ति नेपालतर्फ मिलोमतोमा कम गराएरको, मूल्य निर्धारण प्रणाली विश्वासिलो नभएको र तेल बिक्रीको वितरण प्रणालीमा अपारदर्शी जालो राखेको पाइएको उनले बताए । विभागले मगाएको उद्योगीको कागजात अनुसन्धान अधिकृतहरुले अध्ययन गरिरहेको भन्दै उनले कैफियत भटिए खुद्रा र डिलर नभई उद्योगीमाथि नै अधिकतम् कारबाही गरिने बताए ।

सम्पर्कमै आउन चाहन्नन् उद्योगी

खाने तेलको मूल्य एक वर्षमा कसरी दोब्बर भयो भनेर सोध्न हामीले पटक–पटक उद्योगीहरुलाई सम्पर्कको प्रयास गर्‍यौं । परिचयसहित म्यासेज गर्दा पनि तेल उद्योगी र उद्योगीहरुको छाता संगठनका वर्तमान तथा पूर्व पदाधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । यसरी पन्छिनेहरुमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप कुमार अग्रवाल पनि एक हुन् ।

शिवशक्ति आयल इण्ड्रष्टिजका सञ्चालक अग्रवालको कम्पनीले सोयाबिन र सनफ्लावर तेल नेपाल तथा भारतमा बिक्री गर्ने गरेको छ । गत आर्थिक वर्षमा मात्रै अग्रवालको कम्पनीले २१ हजार ७६ मेट्रिकटन तेल भारत निर्यात गरेको छ ।

यस्तै संघका निवर्तमान अध्यक्ष विकास दुगड पनि तेलको मूल्य वृद्धिबारे बोल्न चाहेनन् । स्वस्तिक आयल इन्ड्रष्टिजका सञ्चालक दुगडको कम्पनीले प्रिमियम मूल्यमा धारा ब्राण्डमा नेपाल र भारतमा तेल बिक्री गर्दै आएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?