
२७ भदौ, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमिति अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् ।
समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मेनुका कुँवर रहेका छन् । त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् भने सल्लाहकारहरुमा मदनकुमार श्रेष्ठ, रुद्र खड्का, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् ।
कार्यक्रममा समाजद्वारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताए । उनले श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीको बारेमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सुसुचित गराउन सके धेरै समस्या हल हुने बताए ।
श्रम मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोभिड महामारीले आर्थिक गतिविधि ठप्प हुँदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारको क्षेत्रले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु संस्थागत भएको भन्दै खुसी व्यक्त गरे ।
प्रतिक्रिया 4