+
+

राजनीतिमा नयाँ भर्सेस पुरानो पुस्ता

दिवस खनियाँ दिवस खनियाँ
२०७८ भदौ २८ गते ११:४३

राजनीतिमा शक्ति संघर्षलाई सामान्य नै मानिन्छ । खासगरी वर्षौंदेखि शक्तिको उपयोग गरिरहेको पुरानो पुस्ता र शक्ति हासिल गर्न चाहने युवा पुस्ताबीच हुने यस्तो संघर्ष अझै रोचक हुन्छ । युवाहरू पुरानो पुस्तालाई ‘आउट डेटेड’ मान्छन् भने पुरानो पुस्ता युवाहरूलाई ‘अपरिपक्व’ देख्छन् ।

गहिरिएर हेर्ने हो भने, यस्तो संघर्ष एउटा परिवारभित्र बाबु-छोराबीच हुने संघर्षकै रूपमा पनि बुझ्न सकिन्छ । जसरी एउटा परिवारमा बाबुले सहजै आफ्नो शक्ति छोरालाई हस्तान्तरण गर्न चाहँदैन, त्यसैगरी राजनीतिमा पनि पुस्तान्तरणको सवाल निकै पेचिलो बन्ने गर्छ।

राजनीतिमा ‘ओल्ड गार्ड्स’ र ‘न्यू गार्ड्स’ बीचको यो संघर्ष त्यति नौलो कुरा भने होइन । तर आजको स्थितिमा हाम्रा ‘न्यू गार्ड्स’ हरू अत्यन्तै लाचार र विचरा देखिन थालेका छन् । ‘ओल्ड गार्ड्स’ को रक्षाकवचका रूपमा युवापुस्ता प्रयोग हुँदै आएका छन् । तर, स्थिति सधैं यस्तो हुँदैन ।

कुनै देशमा ४५ वर्षको युवा प्रधानमन्त्री भएको दृष्टान्त हाम्रै सामु छ । आज हामी तिनै देशलाई यहाँ उदाहरणको रूपमा प्रस्तुत गर्छौं । आज भन्दा ७० वर्ष पहिले यही देशले ४४ वर्षीय विश्वेश्वरप्रसाद कोइरालालाई जननिर्वाचित प्रधानमन्त्रीका रूपमा पाएको थियो । त्यही समय वरिपरि २५ वर्षीय पुष्पलालको नेतृत्वमा ‘नेपाल कम्युनिष्ट पार्टी’ को स्थापना भएको थियो ।

७० वर्ष पहिले नै ४४ वर्षीय बीपीलाई मुलुकको प्रधानमन्त्री बनाउने त्यही पार्टीको विद्यार्थी संगठनका अध्यक्ष आज ४८-५० वर्षका हुन्छन् । पुष्पलालकै जगमा उभिएका आजका कम्युनिष्ट पार्टीहरूमा २५ वर्षीय युवालाई सानो जिम्मेवारी दिन पनि अपरिपक्व मानिन्छ । यो अत्यन्त दु:खद विषय हो । तर, यसको सम्पूर्ण दोष पुरानो पुस्तामाथि थोपरेर युवा पुस्ता पानीमाथिको ओभानो बन्न मिल्दैन ।

राजनीतिमा नैतिकताको खडेरी परेका बेला पुस्तान्तरण त्यति सहज हुँदैन । युवा पुस्ताले हस्तक्षेपकारी भूमिकामा आफूलाई नउभ्याउँदासम्म पुरानो पुस्ता आफैंले दिंदैन । ३५ वर्षको युवा उमेरमा पार्टी महासचिव भई २४० वर्षीय राजतन्त्रात्मक राज्यव्यवस्थालाई नै चुनौती दिन सक्ने अहिलेको सत्ताधारी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका युवा कार्यकर्ता स्वयम् निरीह अवस्थामा छन् । उनीहरूको भूमिका केवल पार्टीको पहिलो पुस्तालाई गाली गर्नमै सीमित छ । आफ्नो भूमिकालाई सशक्त पार्दै पार्टीभित्र आवश्यक हस्तक्षेप र विद्रोह गर्न ढिला भएन र ?

मदन भण्डारीलाई आफ्नो आदर्श मान्ने युवाहरू “जबज” लाई बाइबल, गीता बनाउनतर्फ लाग्ने कि मुलुकलाई नयाँ विचार दिन आफूलाई काबिल बनाउने ? आज यो प्रश्न जबर्जस्त बनेर उठेको छ । खैर जे भए पनि पुस्तान्तरणको बहस नेपाली राजनीतिमा पुन: एकपटक मुखरित भएर आएको छ ।

पुस्तान्तरण अनुहार फेर्ने बहाना मात्र बन्छ अथवा पुरानो प्रवृत्तिमै परिवर्तन आउँछ ? यो प्रश्न झन् जटिल रूपमा उठेको छ । गुलामीको दौडबाट लाभको पद हासिल गर्न आफ्नो क्षमता र दक्षता खर्च गर्नतिर लाग्नुभन्दा आफैंलाई विश्वास गर्न सक्नुपर्छ

कम्युनिष्ट पार्टीहरूभित्रको अन्तरकलह, छिन्नभिन्न अवस्था र नेपाली कांग्रेसको आसन्न महाधिवेशनका कारण यो बहस अझै मजबूत रूपमा प्रस्फुटित हुने निश्चित देखिन्छ । मुलुकका यी प्रमुख राजनीतिक दलभित्र अबको नेतृत्व युवाहरूले लिनुपर्छ भन्ने मत बाक्लो र बलियो बन्दै गएको छ । तर, आफूलाई युवा भन्ने तप्का भने नेतृत्व लिन अझै तयार छ कि छैन ? यो प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ ।

यदि तयार भए पनि सामान्य हिसाबले मागेको भरमा पुरानो पुस्ताले बाटो खाली गरिदिने देखिंदैन । पार्टीभित्र पुरानो पुस्तासँग लड्ने साहस नयाँ पुस्तामा छ कि छैन ? जिम्मेवारी लिन युवा पुस्ता आफैंमा परिपक्व र सक्षम छ कि छैन ? तिनलाई पुरानो पुस्ताको टेको आवश्यक पर्छ या पर्दैन ? यस्ता सवाल त छँदैछन् । साथसाथै पुस्तान्तरण अनुहार फेर्ने बहाना मात्र बन्छ अथवा पुरानो प्रवृत्तिमै परिवर्तन आउँछ ? यो प्रश्न झन् जटिल रूपमा उठेको छ ।

पुस्तान्तरणको यो लडाईं सोचेजस्तो सजिलो छैन । सबैभन्दा पहिले युवा पुस्ता आफैं सुध्रनु आवश्यक देखिन्छ। साँचै युवाहरू पुस्तान्तरणको पक्षमा छन् भने उनीहरूले आफ्ना मातहत रहेका कमिटीबाट त्यसको थालनी गर्नुपर्छ । गुलामीको दौडबाट लाभको पद हासिल गर्न आफ्नो क्षमता र दक्षता खर्च गर्नतिर लाग्नुभन्दा आफैंलाई विश्वास गर्न सक्नुपर्छ ।

पुरानो पुस्ताको जयजयकारमा आफ्नो सामर्थ्य खर्च गर्नुभन्दा विचार-राजनीतिलाई हतियार बनाएर चुनौती दिन सक्नुपर्छ । समयानुकूल दर्शन र सिद्धान्तको विकास गर्न आफूलाई समर्पित गर्न सक्नुपर्छ । देश र जनताको आर्थिक र सामाजिक विकासका लागि एउटा नयाँ दृष्टिकोण दिन सक्नुपर्छ । राष्ट्रियता र जनजीविकाका सवाललाई मौलिक ढंगले परिभाषित गर्न सक्नुपर्छ ।

युवाहरूले आफ्नो पार्टीमा वास्तवमै पुस्तान्तरण उठाएको हो भने नयाँ राजनीतिक संस्कारको विकास गर्न सक्नुपर्छ । राजनीतिप्रतिको वितृष्णाले वाक्क भएको ठूलो युवा समूहलाई राजनीतिप्रति आशावादी बनाउन सक्नुपर्छ। मागेर होइन आफ्नो क्षमताले नेतृत्व लिन सकिन्छ भन्ने आम मनोविज्ञान स्थापित गर्न सक्नुपर्छ । पुस्तान्तरणको संघर्षमा इच्छाशक्ति नै सबैभन्दा ठूलो हतियार हो ।

त्यसका लागि कुनै नेताको फेरो समात्न भन्दा आफ्नै योग्यतामा विश्वास गर्नुपर्छ । ३३ वर्षमा अलेक्जेन्डर विश्वविजेता बन्न सक्छन्, २८ वर्षका चे र ३३ वर्षका फिडेलले क्युबामा समाजवादको झण्डा फहराउन सक्छन् भने हामी युवाहरूमा पनि त्यो क्षमता छ । तर, त्यसका लागि इमान्दार प्रतिबद्धताको खाँचो छ । त्यसैले म सक्छु, हामी सक्छौं भन्ने विश्वास आफैंभित्र जाग्नु जरुरी छ।

(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?