+
+

समयमै नकिन्दा देशभर विद्युत मिटर र ट्रान्सफर्मरको अभाव

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असोज ३ गते १७:५४
प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डार

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरण खपत नभएको बिजुली खेर जानबाट रोक्न नसकेर सकसमा छ । यही बेला प्राधिकरणका वितरण केन्द्रहरु ग्राहककोमा जोडिने बिजुलीको मिटर र वितरण लाइनमा जडान हुने ट्रान्सफर्मरहरुको अभाव भोग्दैछन् । यसले एकातिर बिजुली खपत नभएर खेर जाने र अर्कोतिर प्राधिकरण नयाँ ग्राहकको मागअनुसार बिजुली दिन नसक्ने विडम्बनापूर्ण अवस्थामा पुगेको छ ।

विद्युत् प्राधिकरणका हरेकजसो वितरण केन्द्रमा सिंगल र थ्री फेज मिटरको अभाव छ । प्राधिकरणको यसअघिको नेतृत्वले सयममै टेन्डर गरेर आपूर्ति गर्न नसक्दा ट्रान्सफर्मर र मिटरको अभाव भएको हो । गत साउन दोस्रो साता प्राधिकरणमा फेरि कार्यकारी निर्देशक भएर फर्किएलगत्तै कुलमान घिसिङलाई मिटर र ट्रान्सफर्मरको अभावको संकटले घेरेको छ । उनी नेतृत्वमा हुँदा किनिएको उपकरणले अहिलेसम्म माग धानिरहे पनि अब अभावले चरम रुप लिन थालेको छ ।

काठमाडौंका एक वितरण केन्द्र प्रमुखकाअनुसार अहिले ग्राहकको माग बमोजिम मौज्दात मिटरहरु छैनन् । दशैंको समयमा थप मिटरहरु जोडिने भए पनि प्राधिकरणले पर्याप्त मिटर उपलब्ध गराउन नसकेको ती वितरण केन्द्र प्रमुखले बताए ।

वर्षमा करिब ३ लाख नयाँ विद्युत ग्राहक थपिन्छन् । यसअनुसार महिनामा औसत २५ हजारभन्दा बढी मिटर जडान हुन्छन् । तर, मागअनुसार मिटर पुर्‍याउन प्राधिकरणलाई सकस पर्न थालिसकेको छ ।

‘अहिले मागेजति मिटर पाइरहेका छैनौं,’ ती प्रमुखले भने, ‘अहिलेसम्म ग्राहकलाई जसोतसो मिटर उपलब्ध गराइरहेका छौं, यो अवस्था लम्बियो भने नयाँ लाइन जोड्न बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

गत भदौ ७ गते वितरण केन्द्र प्रमुखहरुसँग प्राधिकरणले गरेको बैठकमा पनि ट्रान्सफर्मर र मिटर अभावको विषय चर्कोसँग उठेको थियो । वितरण केन्द्र प्रमुखहरुले आवश्यक उपकरण नहुँदा काम गर्न समस्या पर्न थालेको भन्दै छिटो समाधान गर्न नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका थिए । प्राधिकरणको नेतृत्वले नियमित तालिकाअनुसार पोल, मिटर र ट्रान्सफर्मर नकिन्दा ग्राउन्डमा काम गर्न सकस भएको प्रादेशिक प्रमुखहरुले पनि बताएका थिए ।

‘विद्युतीकरणको दर हेरेर त्यसअनुसार प्रणाली सदृढ र विस्तार गर्न पर्याप्त मात्रामा उपकरण चाहिन्छ,’ अर्का एक वितरण केन्द्र प्रमुख भन्छन्, ‘घिसिङ सरले आवश्यकभन्दा धेरै पोल, ट्रान्सर्फमर र मिटर खरिद गरेको भनेर हल्ला गरिएको थियो, अभावको अवस्था आउन नदिन त्यो अत्यावश्यक रहेछ भन्ने अहिले देखियो ।’

प्राधिकरणको एक नम्बर प्रादेशिक कार्यालयका निर्देशक राजन ढकाल मिटरको माग र आपूर्तिको सन्तुलन नमिल्दा दबाब परेको बताउँछन् । पछिल्ला केही महिनामा पर्याप्त मिटर नभएकाले सकस परेको भन्दै उनले अबको एक महिनासम्म पनि आपूर्ति नियमित नभए ठूलो समस्या पर्न सक्ने बताए ।

‘मिटरमा मात्रै हैन, ट्रान्सफर्मर र कण्डक्टर (तार) पनि पर्याप्त छैन, पुराना ट्रान्सफर्मर मर्मत गरेर काम चलाइरहेका छौं,’ उनले भने, ‘खरिद प्रक्रियाका कारण आपूर्तिको चक्र बिग्रिँदा समस्यामा पर्न गयो ।’

विद्युत प्राधिकरणका अनुसार अहिले प्रादेशिक कार्यालय र वितरण केन्द्रहरुसँग करिब ५० हजार मिटर छन् । त्यसबाहेक प्राधिकरणसँग करिब ३० हजार मिटर मौज्दातमा रहेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल बताउँछन् ।

अभावको अवस्था आउन लागेपछि प्राधिकरणले पुराना मिटर पनि प्रयोगमा ल्याउन थालेको छ । सिलवालकाअनुसार काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका घरमा स्मार्ट मिटर जोडिएपछि निकालिएका चुस्त अवस्थामा ८० हजार मिटर फेरि प्रयोगमा ल्याइएको छ ।

प्राधिकरणले यसअघि मिटर आपूर्तिका लागि भएको ठेक्का प्राविधिक कारण सफल हुन नसकेको बताएको छ । ‘फूलपातीसम्म हामी मिटर आपूर्तिका लागि ठेक्का गरिसक्ने गरी तयारीमा छौं,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘नयाँ मिटर आपूर्ति नहुँदासम्म दुई–तीन महिना मिटरको अभाव चर्किन सक्ने देखेका छौं ।’

अभावको अवस्था नरहेको दाबी गर्दै उनले सिंगल फेज मिटरको मौज्दात थोरै भएका कारण खटाइ–खटाइ दिनुपर्ने अवस्था आएको बताए ।

प्राधिकरणले सिंगल फेज मिटरको मात्रै अभाव भएको दाबी गरे पनि वितरण केन्द्रहरु थ्री फेज मिटरहरु पनि अभाव रहेको बताइरहेका छन् । यसले गर्दा ठूलो परिमाणमा बिजुली खपत गर्ने औद्योगिक तथा व्यावसायिक फर्मले पनि समयमै मिटर नपाउने अवस्था आएको छ ।

उपकार्यकारी निर्देशक सिलवाल भने गत हप्तामात्रै थप थ्री-फेज मिटर आईपुगेकाले अब वितरण केन्द्रहरुमा पठाइने र अभाव नहुने बताउँछन् ।

वर्षमा करिब ३ लाख नयाँ विद्युत ग्राहक थपिन्छन् । यसअनुसार महिनामा औसत २५ हजारभन्दा बढी मिटर जडान हुन्छन् । तर, मागअनुसार मिटर पुर्‍याउन प्राधिकरणलाई सकस पर्न थालिसकेको छ ।

ट्रान्सफर्मर पनि अभाव

मिटरको भन्दा ट्रान्सफर्मरको बढी अभाव छ । देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने सयौं ट्रान्सफर्मरको माग छ । तर, प्राधिकरणले मागअनुसार वितरण केन्द्रहरुलाई ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन ।

प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डार

प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डारका प्रमुख बुद्धकुमार कार्की प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सफर्मर गुणस्तरयुक्त प्रमाणित भएर लाइनमा जोडिइसकेको बताउँछन् ।

‘वितरणलाइन सुधारका लागि ८ हजार ट्रान्सफर्मर ल्याउँदा करिब ६०–७० वटा ट्रान्सफर्मरका विभिन्न भागमा टुटफुट देखिएको थियो, यो सामान्य पनि हो, सम्बन्धित आपूर्तिकर्ता कम्पनीले त्यसलाई मर्मत गरिरहेको छ,’ कार्की भन्छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म यस्तो झुठो तथ्य पुर्‍याएका कारण नै मिटर र ट्रान्सफर्मरको खरिद प्रक्रिया अघि बढाउन प्राधिकरणलाई संकट परेको थियो । मिटर र ट्रान्सफर्मरको आपूर्ति चक्र नबिथोलिने गरी थप मिटर खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा अनेकन बहानामा ढिलाइ हुँदा यस्तो अवस्था आएको हो ।

उनका अनुसार ७० वटा जति मात्रै ट्रान्सफर्मर तत्कालै प्रयोग गर्न सकिने अवस्थामा मौज्दातमा छन् । प्राधिकरणका विभिन्न आयोजनाहरुले खरिद गरेर राखेका थप ६०–७० वटा ट्रान्सफर्मर पनि मौज्दातमा छन् ।

‘हामीसँग मुस्किलले १५० वटा ट्रान्सफर्मर छन्,’ उनले भने, ‘आपूर्ति सहज राख्ने हो भने कम्तीमा ५ सय वटा ट्रान्सफर्मर हामीसँग मौज्दातमा हुनुपर्ने हो ।’

प्रणालीमा जति बेला पनि समस्या आएर ट्रान्सफर्मर बिग्रन सक्ने र वितरणलाइन विस्तार र स्तरीकरण गर्दा फेरिरहनुपर्ने भएकाले भण्डारमा थोरै मात्रै ट्रान्सफर्मर हुँदा त्यसले आपूर्ति  प्रणालीमै समस्या पर्ने कार्कीले बताए ।

प्राधिकरणले केही हप्तामै करिब २६ सय ट्रान्सफर्मर खरिदका लागि ठेक्का सम्झौता गर्ने तयारी छ । उपकार्यकारी निर्देशक सिलवालका अनुसार अहिले हेटौंडामा दैनिक ९–१० वटा बिग्रिएका ट्रान्सफर्मर मर्मत गरेर अभाव टार्ने प्रयास हुँदैछ ।

‘दशैं–तिहारको समयमा प्रणाली व्यवस्थापनका लागि नयाँ ट्रान्सफर्मर आवश्यक पर्ने भएकाले अहिले हामी समस्यामा नै छौं,’ सिलवाल भन्छन् ।

समयमै निर्णय नगर्दाको प्रभाव

प्राधिकरणले समयमै आवश्यक निर्णय नगर्दा न्यूनतम् विद्युतीय उपकरणसहित मिटर र ट्रान्सफर्मर अभावको अवस्था आएको हो । ठेक्का प्रक्रिया लामो हुने भएकाले अभावको अवस्था आउने जोखिमको मूल्यांकन गरेर वर्षैसाल खरिद योजनाअनुसार काम हुनुपर्ने हो । तर, गत वर्ष नेतृत्व परिवर्तन भएर हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेपछि प्राधिकरणमा बढेको राजनीतिक प्रभाव र नयाँ नेतृत्वको कमजोर निर्णय क्षमताले यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको आरोप छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ ८ गते पोखरामा भएको वृहत कार्यकर्ता भेलामा दिएको अभिव्यक्तिले पनि प्राधिकरणको तर्कमा बल दिन्छ । ओलीले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यकताभन्दा बढी ट्रान्सफर्मर किनेकोतर्फ संकेत गर्दै हेटौंडामा ट्रान्सफर्मरको शहर नै भएको बताएका थिए । पैसा हालेर किनेको तर काम नलागेर फालेको भन्दै उनले थुप्रै बिगाह जमिनमा ट्रान्सर्फमरै–ट्रान्सफर्मर भएको दाबी गरेका थिए ।

रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय

तत्कालीन प्रधानमन्त्री ओलीसम्म यस्तो झुठो तथ्य पुर्‍याएका कारण नै मिटर र ट्रान्सफर्मरको खरिद प्रक्रिया अघि बढाउन प्राधिकरणलाई संकट परेको थियो । मिटर र ट्रान्सफर्मरको आपूर्ति चक्र नबिथोलिने गरी थप मिटर खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा अनेकन बहानामा ढिलाइ हुँदा यस्तो अवस्था आएको हो ।

प्राधिकरणका अधिकारीहरुका अनुसार ढिला गरी अघि बढेको प्रक्रियामा पनि प्राविधिक उल्झन आएको थियो । २०७३ अघि पनि प्राधिकरणमा मिटर र ट्रान्सफर्मरको चर्को अभाव हुन्थ्यो । प्राधिकरणले ट्रान्सफर्मर, पोल र मिटर पर्याप्त नकिन्दा प्राप्तिका लागि राजनीतिक पहुँच प्रयोग गर्नुपर्ने अवस्था थियो ।

२०७३ सालपछि प्राधिकरणले नियमित रुपमा मागअनुसार मिटर र ट्रान्सफर्मर किन्न थालेसँगै आपूर्ति सहज भयो । यसले गर्दा नेता कार्यकर्ताले ट्रान्सफर्मर र पोल वितरण गरेर राजनीतिक लाभ लिने अवस्था लगभग अन्त्य भएको थियो । प्राधिकरणका कर्मचारीले मिटर जोड्न घुस माग्ने क्रम पनि घटेको थियो । अब फेरि सोही दिन फर्किने अवस्था आएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?