+
+

‘केटी कुनै वस्तु हो र माग्न जानलाई ?’

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०७८ असोज ६ गते ८:३४

गत असार महीनाको कुरा हो । जतिबेला बिहेको सिजन थियो । मेरो एकजना साथीले पहिल्यैदेखि मन पराइरहेको एउटा केटीसँग कुरा अगाडि बढेको जानकारी दिंदै थियो । त्यसैक्रममा एकदिन च्याटमा साथीको म्यासेज आयो ‘हामी त आज केटी माग्न जान लागेको यार ।’

मैले उत्तर दिएँ- ‘केटी कुनै वस्तु हो र माग्न जानलाई ?’ शायद गहिराइको भाव उसले बुझेन र ठट्यौली पारामा जवाफ दियो- ‘ल बढी प्रगतिशील हुने काम नगर्ने ।’

त्यो दिनको च्याट त्यहीं रोकियो । त्यसपछि उसले बिहे गर्यो । दुलही भित्र्यायो । अनि फोटोहरु पनि पोस्ट्यायो फेसबुकका भित्ताहरूमा । टाढा थिएँ । जान सकिनँ र त मैले पनि वैवाहिक जीवनको शुभकामना भन्दै कमेन्ट गर्दिएँ ।

तर धेरैपछि आजकल मलाई केटी माग्न जाने परम्परामा घोत्लिन मन लागेको छ । यो मात्र होइन, बिहेअघिको प्रेम र बिहेपछिको प्रेममा समेत केही लेख्न मन लागेको छ ।

बिहेअघि केटी भर्जिन छ वा छैन भनेर प्रश्न गर्नु, बिहेअघि केटीका सम्बन्धहरू कति जना केटासँग थिए भनेर खोजीनिती गर्नु, बिहेअघि केटी हेर्न जानु, अनि शरीरका अंगदेखि लिएर कपाल, छालाको रङ, उँचाइ, दुब्लो-पातलो, कम्मर हिपदेखि लिएर हिंड्ने चालसम्म मध्यनजर गरेर नापतौल गर्नु- के यी सबै वस्तुपरक चीज होइनन् र ? के केटीहरूको शरीर कर्पोरेट हाउसको विज्ञापन गर्ने होर्डिङ बोर्ड हो र ? बिहेमा, सम्बन्ध यसरी नै गाँसिन्छ र ?

‘आर यु अ स्टिल भर्जिन ?’ यो प्रश्न एउटा विवाहित पुरुषले बिहेको पहिलो रात आफ्नी श्रीमतीलाई किन सोध्छ होला ? सबैले नसोध्लान् तर अधिकांशमा यो मनोवृत्ति रहन्छ भन्दा फरक नपर्ला ।

के पुरुषहरूले चाहिं बिहेअघि जे गरे नि हुने अनि नारीहरू चैं ‘ओहो मेरो बिहे भाको छैन’ भन्दै डर मानेर बस्नुपर्ने हो र ? भर्जिनिटी पुरुष र महिला दुवैका लागि एउटै परिभाषा भए पनि बिहेअघि केटा कति जनासँग यौन सम्बन्धमा थियो भन्दा पनि केटी चाहिं कति जनासँग यौन सम्बन्धमा थिई भन्ने कुरामा समाज जिज्ञासु बन्ने गर्छ । यो विडम्बनालाई आज चिरेरै छलफल गर्नुपर्ने भएको छ ।

केटाहरू आफूबीच अलिकति खुल्ला भएर बिहेको बारेमा गफ गरिरहँदा उनीहरू भन्ने गर्छन्, ‘केटी जे पढोस् जतिसुकै सम्पत्तिको हकदार होस् तर भर्जिन चाहिं चाहिन्छ ।’ उनीहरू कर्म र योग्यतामा जे सुकै दाग होस् तर कुमारीत्वमा दाग नहोस् भन्ने चाहन्छन् । यस्तै यस्तै कथनमा निहित हुन्छन् उनीहरूका ननभेज जोक्स पनि ।

जहाँ योनीलाई सुरक्षित राख्न कबज जडान गर्ने डरपोक श्रीमानका हर्कतहरू पनि समेटिन्छन् । गर्लफ्रेन्डको कुमारीत्व जाँच गर्न उसले पहिलो समागममा निकाल्ने आवाजलाई आधार मान्ने ब्वाइफ्रेन्डका सोचहरू पनि समेटिन्छन् । कुमारीत्व परीक्षण गर्न सुहागरातमा सेतो तन्ना ओछ्याएर भोलिपल्ट सासूले तन्ना ओल्टाइपल्टाइ हेरेका दृश्यहरू समेत अचेल फिल्ममा देखिन्छन् ।

आखिर यी सबै योनीलाई सूचक मानेर नारी जाति माथि नै गरिएका अत्याचारका उदाहरणहरू हुन् जो अहिलेको समाजमा पनि जीवित छ भन्ने कुरा छर्लङ्ग देखाउँछ । नारीहरूलाई वस्तु जस्तै सस्तो बनाएर कमजोर बनाउने खेल पनि हो ।

म एउटा मेडिकलको विद्यार्थी हुँ । पेशाले चिकित्सक छु । नारीलाई जननीको रूपमा हेरिन्छ । त्यसैले पनि नारीमा गर्भाशय, योनी र स्तन जस्ता अङ्ग हुनु एउटा सामान्य शरीर रचना अन्तर्गत पर्दछ ।

तर सृष्टिकर्ताका रूपमा हेरिने नारीका यी अङ्गहरू नै वस्तुपरक कारण बन्दछन् । नारीका लागि वरदान सावित यी अङ्गहरू हिंसाग्रस्त पुरुषका लागि खेलौना बन्दछ । यो कस्तो नियति ? साँच्चै एउटा आमाले छोरी जन्माउँदा गर्व गर्ने दिन कहिले आउँछ ?

ओठमा लगाउने लिपिस्टिक, सिउँदोमा लगाउने सिन्दुर, अनुहारमा लगाउने पाउडर, कपाल सिल्की बनाउने स्याम्पु-कन्डिसनर, नङमा लगाउने पालिस, शरीर सुगन्धित बनाउने अत्तर अनि स्तन र योनी छोप्ने भित्री वस्त्रहरू पो सबै वस्तु हुन्छन् त तर ओठ, अनुहार, कपाल, नङ, स्तन, योनी अनि पूरै शरीर कसरी वस्तु हुनसक्छ र ?

प्रेमीले वा श्रीमानले चाहँदैमा शरीर स्लिम बनाउनुपर्ने, कपाल सिल्की बनाउनुपर्ने यो सबै के जबरजस्ती हुँदैन र ? के पुरुषले चाहँदैमा सर्लक्क पातलो हुनलाई नारीको शरीर रोटी हो र ? के यसमा नारीको कुनै चाहनाले महत्व राख्दैन र ?

बारम्बार सजिएर आउने, चुपचाप बस्ने मन परे ग्राहकले किन्ने नत्र ओल्टाईपल्टाई गरेर कमजोरी देखाएर छोड्ने फेन्सी पसलको डमी जस्तै भएन र नारीको जिन्दगी !

‘गोरो छाला भएन भने त कसैले हेर्दै नहेर्ने भए । केटाहरूले प्रेम प्रस्ताव नै नराख्ने भए । जति नै पढे पनि कुरूपको दर्जा भिराएर कसैले बिहे नगर्ने भए ।’ के तपाईं पनि यस्तै हविगत भोगेर निराश हुनुभएको छ ? आजदेखि ऐना हेर्न बन्द गर्दिनुस् । चाया पोतो आयो अनि छाला फुस्रो भयो भनेर कति दिग्दारी मानेर बस्नुहुन्छ ? तपाईं मोटी हुनु के तपाईंको कमजोरी हो र ? हाइट सानो भएर होची हुनु तपाईंको पूर्वजन्मको पाप हो र ? यी सब छोड्दिनुस् । आफ्नो क्षमतामा काबु राख्नुस् । कति चाहिं तपाईंले मात्र सहने ?
छोडिदिनुस् धाउन डाक्टरका क्लिनिक र ग्यारेन्टी युक्त प्याकेजहरू लिन । तपाईंलाई आज मोटी भनेर रिजेक्ट गर्ने केटाले तपाईं दुई महीनामा दुब्लाएर उसकै अघि पर्नुभयो भने पनि अर्को कमजोरी देखाउने छ । स्वीकारै गरेर बिहे गरेछ भने पनि तपाईंमा कुनै पाठेघर सम्बन्धी डिफेक्ट आएर बच्चा पाउन नसक्ने हुनुभयो भने तपाईंलाई डिभोर्स दिनेछ ।

तर उही श्रीमानको ‘स्पर्म’मा डिफेक्ट देखियो भने अनेक उपाय गरेर तपाईं नै घर बसाउन खोजी राख्नुहुन्छ । यदि तपाईंको कमजोरीलाई आत्मसात् गरेर कसैले प्रेम गर्दैन भने बिहे गरेर पछुताउने काम नगर्नुहोला ।

सम्बन्ध आ-आफ्नो ठाउँमा हुन्छ तर म त सर्वस्व उसकै हुँ जसरी प्रस्तुत हुनुभयो भने तपाईंको व्यक्तिगत क्षमतालाई ओझेलमा पारी आफ्नो घमण्डको छाता ओढाउने छन् । एकचोटि कन्फर्म गरेर काटेको टिकट फिर्ता हुन्छ भने अनायासै अन्जानमा लगाएको माया किन फिर्ता हुँदैन ?

ब्वाइफ्रेन्डसँग एकचोटि आपसी सहमतिमा शारीरिक सम्पर्क गरियो भन्दैमा जहिले पनि उसको समय र कामुकताका आधारमा तयार हुनुपर्छ भनेर कहाँ लेख्या छ र ? हाम्रो जीउडाल कुनै फारम जस्तो हो र ? यो छ, यो छैन भन्दै भर्ने अनि मापदण्ड पूरा भए चैं बिहेको कुरो अघि बढाउनलाई ।

केटी हेर्न जाने रे ? यो कुरा वाहियात् हो ! अनि केटा चैं हेर्नु पर्दैन र ? जस्तो भए पनि भयो ? केटीलाई हेर्दा केटी श्रृङ्गार गरेर आउनुपर्ने रे ! के केटीको जिन्दगी चिरीच्याट्ट पारेर पसलेले बेच्ने गिफ्ट जस्तो हो र ? हेर्‍यो- रिजेक्ट गर्यो, फेरि हेर्यो- रिजेक्ट गर्‍यो !

बारम्बार सजिएर आउने, चुपचाप बस्ने मन परे ग्राहकले किन्ने नत्र ओल्टाईपल्टाई गरेर कमजोरी देखाएर छोड्ने फेन्सी पसलको डमी जस्तै भएन र नारीको जिन्दगी ! आउनुहोस् सबै मिलेर यी परिपाटीहरूमा रुपान्तरण गरौं । बिहे अघि र पछिको सम्बन्धलाई वस्तुपरक होइन सुमधुर बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?