+
+
रिपोर्ट :

दशैं आयो, तरलता समस्या बढ्यो

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज ६ गते १९:१०
बैंकबाट सर्वसाधारणले सेवा लिइरहेको तस्वीर ।

६ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिएको छ । दशैंका लागि बैंकहरुले आफ्ना ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन् । साना दरका नयाँ नोट सटही गरिरहेको केन्द्रीय बैंक र अन्य बैंकहरुलाई अहिले दशैंको चटारोले होइन लगानी योग्य रकम अभावले सताएको छ ।

साउनलगत्तै सुरु भएको तरलता घट्ने क्रम पछिल्लो ३ दिनमा ५ अर्ब भन्दा बढी पुगेको छ । गत वर्ष यही समयमा बैंक तथा वित्तीय संस्थाहरुमा २०० अर्ब हाराहारीमा लगानी योग्य रकम थियो । वित्तीय बजारमा एक वर्षमा ९० प्रतिशत हाराहारीमा तरलता घटेको छ ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकाल अहिले बजारमा १७ अर्ब ६४ करोड रुपैयाँमात्रै तरलता रहेको सुनाउँछन् ।

अझ दशैं नजिकिँदा तरलता अभावले बैंकहरुको तनाव बढाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल दशैंतिहारको बेला वर्षभरि हुने खर्चको ४० प्रतिशत हाराहारी खर्च हुने बताउँछन् । नेपालीहरु दशैंको बेला औसत समयको भन्दा बढी खर्च गर्छन् ।

अनुभवी बैंकर पर्शुराम कुँवर क्षेत्री सरकारले राजश्व लिने क्रम धमाधम चलिरहेको तर खर्च भने नभएको कारण अहिले वित्तीय बजारमा तरलता समस्या देखिएको बताउँछन् । यो समस्या समाधानका लागि अझै डेढ दुई महिना कुर्नुपर्ने उनको भनाइ छ ।

दशैंमा रकमको माग बढी हुने भएकाले बैंक तथा वित्तीय संस्थामा सामान्य समयमा भन्दा कम नगद हुन्छ । बैंकिङविज्ञ अनलराज भट्टराई यो कारण पनि दशैं अगाडि तरलता समस्या बढी देखिने बताउँछन् ।

‘दशैं तिहारमा खर्च धेरै हुने भएपछि नगदको माग बढ्ने नै भयो’, उनी भन्छन्, ‘एक डेढ महिनापछि अवस्था सामान्य बन्छ । बजेट होलिडेका कारण सरकारी ढुकुटीको रकम बाहिर नआएको चिन्ता रहेपनि सोमबार विनियोजन विधेयक पारित भएकोले धेरै असर नपर्ला ।’

बैंकिङविज्ञ भट्टराई विदेशी मुद्रामा गएको १५२ अर्ब ऋणलाई समेत कुल ऋणमा जोडेका कारण पनि अहिले बजारमा तरलता अभाव धेरै देखिएको बताउँछन् ।

‘सीसीडी रेसियो (कर्जा–स्रोत परिचालन अनुपात) हुँदा यो काउन्ट हुँदैन थियो, अहिले सीडी रेसियोमा काउन्ट हुन्छ’, उनी भन्छन्, ‘यसले पनि तरलता अभाव चर्को देखिएको हो ।’

उनका अनुसार, राष्ट्र बैंकले कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर ल्याएको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) को असर पनि बजारमा परेको छ ।

पहिले सीसीडी रेसियो कायम हुँदा विदेशी मुद्रामा गएको ऋणलाई छुट्टै राख्ने गरिएको थियो । सीसीडी खारेज भएपछि यो कुल कर्जामा नै विदेशी मुद्राको ऋण पनि जोडिएकाले अझ धेरै समस्या देखिएको बैंकिङ विज्ञ भट्टराई बताउँछन् ।

अनुभवी बैंकर पर्शुराम कुँवर क्षेत्री सरकारले राजश्व लिने क्रम धमाधम चलिरहेको तर खर्च भने नभएको कारण अहिले वित्तीय बजारमा तरलता समस्या देखिएको बताउँछन् । यो समस्या समाधानका लागि अझै डेढ दुई महिना कुर्नुपर्ने उनको भनाइ छ ।

राजश्व ह्वात्तै बढ्यो, बढेन खर्च

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या नहुनका लागि सरकारी खर्च पनि राम्रो हुनुपर्छ । पछिल्लो समय सरकारको राजश्व बढ्ने तर खर्च नहुने कारण पनि तरलता अभाव झन् बढेको बैंकिङविज्ञ कुँवर बताउँछन् ।

सरकारले गर्नुपर्ने खर्च राम्ररी गरे अहिलेको समस्या नरहने उनी बताउँछन् । तर, पछिल्लो ५ दिनको तथ्यांकले तरलताको समस्या अझै बढ्ने संकेत दिन्छ ।

५ दिनमा सरकारले ११ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । बजेट होलिडे शुरु हुनु अघिल्लो दिन ३० भदौसम्म चालु आवमा सरकारले कुल १ खर्ब ६४ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो । यसमा कर र गैरकर दुबै राजस्व समावेश छ ।

त्यसपछिको ६ दिन (सोमबारसम्म) भने १ खर्ब ७६ अर्ब २५ करोड ७८ लाख राजस्व संकलन भएको छ । यसमा पनि कर र गैरकर दुवै राजस्व समावेश छ । अब दशैंमा रेमिट्यान्स बढ्ने र सरकारको खर्च पनि बढ्ने हो भने तरलता समस्या घट्ने कुंवर बताउँछन् ।

कर्जा र निक्षेपको अवस्था

पछिल्लो २ महिनामा बैंकहरुमा ३० अर्बभन्दा बढी निक्षेप घटेको तथ्यांक छ । ३१ असारसम्म क वर्गका २७ बैंकमा ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप रहेकोमा भदौ ३१ सम्म आइपुग्दा ३० अर्ब १७ करोड रुपैयाँ घटेर ४१ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँमा झरेको छ ।

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको सबभन्दा धेरै (२८ दशमलव ५६ प्रतिशत) निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार, त्यसपछि नेपाल बंगलादेश बैंकको ११ प्रतिशत निक्षेप घटेको छ ।

निक्षेप नआउनु र कर्जामा आक्रामक हुँदा तरलतामा चाप परेको देखिन्छ । निक्षेप यसरी घटे पनि २ महिनाको अवधिमा बैंकहरुले १ खर्ब १ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकहरुले असार मसान्तमा ३७ खर्ब २० अर्ब ७५ करोड लगानी गरेकोमा भदौ मसान्तसम्म आइपुग्दा यो रकम ३८ खर्ब ७१ अर्ब ९६ करोड पुगेको छ ।

हेर्नुस् ‘क’ वर्गका बैंकहरुको निक्षेपको अवस्था

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?