+
+

अपहरणका आरोपीलाई सफाइ : प्रहरीको कमजोर अनुसन्धान

कहाँ चुके काठमाडौं प्रहरी, सीआईबी र सरकारी वकिल ?

गौरव पोखरेल गौरव पोखरेल
२०७८ असोज १० गते १८:४०

१० असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १५ पुसमा सर्लाहीका कुमार बुढाथोकी उर्फ सोले कुमारलाई पक्राउ गर्‍यो । श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक महत्वपूर्ण सदस्यलाई पक्राउ गर्नुलाई सीआईबीले सफलताका रुपमा देखाएको थियो ।

तर भारतको दार्जिलिङबाट पक्राउ परेका तिनै आरोपी बुढाथोकीले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । ५ असोजमा न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले अपहरण तथा शरीर बन्धकको प्रतिवादी भएको प्रमाणित हुने प्रमाण नै पेश नभएको जिकिर गर्दै बुढाथोकीलाई सफाइ दिएको हो ।

प्रहरीले उनी आरोपी भएको प्रमाणित गर्न बुढाथोकीको भिडियो बयान र पीडितको सनाखतलाई प्रमाणका रुपमा पेश गरेको छ । तर बुढाथोकीले अदालतमा आफू भारतीय नागरिक भएको दाबी गर्दै प्रकाश क्षेत्री नामको आधार कार्ड र जन्मदर्ता देखाए, जसलाई आधार बनाएर न्यायाधीश निरौलाले सफाइ दिए ।

‘अभियोग पत्र पेश गर्दा उनी नेपालको यो स्थानमा बस्ने वा नेपालको सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. २ का वासिन्दा हुन् भन्ने प्रमाण पेश भएको छैन’ फैसलाको संक्षिप्त विवरणमा भनिएको छ, ‘उनी नेपालको नागरिक हो भन्ने प्रमाण नभई व्यक्तिको पहिचान नै भएको देखिँदैन। यस्तो अवस्थामा शरीर बन्धक तथा अपहरण गर्ने जस्तो अभियोगमा अभियुक्तको स्पष्ट पहिचान मिसिलमा पेश गर्न नसक्दा यी प्रतिवादीको हकमा पुष्टि हुन नसक्ने ठहर हुन्छ ।’

सीआईबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी प्रहरीले यही कमजोरी गरेको बताउँछन् । ‘अनुसन्धान बयानमुखी हुनु हुँदैन भनेर पटकपटक भनिरहेको कुरा हो’ पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) मल्ल भन्छन्, ‘तर यो घटनामा पनि त्यही गल्ती दोहोरियो, प्रहरीले बयानको भर परेर मिसिल बुझायो, आरोपीले कागजी प्रमाण देखाएपछि सफाइ पाए ।’

आरोपीलाई पक्राउ गरेपछि नागरिकता प्रमाणीकरण गर्नु सामान्य प्रक्रिया हो । तर बुढाथोकीको हकमा काठमाडौं प्रहरी यति लापरबाह भयो कि जिल्ला प्रशासन कार्यालय, सर्लाहीलाई पत्राचार गर्दा इमेलमै आउने नागरिकताको विवरण पनि मगाएन

काठमाडौं प्रहरीको लापरबाही

अमर टण्डनको समूहले १ पुस २०६५ मा बाबुराजा रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा राखेको थियो । फिरौती बुझाएर छुटेका उनी प्रहरी कहाँ पुगेपछि काठमाडौं प्रहरी परिसरले अपहरण घटनाको अनुसन्धान गरेको थियो ।

त्यसक्रममा बुढाथोकीको पनि भूमिका देखिएको थियो । उनी रावललाई बन्धक बनाएर राखेको घरमा कुरुवाको रुपमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यद्यपि त्यसबेलाको मिसिलमा उनको ठेगाना खुल्न सकेको थिएन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुराना घटनाका फरार प्रतिवादीहरुलाई खोज्ने क्रममा उनी भारतमा रहेको सुराक पाएर खोजी गरिरहेको थियो । त्यसक्रममा ब्यूरोका अधिकृतहरुले कपडाको होलसेल पसल सञ्चालन र कुखुरा पालन गरिरहेको अवस्थामा फेला पारेर उनलाई नेपाल ल्याएका थिए ।

सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार पक्राउ गरेपछि बुढाथोकीले अपराध स्वीकारेको भिडियो बयान राखेर थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, टेकुको जिम्मा लगाइएको थियो । ‘पहिले काठमाडौंबाटै अनुसन्धान भएर मुद्दा चलेकाले त्यतै बुझाएका थियौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंह भन्छन्, ‘थप अनुसन्धानको जिम्मेवारी काठमाडौं प्रहरीकै थियो ।’

काठमाडौं प्रहरीले प्रहरी निरीक्षक नानीकाजी थापालाई अनुसन्धान अधिकृत तोकेर छानविन अघि बढाएको थियो । झण्डै एक महिनापछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा पनि काठमाडौं प्रहरीले मिसिलमा प्रकाश क्षेत्री नाम भएको दाबी गर्ने भारतीय रासन कार्ड बोकेका व्यक्ति कुमार बुढाथोकी हुन् भन्ने प्रमाणित गर्ने आधार संकलन नगरेको पाइएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार अहिले अधिकांश घटनामा आरोपीलाई पक्राउ गरेपछि नागरिकता प्रमाणीकरण गर्नु सामान्य प्रक्रिया हो । तर बुढाथोकीको हकमा प्रहरी यति लापरबाह भयो कि जिल्ला प्रशासन कार्यालय, सर्लाहीलाई पत्राचार गर्दा इमेलमै आउने नागरिकताको विवरण पनि मगाएन ।

प्रहरीले बुढाथोकीको स्थायी घर भएको बागमती नगरपालिका-२, डुम्रिटोलका वडाध्यक्षलाई सोधेको भए पनि उनैले पक्राउ परेका व्यक्ति कुमार भए-नभएको सनाखत गरिदिने थिए । वडाध्यक्ष ङेमा लामा भन्छन्, ‘पहिले उनी मेरै वडामा थिए, अहिले उनको परिवार वडा नं. १० मा घर बनाएर व्यापार गरेर बसेको छ ।’

पछिल्ला वर्षहरुमा उनी गाउँमा आउने नगरेको लामा बताउँछन् । ‘केके काण्डमा पर्यो भनेको सुनेको हो, पछि प्रहरीले भारतबाट पक्राउ गरेको भनेपछि फोटो पनि हेरेको थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘कुमार भन्ने व्यक्ति तिनै हुन्, मलाई उनको बारेमा प्रहरीले चाहिं सोधेको छैन ।’

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले पनि अनुसन्धानमा ‘केही कमजोरी’ भएको स्वीकार गरेका छन् । ‘त्यतिबेला म भर्खरै काठमाडौं परिसरमा आएको थिएँ, अलिकति कमजोरी भएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘पीडितलाई सनाखत गराएको रहेछ, त्यो पत्र मिसिलमा छ । अदालतले हेरेन छ ।’ उनले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

प्रहरी अनुसन्धानको सुपरिवेक्षण गर्ने जिम्मेवारी सरकारी वकिलको कार्यालय, काठमाडौंको पनि हो । अभियोग प्रमाणित गर्ने पर्याप्त आधार नभए सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन पनि दिनसक्छ ।

प्रहरी अनुसन्धानको सुपरिवेक्षण गर्ने जिम्मेवारी सरकारी वकिलको कार्यालय, काठमाडौंको पनि हो । अभियोग प्रमाणित गर्ने पर्याप्त आधार नभए सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन पनि दिनसक्छ । तर यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि चुपचाप मुद्दा दर्ता गराएको देखिन्छ

तर यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि चुपचाप मुद्दा दर्ता गराएको देखिन्छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले के भएको भन्नेबारे बुझ्ने बताए । उनले भने, ‘अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन, आएपछि पुनरावेदनमा जान्छौं ।’

एक अनुसन्धानका अधिकृतका अनुसार कुनै व्यक्तिलाई पक्राउ गरिसकेपछि अभियोग पुष्टि गर्ने गरी प्रमाण पेश गर्नु समात्ने निकायको पनि जिम्मेवारी हो । तर सीआईबी पनि भिडियो बयान लिएकै छ भनेर ढुक्क भएर बसेको देखिन्छ । ‘पीडितको सनाखत र आरोपीले नाम किटान गरेको छ भनेर सीआईबीले हल्कारुपमा लिएका कारण पनि अहिले यो स्थिति आएको हो’ एक अधिकृत भन्छन् ।

को हुन् बुढाथोकी ?

२०६२-०६३ पछि संगठित समूहको संलग्नता हुने अपहरणको धन्दा मौलाएको थियो । त्यतिबेलाका कुख्यात अपहरणकारी समूहमध्ये एक थियो, अमर टण्डनको समूह ।

टण्डन पक्राउ परेपछि उदय सेट्टी र प्रह्लाद महतले अपहरणको श्रृंखलालाई निरन्तरता दिएका थिए । बालाजुको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको १ पुस २०६५ मा बालाजुबाट अपहरित भएपछि प्रहरीले सुरुमा सेट्टीकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । तर प्रहरीसँग उनले बाबुराजाको अपहरणमा आफू संलग्न नरहेको सुनाए, बरु महतले गरेको हुनसक्ने बताए ।

उनकै सूचना पछ्याउँदै जाँदा प्रहरीको अपराध महाशाखाले २०६६ सालको पुस अन्तिमतिर टण्डन समूहका प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीसहित ५ जनालाई पक्राउ गर्‍यो। त्यसपछि टण्डन समूह तहसनहस भएको प्रहरीले दाबी गर्‍यो । तर हाल सफाइ पाएका बुढाथोकी चाहिँ प्रहरीबाट बच्दै भारतसम्म पुगेका थिए ।

एक अनुसन्धान अधिकृतका अनुसार उनीसँग रावललाई अपहरण गरेर असुलेको एक करोड ५० लाख रुपैयाँ पनि थियो । ‘समूहका सबै पक्राउ परेपछि उनी फिरौतीको रकम लिएर भारत गएका थिए’ उनी भन्छन्, ‘त्यहाँ परिचय फेरेर उनी १२ वर्षदेखि बसिरहेका थिए ।’

प्रहरी अधिकृतहरुका अनुसार उनी प्रह्लाद महतसँग चिनजान भएपछि अपहरणको धन्दामा प्रवेश गरेका थिए । अपहरणमा लाग्नुअघि उनी चोरीमा संलग्न थिए ।

बानेश्वरको एभरेस्ट होटलबाट मोटरसाइकल चोरी गरेपछि २५ वैशाख २०६४ मा उनी पक्राउ परेका थिए । तर बानेश्वर प्रहरी वृत्तको हिरासतको भेन्टिलेशन तोडेर भागेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?