
१२ असोज, काठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ ।
खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने जिज्ञासा वा बारम्बार सोधिने प्रश्नहरु यस्ता छन् ।
भर्खरै कोभिड-१९ बिरुद्धको खोप लगाएको छ । रेबिजको खोप लगाउनु हुन्छ कि हुन्न ?
हुन्छ । रेबिज प्राणघातक संक्रामक रोग भएकोले जनावरले टोकेमा खोप अनिवार्य लगाउनुपर्छ ।
रेबिज पुष्टि भएका गाई वा भैंसीको दूध पिउदा खोप लगाउनुपर्छ कि पर्दैन ?
पर्दैन । हालसम्म रेबिज संक्रमित गाई वा भैंसीको दूध पिएर रेबिज रोग लागेको प्रमाण छैन।
बादरले टोके/चिथारे रेबिज खोप लगाउनु पर्छ ?
पर्दैन । नेपाल सरकारको रेबिज निर्देशिका अनुसार मठ/मन्दिर जाँदा बादरले टोके/चिथारे खोप लगाउनुपर्दैन तर अरु ठाउँमा जादा टोकेमा चिकित्सकसंग सल्लाह गरेर खोप लगाउनुपर्छ ।
मुसाले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्छ ?
पर्दैन । टिटानसको खोप लिन सकिन्छ ।
गर्भवती महिलाले खोप लगाउन मिल्छ ?
मिल्छ । रेबिजविरुद्धको खोप गर्भवतीमा सुरक्षित देखिएको छ।
स्तनपान गराइरहेकाहरुमा खोप सुरक्षित हुन्छ ?
हुन्छ। स्तनपान गराइरहेका आमा र सो आमाको दुध लिने बच्चामा खोपले कुनै हानी गर्दैन ।
रेबिज संक्रमितको जुठो खाएमा खोप लिनुपर्छ ?
रेबिजका लक्षणहरु देखिनुपूर्व खाएको भएमा खोप लिनु पर्दैन ।
रेबिज बिरामीको रगत, दिसा, पिसाबबाट सर्छ ?
सर्दैन । रेबिज संक्रमितको रगत, दिसा, पिसाबबाट संक्रमण सर्ने वैज्ञानिक आधार/पुष्टि छैन ।
रेबिजविरुद्धको खोप लगाइरहेका व्यक्तिको जुठो खाएमा र यौन सम्पर्क भएमा खोप लगाउनुपर्छ ?
पर्दैन।
रेबिज भाइरस शरीर बाहिर कति समयसम्म सक्रिय रहन्छ ?
रेबिज भाइरस भएको र्याल सुकेपछि/वा घामको किरणमा निष्क्रिय हुन्छ ।
रेबिजबिरुद्ध एक मात्रा दिने खोप पनि हुन्छ भनेको सुनिन्छ, के त्यो सत्य हो ?
होइन । रेबिजविरुद्ध खोप तीन (छालामुनि दिने) वा चार पटक (मासुमा दिने) दिएपछि मात्र खोपले पूर्णता पाउनेछ ।
केही समय अगाडि रेबिजविरुद्धको खोप लिएको थिएँ, फेरि जनावरले टोक्यो । फेरि खोप लिनुपर्छ ?
पर्छ । तर दुई डोज मात्र लिन सकिन्छ, जसलाई बुस्टर डोज भनिन्छ ।
टोकेको २४ घण्टाभित्र खोप लगाउने भनेको सुनिन्छ, सत्य के हो ?
सत्य होइन । यति नै घण्टा भित्र लगाउनुपर्छ भन्ने छैन तर खोप सकेसम्म छिटो लगाउनुपर्छ । तर विभिन्न कारणले टोकेको केही दिनपछि मात्र आइपुगेको छ भने पनि लगाउन ढिलो हुँदैन ।
रेबिज खोप लगाउँदा के खाने के नखाने ?
खोप लगाउदा सामान्यतय खानेकुरा बार्नु पर्दैन ।
प्रतिक्रिया 4