+
+
अटो बजार :

दशैंका बेला निजी सवारी किन्नेको चाप, माग धान्न सकस

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असोज १३ गते १८:२६
फाइल तस्वीर

१३ असोज, काठमाडौं । यतिबेला काठमाडौंका गाडी तथा मोटरसाइकल शोरुमहरुमा नियमितभन्दा बढी चहलपहल छ । दशैंमा नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी चढ्न चाहनेहरु विभिन्न शोरुममा पुगिरहेका छन् । ग्राहकलाई गाडी छान्ने र बिक्रेताहरुलाई डेलिभरी दिने चटारो छ ।

कोभिड–१९ महामारी रोक्न गत वैशाखदेखि असारसम्म गरिएको निषेधाज्ञामा बन्द भएको अटोबजार त्यसपछि चलायमान छ । दशैं नजिकिएपछि बजारमा स्वतः ग्राहकको चाप बढेको छ । तर, मागअनुसार आपूर्ति गर्न नसकेको व्यवसायीहरु बताउँछन् ।

गत आर्थिक वर्ष २०७७/७८ मा सवारी आयात ७० प्रतिशत बढे पनि ग्राहकलाई मागअनुसार उपलब्ध गराउन नसकिएको नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष कृष्ण दुलाल बताउँछन् ।

२०७७ चैतदेखि असारसम्मको लकडाउनमा दुईपांग्रे सवारीको माग उच्च र चारपांग्रेको बजार सुस्त थियो । गत वर्षको दशैंपछिबाट बजार बढ्न थालेको थियो । त्यसपछि निषेधाज्ञामा शोरुम बन्द भएर व्यापार हुन पाएन । त्यसबाहेकको अवधिमा अटोबजारमा उत्साह कायमै रह्यो ।

नाडाकाअनुसार अहिले मागको तुलनामा आयात कम छ । ‘बुक’ भएको गाडी डेलिभरी गर्न बिक्रेता कम्पनीलाई दुई महिनासम्म लाग्ने अवस्था छ ।

महामारीपछि सबै देशमा निजी सवारीको माग बढेको छ, तर उत्पादक कम्पनीहरुले गाडीमा प्रयोग हुने ‘विद्युतीय चिप’को अभाव भएर उत्पादन बढाउन सकेका छैनन् । स्वास्थ्य मापदण्ड पालना गरेर प्लान्ट चलाउनु परेकाले पनि उत्पादन बढ्न सकेको छैन ।

भारतलगायत देशमा उत्पादन नै कम भएर नेपालमा मागअनुसार सवारी आउन नसकेको अध्यक्ष दुलाल बताउँछन् । भारतीय बजारमै पनि अहिले सवारीको माग उच्च छ ।

निजी सवारीको व्यापार बढ्नुको कारणबारे सबै बिक्रेताको विश्लेषण एउटै छ– स्वास्थ्य जोखिम । महामारीको समयमा सार्वजनिक सवारीको यात्रा जोखिमपूर्ण हुने भएपछि निजी सवारी किन्न चाहनेहरु बढेको उनीहरुको बुझाइ छ ।

आयात बढ्दा पनि मागले धानेन

माग बढेको व्यवसायीहरुको दाबीलाई नेपालमा भएको आयातको तथ्यांकले पुष्टि गर्छ । आर्थिक वर्ष २०७६/७७ मा ९ हजार ७७५ वटा चारपांग्रे (जीप/कार/भ्यान) आयात भएकोमा आव २०७७/७८ मा यो संख्या १४ हजार ८३२ पुग्यो । नयाँ आर्थिक वर्ष लागेयता पनि सवारी आयात लगातार उकालो लागिरहेको छ ।

कोरोना महामारीका कारण विश्वभर अटोमोबाइल बजार खस्कने अनुमान रहेकोमा निजी सवारीप्रति झन् आकर्षण बढेको पाइएको छ । नेपालमा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पका बजार व्यवस्थापक करुण शाक्य बजारमा माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकस परेको बताउँछन् ।

‘दशैंको मुखमा गाडीको माग निकै राम्रो छ, तर त्यसअनुसार आयात हुन सकेको छैन,’ उनी भन्छन्, ‘सबैजसो कम्पनी एउटै समस्यामा छौं ।’ उनका अनुसार सामान्य अवस्थामा १५–२० दिनमा बैंकिङ प्रक्रिया सकेर ग्राहकलाई गाडी दिन सकिन्थ्यो । अहिले बुक भएको एक महिनामा पनि गाडी दिन कठिन परेको शाक्य बताउँछन् ।

मोटरसाइकलमा पनि समस्या

चारपांग्रे मात्र होइन, मोटरसाइकल र स्कुटर पनि मागअनुसार आपूर्ति नभएको व्यवसायीहरु बताउँछन् । कतिपय मोडलका बाइक त निर्माता कम्पनीबाटै मागअनुसार आपूर्ति नभएर अभाव छ ।

एक मोटरसाइकल बिक्रेता कम्पनीका बजार व्यवस्थापकका अनुसार ग्राहकले बढी खोज्ने मोडलका मोटरसाइकल भेटाउन मुस्किल पर्ने अवस्था आइसकेको छ । ‘धेरै माग हुने मोडल अभाव भएर यो वर्ष छुट पनि दिन परेको छैन,’ ती व्यवस्थापक भन्छन्, ‘यो दशैंमा आफूले चाहेको मोडलको मोटरसाइकल भेटिनु नै ठूलो कुरा बनेको छ ।’

उनकाअनुसार कतिपय मोडलको विकल्प नखोज्ने हो भने ग्राहकले केही समय कुर्नुपर्ने अवस्था छ । आपूर्ति नै नभएकाले कतिपय ब्रान्डका पुराना ग्राहक अन्य ब्रान्डतिर लागेका छन् ।

फाइल तस्वीर

सबैजसो कम्पनीले आग अनुसार आपूर्ति गर्न नसकेकाले विभिन्न ‘सेगमेन्ट’मा अगाडि रहेकाहरुलाई अन्य कम्पनीले उछिन्न पनि थालेका छन् ।

गत आव २०७७/७८ मा ३ लाख ५३ हजार ५३४ वटा मोटरसाइकल आयात भएको तथ्यांक छ ।

महामारीले बढायो माग

निजी सवारीको व्यापार बढ्नुको कारणबारे सबै बिक्रेताको विश्लेषण एउटै छ– स्वास्थ्य जोखिम । महामारीको समयमा सार्वजनिक सवारीको यात्रा जोखिमपूर्ण हुने भएपछि निजी सवारी किन्न चाहनेहरु बढेको उनीहरुको बुझाइ छ ।

विशेषगरी तल्लो र मध्यम मूल्यका सवारीको माग बढी छ । अहिले त निषेधाज्ञाका बेला रोकिएको मागको चाप पनि परेको छ । ‘महामारीमा निजी सवारी आवश्यकता बन्यो,’ नाडाका अध्यक्ष दुलाल भन्छन्, ‘यसलाई बजार प्राकृतिक रुपमै बढेको मान्नुपर्छ ।’

अहिले बैंकहरुमा बढेको तरलता अभावको प्रभाव सवारी बजारमा पर्ने जोखिम देखिएको उनले बताए । सरकारले बजारलाई चलायमान राखेर अर्थतन्त्रमा लाभ लिनेमा ध्यान दिनुपर्ने उनको सुझाव छ । नाडाका अनुसार जेठ १५ मा आएको बजेटपछि विद्युतीय सवारीको आयात उच्च दरमा उकालो लागेको छ । विद्युतीय सवारी समेत मागअनुसार उपलब्ध गराउन नसकेको अध्यक्ष दुलाल बताउँछन् ।

सीजी मोटरकर्पका बजार व्यवस्थापक शाक्य भारतमा विभिन्न सवारीको उपलब्धता सहज बन्दै गएकाले नेपाली बजारमा पनि मागअनुसार समयमै उपलब्ध गराउन सकिने बताउँछन् ।

‘दशैंमा यसै पनि सवारीको माग बढ्ने भएकाले बजारमा सामान्य अवस्था हुँदैन,’ उनी भन्छन्, ‘चाडबाडको सिजनपछि माग र आपूर्तिको चक्र सुध्रनेमा हामी विश्वस्त छौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?