+
+

बर्खामा पोखरा एअरपोर्टभरि बाढीको पानी

पानी तर्काउन ३४ करोड रुपैयाँ लाग्ने अनुमान

विकास रोका मगर विकास रोका मगर
२०७८ असोज १३ गते २१:१९

१३ असोज, पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको केही होचो भागमा छ । पोखरा शहरको धेरैजसो क्षेत्रको वर्षाको पानीको निकास यही विमानस्थल क्षेत्रमै जान्छ । पोखरा महानगरपालिका–१४ चाउथेमा बनिरहेको उक्त विमानस्थल होचो भागमा भएकै कारण त्यहाँ पोखराका फुलबारी, शितलादेवी, कुँडहर क्षेत्रको पानी जम्मा हुने गर्छ । तर, ती पानीको निकासको उचित व्यवस्थापन नहुँदा विमानस्थल नै जोखिममा परेको छ ।

पोखराका फाँटमा पानी लैजाने नहरको पानीसमेत बर्षायाममा ‘ओभरफ्लो’ भएर विमानस्थलमै जम्मा हुने गरेको छ । विजयपुर खोलासँगै जोेडिएर बनिरहेको उक्त विमानस्थलमा बर्खामा जलमग्नमात्रै हुँदैन, खोला क्षेत्रबाट जाने पहिरोको जोखिममा परेको हो ।

विमानस्थल क्षेत्रमा आउने पानी निकासका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नहर बनाएको छ । तर, भदौ ६ गते परेको बर्षाको भेल थेग्न नसकेर उक्त नहर पनि भत्किएको छ ।

भत्किएको उक्त नहर, विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले नै बनाउँदै आइरहेको छ ।

विजयपुर खोलाको कटान र वर्षापछिको बाढीका कारण विमानस्थलको पूर्वी उत्तरी भागमा पहिरो जान सुरु गरिसकेको छ । बेलैमा नालाको व्यवस्थापनमा ध्यान नदिए ठूलो क्षति व्यहोर्नुपर्ने आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् ।

‘विमानस्थलको उत्तरतर्फको करिब ४ किलोमिटर क्षेत्र (मणिपाल, सेती नदी, काहुँखोलासम्म) को ५०० हेक्टर जग्गाको नाला र सिँचाइको नहरको पानी एकीकृत भएर यहीं आउँछ,’ उनले भने, ‘सिँचाइको पानी व्यवस्थित नहुँदा विमानस्थलमा विध्वंश मच्चाइरहेको छ ।’

विमानस्थलले यसबारे अध्ययन गर्न पोखरा महानगरपालिका, सडक विभाग, सिँचाइ विभागका प्रतिनिधिसहितको समिति गठन भएको थियो । उक्त समितिले विमानस्थलमा अप्राकृतिक तरिकाले पानी जम्मा भइरहेको निश्कर्ष निकालेको थियो ।

विमानस्थलका परामर्श दातृ टिमका कन्सल्टेन्ट इन्जिनियर भुपेन्द्र गौचनका अनुसार पानीको प्राकृतिक बाटोमा अव्यवस्थित बस्ती विस्तार हुँदा विमानस्थलले क्षति व्यहोरिरहेको हो । बाढीको पानी व्यवस्थापन गर्न सिँचाइ विभागलाई पटकपटक पत्राचार गर्दा पनि प्रतिक्रिया नदिएको उनले सुनाए ।

‘प्राकृतिक र भौगोलिक रुपमा हेर्दा यहाँ यति धेरै पानी जम्मा हुने ठाउँ नै होइन । तर, मानव सिर्जित संरचनाहरु जो छ, त्यसले पानीको बहावलाई परिवर्तन गरिदिएको छ,’ उनले भने ।

पछिल्लो समय वर्षायाममा धेरै पानी पर्ने हुनाले ढल तथा नहरले पनि पानीको बहाव थेग्न नसक्ने स्थिति आइसकेको गौचनले सुनाए । ‘अहिले पर्ने पानीले विगतका सबै रेकर्ड तोड्दै गइरहेको छ । पानीको निकास र विकास व्यवस्थापन राम्रोसँग गर्न जरुरी छ,’ विमानस्थल निरीक्षण गर्न गएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीलाई ‘ब्रिफिङ’ गर्दै उनले भने, ‘सबै पानी यहाँ आउँदा औद्योगिक क्षेत्र र पृथ्वी राजमार्ग तर्न पनि नसक्ने अवस्था छ ।’

गौचनले सुरुमा पोखराको १ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न नहर बनाइएको भए पनि अहिले ती खेतीयोग्य क्षेत्रफल घटेकाले पानी बढी भएर विमानस्थलतिर आएको बताए । ‘नहरमा फोहोरमैला पनि आउँछ । अन्त बग्ने ठाउँ नभएर सबै एअरपोर्टको पूर्वउत्तरतर्फको कुनामा पानी जम्मा हुन्छ,’ उनले भने ।

नहरको पानीले गर्दा विमानस्थलको पूर्वीउत्तरी क्षेत्रमा पहिरोको जोखिम पनि बढेको आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् । ‘यो एकदम सिरियस इस्यु हो । ०७८ सालभित्रै एअरपोर्ट सक्ने योजनामा छौं । तर, सधैं यस्तै पानी जम्मा भइरह्यो भने रनवेमा पनि पानी छिर्ने सम्भावना बढेर गयो,’ उनले भने ।

विमानस्थल निर्माण आयोजनाले एअरपोर्टमा आउने पानी तर्काउन दीर्घकालीन योजनाका लागि करिब ३४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । तर, उक्त योजनाका लागि पोखराका हाल भएका सिँचाइ नहर र नालाको क्षमता बढाउने तथा आवश्यक पानीमात्रै प्रवाह हुने गरी व्यवस्था गर्नुपर्ने मुनकर्मी बताउँछन् ।

सिँचाइ नहर व्यवस्थापन गर्न आफूहरुले पटकपटक सम्बन्धित निकायमा पत्राचार गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

‘रिट्ठेपानी डाँडा काट्न ढिलाइ’

सन् २०१७ नोभेम्बर १ बाट शुरु विमानस्थल निर्माण २०२१ जुलाइ १० मा सक्ने लक्ष्य थियो । समयमै नसकिएपछि अहिले थप एक वर्ष म्याद गरिएको छ । हालसम्म विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ ।

एअरपोर्ट तयार हुने समय आइसक्दा पनि रिट्ठेडाँडा कटान गर्न अनुमति नपाएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । रिट्ठेपानी डाँडाको वन क्षेत्र कटान गर्न पूरक ईआइए गर्नुपर्ने तर, कोभिड महामारीका कारण नापी कार्यालयबाट सीमांकन गर्ने र डिभिजन वन कार्यालयबाट रुखको लागत राख्ने काममा ढिलाइ भइरहेको मुनकर्मीले सुनाए ।

‘३ वर्षदेखि नै हामी भन्याभन्यै छौं । कुरा गर्‍यागर्‍यै छौं । तर, सुनुवाइ भएको छैन,’ मुनकर्मीले भने, ‘हालसालै सरकारले डाँडा कटान गर्न मन्त्रिपरिषद्बाटै अनुमति दिएको छ । तर, पूरक ईआइए गर्न समय लाग्ने देखिन्छ । त्यसका लागि पनि मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।’

मुनकर्मीले एअरपोर्टमा इन्धन डिपो राख्न नेपाल आयल निगमले समेत ढिलाइ गरिरहेको बताए । एअरपोर्टको नजिकै रहेको पोखरा महानगरको स्यानिटरी ल्यान्डफिल्ड साइटको विकल्प खोज्न महानगरलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको सुनाए । ‘त्यहाँ उड्ने चराले ‘बर्ड हाजार्ड’ हुने समस्या छ । यसले भौतिक क्षति पनि पुुग्ने जोखिम छ । महानगरले अझै विकल्प खोजेको छैन,’ उनले भने ।

केन्द्रसँग समन्वय गर्छौं : मुख्यमन्त्री

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पानी निकासका लागि संघीय सरकारसँग कुरा गर्ने बताए ।

उनले यसका लागि प्रदेश सरकारसँग स्रोतको अभाव भएकाले केन्द्रसँग समन्वय गर्ने बताएका हुन् । ‘स्थानीय नागरिकले उठाएका सवाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ,’ उनले भने, ‘प्रदेशको स्रोतले मात्र भ्याउँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?