+
+

काठमाडौं महानगरले उठायो ६ करोड बक्यौता

रासस रासस
२०७८ असोज १४ गते १६:५८

१४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट ६ करोड रुपैयाँ बक्यौता असुल गरेको छ ।

लामो समयसम्म कर नतिरेका ठूला करदातालाई महानगरपालिकाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि महानगरले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।

महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गरेपछि उनीहरु अहिले सम्पर्कमा आउन र कर तिर्न थालेको बताइएको छ ।

काठमाडौं महानगरपालिका राजस्व महाशाखाका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘पछिल्लो समय कर तिर्ने बढेका छन्, अहिलेससम्ममा ६ करोड असुल भएको छ, तत्काल ३० करोड उठ्ने तयारीमा छ ।’ उनकाअनुसार अझै पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले उनीहरुका लागि थप कडाइ गरिने छ ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी संघसंस्थालाई महानगरले आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरण, सिद्धार्थ वनस्थली स्कुल र  मनमोहन अस्पतालले केही दिनभित्रै बक्यौता रकम लिएर आउने भएको पनि महानगरपालिकाले जनाएको छ ।

यसरी लामो समयसम्म कर नतिर्नेमा नेपाल स्काउट, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलपर्स प्रालिलगायत छन् ।

यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्याण्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौं जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार काँवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तिर्न बाँकी छ ।

यीमध्ये धेरै अहिले आफ्नो विवरण लिएर सम्पर्कमा आएको महानगरको भनाइ छ । महानगरले चालु आर्थिक वर्षको दुई महिनामा ९० करोड रुपैयाँ कर असुल गरेको छ । गत वर्ष सोही अवधिमा ३२ करोड मात्र उठाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?