+
+

लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा, पोखरा ९ विकेटले पराजित

शाहाजाद र शार्कीको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १७:१६

१५ असोज, काठमाडौं। चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो । अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ ।

चितवनले यसअघि विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ लाई पराजित गरेको थियो भने अब ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग खेल्न बाँकी छ । उता तेस्रो खेल खेल्दा पोखराको यो पहिलो हार हो ।

अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद र भिम शार्कीले शतकीय साझेदारी गरेपछि पोखराले दिएको १२४ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । दुवैले अर्धशतक प्रहार गरे । शाहाजाद र शार्कीले दोस्रो विकेटका लागि अविजित १२२ रनको साझेदारी गरे ।

ओपनर इशान पाण्डे ७ बल खेलेर खाता नखोली दोस्रो ओभरमा आउट हुँदा चितवनको स्कोर जम्मा २ रन थियो । त्यसपछि शाहजाद र भिम शार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चितवनलाई जित दिलाए ।

शाहजादले ५२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै शार्कीले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए ।

पोखराका विक्रम सोबले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

टप अर्डर फ्लप हुँदा लोअर अर्डरका युवा अलराउण्डर विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १२४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विवेकले ४५ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित ५३ रन बनाए ।

४२ रनमै ५ विकेट गुमाएको पोखराका लागि विवेकले छैटौं विकेटका लागि असेला गुनारत्नेसंग ५६ रनको साझेदारी गरेका थिए । गुनारत्नेले २६ बल खेल्दै १ चौका मद्दतमा २५ रन जोडे ।

ओपनर रिचर्ड लेभीले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २० रन जोडे । रित गौतम २, कप्तान विनोद भण्डारी ५ र लोकेश बम ८ रन बनाएर आउट भए भने सुनिल धमला र विक्रम सोबले खाता समेत खोल्न सकेनन् । केज्रिक विलियम्स २ रनमा अविजित रहे ।

चितवनका कमल सिंह ऐरी र शाहब आलमले २-२ विकेट लिए । शाहबले ४ ओभरमा १७ रन मात्र खर्चिए भने कमलले ४ ओभरमा ४० रन खर्चिए ।सबैभन्दा किफायती बलर बनेका कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चिएर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?