+
+

वैदेशिक रोजगारी र विकास

कृष्ण शर्मा कृष्ण शर्मा
२०७८ असोज १७ गते ९:३६

लाहुर जाने चलन धेरै पहिलेदेखि नेपाली समाजमा रहिआएको छ । पछिल्लो समय लाहुर जाने कुरा वैदेशिक रोजगारीको नामबाट परिचित छ । पहिले विदेश भन्ने बित्तिकै भारत, साउदी अरेबिया, मलेशिया, कतार दुबई जस्ता मुलुकलाई जनाउँथ्यो भने अहिले आएर ती मुलुक सहित जापान, अमेरिका, अष्ट्रेलिया लगायत १५३ मुलुकमा वैधानिक रूपमा नेपाली कामदार गइरहेको बताइएको छ । रोजगारीको रूपमा भारतमा जाने नेपालीको तथ्याङ्क अभिलेख नभए तापनि लगभग ९० लाखको हाराहारीमा नेपाली विदेशिएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

विदेशिनुका बाध्यता र रहर, अवसर र चुनौती, विदेशमा भोग्नु परेका पीडा एवं समस्या, पारिवारिक व्यवस्थापनमा कठिनाइ र गैरउत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता जस्ता विषयमा यो लेख तयार पारिएको छ ।

विदेशिनुका कारण/बाध्यता

सदियौंदेखि भारत नेपालीको रोजगारीको लागि प्रमुख गन्तव्यको मुलुक मानिन्छ । नेपालमा उद्योगधन्दाको विकास खासै नहुनु गाउँले जीवनयापनमा दुईछाक खानकै लागि संघर्ष गर्नुपर्ने भएकाले शैक्षिक क्रियाकलापमा सहभागी हुन नसक्ने मध्यम वर्ग तथा निम्न वर्गका व्यक्तिहरू रोजीरोटीकै लागि मजदूरको रूपमा भारतमा जाने गर्दथे भने अहिले नेपालका राजनीतिक पार्टीका नेताहरू पनि प्रायः भारतमै रोजगारी गरेका तथा शिक्षा लिएका तथा कुनै न कुनै रूपमा भारतसँग जोडिएको पाइन्छ ।

भारत बि्रटिश उपनिवेशवादबाट स्वतन्त्र हुनुभन्दा पहिला अर्थात् सन् १९४७ भन्दा अगाडि पहिलो विश्वयुद्धदेखि बि्रटिश सेनामा गोर्खा बि्रगेडको नाममा अहिलेसम्म पनि सेवा गरिरहेका छन् । त्यस समीक्षाको पाटो छुट्टै छ ।

समयक्रमसँगै नेपालले विभिन्न देशसँग कूटनैतिक सम्बन्ध अगाडि बढाउँदै रोजगारीको लागि श्रम स्वीकृति लिंदै गएको पाइन्छ । त्यस क्रममा भारतपछिको रोजगारीको लागि अत्यधिक गन्तव्यका मुलुकहरू साउदी अरेबिया, मलेशिया, कतार, दुबई जस्ता देशहरूमा अर्धदक्ष कामदारहरूको संख्या उल्लेखनीय रूपमा रहेको छ । विश्वका प्रजातान्त्रिक मुलुकहरूले उदारीकरणको नीति लिए सँगसँगै श्रमबजारमा नेपालीको पहुँच बढ्दै गयो ।

नेपालको शिक्षा क्षेत्रको विकास भएतापनि विश्वका विकसित राष्ट्रहरूका विद्यालय तथा विश्वविद्यालयहरूको जस्तो गुणस्तर कायम हुन सकेन । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई राज्यले प्रयोग गर्न सकेन । वैज्ञानिक शिक्षा नीति अङ्गीकार गरेर कुन क्षेत्रमा कति जनशक्तिको आवश्यकता हो भन्ने कुराको हिसाबकिताबको केही लेखाजोखा भएन । यसको फलस्वरूप विश्वविद्यालयबाट उत्पादित जनशक्ति जापान, अमेरिका, क्यानडा जस्ता देशहरूमा जान थाले जसलाई बौद्धिक पलायन भन्ने गरिन्छ ।

उच्च शैक्षिक स्तर हुनेहरू रोजगारी तथा थप अध्ययनको लागि विकसित देशहरूमा गइरहेका छन् भने निम्न शैक्षिक स्तर हुनेहरू खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्नको लागि म्यानपावरमा लर्को लागिरहेका छन्

उच्च शिक्षा प्राप्त गर्दा पनि नेपालमा सीमित व्यक्तिको लागि मात्र अवसर प्राप्त हुने भएपछि विदेशी विश्वविद्यालयको नै डिग्री किन नलिने भन्ने मानसिकताको विकास भएको पाइन्छ । +२ पास गरेपछि विद्यार्थी भिसामा विदेशिने विद्यार्थीको लर्को लाग्यो फलस्वरूप विद्यालय तह (+२) उत्तीर्ण गरेका १० प्रतिशत विद्यार्थी मात्र स्नातकोत्तर अध्ययन गर्नको लागि नेपालका विश्वविद्यालयहरूमा जाने गरेको तथ्याङ्क सार्वजनिक भैरहेका छन् । फलस्वरूप उच्च शैक्षिक स्तर हुनेहरू रोजगारी तथा थप अध्ययनको लागि विकसित देशहरूमा गइरहेका छन् भने निम्न शैक्षिक स्तर हुनेहरू खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्नको लागि म्यानपावरमा लर्को लागिरहेका छन् ।

पछिल्लो समय दक्षिणकोरिया जानेहरू शैक्षिक योग्यतालाई मापदण्ड नबनाएकोले भाषा परीक्षा उत्तीर्ण हुनेहरू छन् जसको छुट्टै मूल्याङ्कन हुन जरूरी छ । यसरी हेर्दा विकसित भनिएका देशहरूमा दक्ष श्रमिक जानेभन्दा विद्यार्थी भिसामा अध्ययनको लागि गई अध्ययन सकेर दक्ष श्रमिकको रूपमा काम गरिरहेको पाइन्छ ।

अवसर र चुनौती

विश्वव्यापीकरण सँगै सिङ्गो विश्व नै एउटा गाउँ भएको छ । सञ्चार एवम् प्रविधिको क्षेत्रमा आएको छलाङ सँगसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका सामु पनि अवसर र चुनौती एकसाथ रहेका छन् ।

क) अवसर

विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्यहरू बुझ्ने सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरूले प्रदान गर्ने सेवासुविधा, सार्वजनिक प्रशासनको चुस्तदुरुस्त सेवा प्रवाह, सुशासन अझ भनौं समयको महत्व र अनुशासन महत्वपूर्ण पक्ष हुन् । सही व्यक्ति सही समयमा सही ठाउँमा भएन भने देशको भविष्य अन्धकार हुन्छ त्यसरी नै अनुशासन मानव जगतको गहना हो, भाग्यमाथिको अन्धविश्वास अनुशासन होइन ।

अर्को महत्वपूर्ण अवसर भनेको वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप नेपालको हावापानी अनुसार केही परिमार्जन सहित प्रयोगको अवसर पनि हो । अहिले केही युवाहरूले रगत र पसिना नेपालमा नै बगाउनुपर्छ, सुन फल्छ भन्दै विभिन्न उद्यमशीलतामा लागेर सबैलाई हौसला प्रदान गरेका छन् । यो सँगसँगै अर्को महत्वपूर्ण कुरा राज्यको नियम भन्दा माथि कोही पनि छैन, कानूनको पालना सबैले गर्नुपर्छ जनता होस् कि नेता, शासित होस् कि शासक, विधिको शासन हुन्छ छाडातन्त्र हुँदैन । संसद, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति पनि कारबाहीको भागीदार हुन्छन् भन्ने प्रष्टसँग बुझ्ने अवसर प्राप्त भएको छ ।

विकसित देशहरूमा पनि पार्टीगत राजनीति हुन्छ तर त्यहाँका नागरिकहरूको उपस्थिति अत्यन्त न्यून हुन्छ किनभने श्रम नगरी कसैलाई पनि खान पुग्दैन भन्ने गतिलो पाठ सिकाएको छ । नेपालमा जस्तो पार्टीको झण्डा बोकेर आज यो प्रशिक्षण छ, भोलि यो प्रशिक्षण छ भनेर पढेलेखेका युवाहरू भौतारिंदैनन् । आफ्नो अध्ययन अनुसारको पेशा व्यवसायमा व्यस्त हुन्छन् ।

कुनै पनि पार्टीको संगठित सदस्य हुन मन पराउँदैनन् किनभने समय र श्रमको दुरुपयोग भई देश विकासमा असर पर्दछ भन्ने चेतनाको विकास भएको छ । कुनै पनि क्षेत्रको सडक, खानेपानी, विद्युत् जस्ता विकासका पूर्वाधार सहित पार्क, बगैंचा, स्कूल लगायत सार्वजनिक स्थानहरूको सरसफाइ तथा व्यवस्थापनको पद्धति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ । विकसित देशका नागरिकहरू वृद्ध अवस्थामा पनि सडक तथा पार्कको सरसफाइ, विभिन्न स्थलको रेखदेख जस्ता आफूले सकेका काम गरेर राष्ट्र निर्माणमा टेवा पुर्‍याएका हुन्छन् । देश निर्माणको लागि आधारभूत कुराहरू नजिकबाट सिक्ने, बुझ्ने अवसर प्राप्त हुन्छ ।

ख) चुनौती

विकसित देशहरू कसरी त्यहाँ पुगे भनेर बुझ्ने तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ अग्रसर नहुनु दुर्भाग्य नै भएको छ । श्रम बगाउन विदेशमा रहे पनि नेपालकै पार्टीहरूको भ्रातृ संगठन निर्माण गरी राजनीति गर्नु नेपालीले महान् कार्य ठान्ने गरेका छन्, जसलाई सुधार गरेर आफू रहेको देशको राम्रो कुराहरूको अनुसरण गर्न कतिपय नेपाली मानसिक रूपमा तयार भइसकेका छैनन् । आजका विकसित मानिएका राष्ट्रहरू त्यसै विकसित भएका होइनन्, त्यहाँका कम्तीमा एक-दुई पुस्ताले अधिक श्रम गरेर सम्भव भएको हो ।

त्यो सोचको विकास गरेर हामीले विकासको नेतृत्व गर्न सक्छौं कि सक्दैनौं चुनौतीको विषय रहेको छ । समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न सक्छांै कि सक्दैनौं, बोली र व्यवहारमा एकरूपता ल्याउन सक्छौं कि सक्दैनौं, आफूले प्राप्त गरेका अधिकारलाई जिम्मेवारपूर्वक कर्तव्यमा ढाल्न सक्छौं कि सक्दैनौं, विदेशी भूमिमा भएर पनि नेपालमै जसरी हल्ला गर्ने, उद्दण्डता देखाउने, नियम-कानून मिचेकोमा गर्व गर्ने गछौर्ं कि सभ्य नागरिक भएर बाँच्न सिक्छौं ।

नेपाली चाडपर्व तथा संस्कृति मनाउने नाममा पार्क तथा रेस्टुरेन्टहरूमा नेपालीलाई प्रवेश निषेध गर्न बाध्य बनाउने परिस्थितिको सिर्जना किन गर्दैछौं ? नेपाली भाषा तेस्रो पुस्ताबाट समाप्त हुने खतरा बढ्दो छ, यसलाई संरक्षण गर्न हामीले के गरिरहेका छौं ? नेपाल राज्यले लगानी गरेर उच्च शिक्षा अध्ययन गरी विदेशिएकाहरू विकसित देशमा सामान्य जीवनयापनमा सहजता भएका कारण स्वदेशमा नर्फकने सोचमा वृद्धि भएको छ । यसको प्रत्यक्ष असरलाई राष्ट्र निर्माणको चुनौतीको रूपमा लिन सकिन्छ ।

विदेशिएकाको पीडा

आफ्नो राष्ट्रमा नै पसिना बगाउने अवसर प्राप्त भयो भने खाडीमा रहेको बालुवाको खानीलाई त हराभरा बनाउन सक्ने नेपालीले नेपाललाई साँच्चिकै स्वर्ग बनाउन सक्छन् भन्ने प्रत्याभूतिको विकास गर्न सकिन्छ

विदेशिएकाको पीडा सबै देशको एउटै नहोला तर उस्तै उस्तै भने हुन सक्छ । भारत लगायत खाडी मुलुकमा रगत पसिना बगाइरहेका नेपालीको पीडा र अमेरिका, जापान, क्यानडा तथा यूरोपका देशहरूमा रहेका नेपालीको भोगाइ फरक फरक हुन सक्छ त्यसलाई महसूस गर्ने र सोच्ने व्यक्तिमा पनि फरक पर्न सक्छ ।

एकातर्फ आफ्नो देशमा रोजगार नपाएर विदेशिनुको पीडा आफ्नो घरपरिवार, गाउँ, समाज सबैलाई चटक्क माया मारेर आँशु बगाएर बस्नु परेको छ । हामीलाई जन्माउने, हुर्काउने, पढाउने हाम्रा वृद्ध आमाबुबालाई हाम्रो आवश्यकता पर्दा साथ दिन सकिरहेका छैनौं । त्यसको विपरीत कति नेपाली दाजुभाइ तथा दिदीबहिनी विदेशमा नै अलपत्र परेको तथा मृत्युवरण गर्नु परेको कारण उहाँहरूको परिवारको विचल्ली भई सहनै नसक्ने पीडा महसूस गर्नुपरेको छ भने अर्कोतर्फ विदेशी नागरिकहरूले गर्ने अपमानपूर्ण भेदभावको पीडा सहनै नसकिने गरी टाउकामा बजारिएका छन् ।

हाम्रो देशको स्वतन्त्रता सार्वभौमसत्ता तथा अस्मितामाथि विदेशीहरूले धावा बोल्दा साह्रै पीडा महसूस हुन्छ । यसको श्रेय जनताको जीवनस्तर उकास्न राजनीति गर्छु भन्ने राजनीतिक दल, सर्वश्रेष्ठ ठान्ने हामी नागरिकलाई नै जान्छ । नेपालको बारेमा जानकारी राख्ने विदेशीसँग हामी शिर ठाडो पारेर कुराकानी गर्न नसक्ने भएका छौं । कारण ग्रामीण क्षेत्रको नभई हाम्रो राजधानीको अस्तव्यस्तता, न खानेपानीको व्यवस्था छ, न सार्वजनिक शौचालयको व्यवस्थापन, न त फोहोरको व्यवस्थापन नै छ ।

अनि हामी कसरी ठाडो शिर लगाएर आँखामा आँखा जुधाएर व्यवहार गर्न सक्छौं ? कहिलेसम्म हामी बहादुर गोर्खाली भनेर अपमानित हुने ? हामीसँग नेपाललाई चिनाउनको लागि दुई वटा कुरा मात्र बाँकी छन्, पहिलो शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएका हुन् र अर्को विश्वको अग्लो हिमाल सगरमाथा नेपालमा पर्छ । के हामीले सधैं यिनै कुराको मात्र भजन गाएर पुग्छ त ? हामीले सोच्नुपर्ने बेला भएन र ?

प्रवासीहरू सामाजिक सञ्जालहरूमा चिल्ला कारमा चढेको, समुद्री किनारमा टहलिएको जस्ता विषयहरू मात्र कहिलेसम्म पोष्ट्याउने ? खोइ हामीले भोगेका दुःख एवम् कष्टहरू नेपालमा रहेका हाम्रा घरपरिवार, इष्टमित्र, साथीसङ्गी सबैले महसूस हुने गरी चित्रण गर्न सकेको ताकि विदेशीले शोषण, दमन गरेका हाम्रो स्वतन्त्रता, आत्मसम्मान जस्ता विषयमा चोट पुर्‍याएका खबर सम्प्रेषण गर्दा सबैले महसूस गर्ने अवसर प्राप्त हुन्छ । विकासका सूचकहरूमध्ये उच्च आम्दानी एउटा मात्र सूचक हो भने यसले घरपरिवार, समाज, इष्टमित्र एवम् आफ्नो देश छोडी प्राप्त गरेको आम्दानीलाई के सुख र खुशीको सूचक मान्न सकिएला ?

अर्को डरलाग्दो पाटो के छ भने ऋण-धन गरेर विदेश जाने, जेनतेन ऋण पनि तिर्ने त्यसपछि परिवार, आफन्त, इष्टमित्र तथा साथीसङ्गीले चित्त दुखाउलान् भनेर घडी, मोबाइल, ल्यापटप जस्ता उपहारको लागि दुई/तीन वर्ष कमाएको पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्छन् । यसले गर्दा पहिला जस्तो विदेशिएको फर्किंदा पनि उस्तै आर्थिक अवस्थामा फर्किने अवस्था सिर्जना भएको छ । केही बढी आम्दानी हुनेहरूको उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण विप्रेषणको ७० देखि ८० प्रतिशत घरघडेरी तथा विलासिताका सामानहरू जोड्ने कुरामा प्रयोग भएको छ ।

गर्नुपर्ने के त ?

राज्यले उत्पादनलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापनमा सहयोग गर्नै पर्ने देखिन्छ । पूँजी नभएर देश विकसित नभएको होइन जसको उदाहरण अहिलेको शेयर बजार हेरे पुग्छ । त्यसैले आम जनतामा भएको पूँजीको उचित व्यवस्थापन गरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै देशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्दछ । विप्रषणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्दै लैजानुपर्दछ जसले गर्दा विदेशी हस्तक्षेपमा न्यूनीकरण भई परनिर्भरताको अन्त्य हुँदै आत्मसम्मानको प्रत्याभूति हुने गर्दछ । आफ्नो राष्ट्रमा नै पसिना बगाउने अवसर प्राप्त भयो भने खाडीमा रहेको बालुवाको खानीलाई त हराभरा बनाउन सक्ने नेपालीले नेपाललाई साँच्चिकै स्वर्ग बनाउन सक्छन् भन्ने प्रत्याभूतिको विकास गर्न सकिन्छ ।

अन्त्यमा, २० देखि ४० वर्ष उमेरका ३० लाखभन्दा बढी नेपाली विदेशमा छन् जसमा थोरै नेपाली मात्र उच्च पदमा छन् । विप्रेषण विभिन्न रूपमा विदेशमा नै फर्किएको अवस्था छ । यस परिवेशमा राज्यसँग विदेशिएका नागरिकको अपेक्षा भनेको राजनीतिक स्थिरता र सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति न्यूनतम आवश्यकताको पूर्तिको ग्यारेण्टी, भ्रष्टाचारको अन्त्य र सुनिश्चितता जस्ता महत्वपूर्ण कुराहरू रहेका छन् । यति गर्न सकियो भनेे थोरै समयमा पनि विकासको फड्को मार्न सकिन्छ ।

हाल : जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?