+
+

मरमसला : प्रयोग गर्न जाने ओखति, नजाने विष

थमनकुमार भण्डारी थमनकुमार भण्डारी
२०७८ असोज १९ गते १४:२१

हाम्रो खानपान परम्परा निकै समृद्ध छ । हाम्रा पूर्खाहरुले जुन शैलीमा खाना पकाउने गरे त्यो स्वाद र स्वास्थ्यका लागि एकदम उन्नत छ । सामान्यत हामीकहाँ सिलौटोमा मसला पिसेर खाने चलन छ । मसलामा अदुवा, लसुन, जिरा, धनिया आदि मिसाइन्छ । यी सबैको मिश्रणबाट निस्कने स्वाद र त्यसलाई प्रयोग गर्ने विधीले हाम्रो परम्परागत भोजन स्वादिलो भएको हो ।

खानेकुराको स्वाद बढाउन, सुगन्धित बनाउन, हेर्दा आकर्षक देखाउन मसला अनिवार्य छ । तर, कुन मसला, केका लागि, कति मात्रामा, कसरी र कुन बेला प्रयोग गर्ने भन्ने कुरा चाहि जान्नुपर्छ ।

मसला प्रयोग गर्ने आ–आफ्नै विधी छ । राम्ररी पिसेको मसलालाई कसैले तेलमा राम्ररी पकाएपछि त्यसमा सागसब्जी वा मासु राखेर पकाउने गर्छन् । यसैगरी कतिपयले सागसब्जी वा मासु केही बेर पाकेपछि मात्र मसला हाल्ने गर्छन् । यी दुबै बिधीबाट तरकारीमा भिन्न भिन्नै स्वाद निकाल्न सकिन्छ । यद्यपि धेरै समय तेलमा तारेको भन्दा पछि राखेर राम्ररी पकाएको मसला स्वस्थ्यकर हुन्छ ।

हाम्रै घर आँगनमा मनग्ये मसला

हामीले मर मसलाको लागि अन्यत्र निर्भर हुनु पर्दैन । घर आँगनमै पुग्दो मर मसला उपलब्ध छन् । हलेदो, अदुवा, दालचिनी, जिरा, लसुन, हरियो खुर्सानी, धनिया, संभव भए ल्वाङ, सुकुमेल नै सम्पूर्ण मसला हुन् । यी मरमसलाई घरमै तयार गर्न सकिन्छ ।

धेरै खायो भने चिनी पनि तीतो

धेरै खायो भने चिनी पनि तीतो हुन्छ । औषधि पनि विष हुन्छ । यो कुरा सबैमा लागु हुन्छ । मसलाले सागसब्जीको स्वाद आवश्य बढाउँछ । तर, त्यसको मात्रा कति हो भन्ने कुरा निर्धारण गर्न जरुरी हुन्छ । यदि मसलालाई सही मात्रामा प्रयोग गर्न सकिएन भने यो बेस्वादको हुने मात्र होइन, अस्वस्थ्यकर पनि हुन्छ । तर, सही मात्रामा, सही ढंगले प्रयोग गरियो भने यसले स्वाद मात्र बढाउँदैन ओखतिको काम पनि गर्छ ।

बजारको मसलामा मिसावटको भय

मसलाको सही प्रयोग भयो भने यसले स्वाद र स्वास्थ्य दुबैलाई फाइदा गर्छ । हुन त बजारमा अनेकथरी मसला उपलब्ध छन् । तयारी वा प्याकेटबन्द मसलाहरु कति स्वस्थ्यकर भन्ने कुरामा यसै भन्न सकिदैन । किनभने हामीकहाँ खानेकुराको गुणस्तर मापन गर्ने संयन्त्र एकदमै कमजोर छ । जस्तोपायो त्यस्तै खाद्य  सामाग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । मसला मात्र यसको अपवाद हुने कुरा भएन ।  त्यसैले बजारको मसलाको गुणस्तरमाथि पनि शंका गर्नुपर्ने हुन्छ । रंग र पिठो मिसाएर बजारमा धेरैथरीका मसला पठाउने गरेको पनि पाइएको छ ।

त्यसैले बजारमा उपलब्ध प्याकेटबन्द वा तयारी मसला सकेसम्म प्रयोग नगरेकै उचित हो ।

मसलाले कसरी स्वाद बढाउँछ ?

मसलालाई भरसक मज्जाले पकाएर बनाउँदा खानामा स्वाद र बास्ना दुबै आउँछ ।

मसला धेरै प्रयोग गर्दा स्वाद बढी आउने होइन । त्यसो हो भने त सकेसम्म धेरै मसला प्रयोग गरे भइहाल्थ्यो नि । मसला ठिक्क मात्रामा राख्ने र राम्ररी पकाउने हो ।

रैथाने मसला नै सर्वोत्तम

हाम्रो गाउँघरमा पर्याप्त मरमसला पाइन्छन् । ति अग्र्यानिक हुन्छन् । रैथाने मरमसलाहरु बढी स्वादिलो हुन्छ । प्रकृतिले हामीलाई आफ्नो भूगोल, हावापानी अनुसार उचित खानेकुरा पनि दिएका छन् । हामी जहाँ बस्छौं, त्यहाँ उत्पादित खानेकुरा हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले स्थानिय एवं रैथाने खानेकुरा हाम्रो शरीरका लागि बढी उपयोगी र जिब्रोको लागि बढी स्वादिष्ट हुन्छ ।

माछामासुमा मसला

माछामासु पकाउँदा हामी अलि बढी तेल, मसला प्रयोग गर्छौं । हुन त मसला र तेल नराखी पनि पकाउन सकिन्छ तर, भनेजस्तो स्वाद निकाल्न कठिन छ । त्यसैले तेल र मसला प्रयोग गर्नुपर्छ, तर सही मात्रामा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?